काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि उनको गृहनगर मशहदमा सम्पन्न भएको छ । उनलाई इमाम रेजा दरगाह परिसरमा दफन गरिएको हो । यससँगै छ दिनसम्म चलेको राजकीय शोक तथा अन्त्येष्टि कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको छ । इरान र इराकका विभिन्न सहरबाट लाखौँ मानिस अन्तिम श्रद्धाञ्जलिमा सहभागी भएका थिए ।
अन्त्येष्टिअघि खामेनीको पार्थिव शरीर तेहरान, कोमलगायत प्रमुख सहरमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । अन्तिम दिन उनको शव मशहद पुर्याइएपछि ठूलो संख्यामा समर्थक भेला भएका थिए । अन्तिम यात्राका क्रममा अमेरिका र इजरायलविरुद्ध नाराबाजी गरिएको थियो । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार १०१ वर्षीय धर्मगुरु अयातोल्लाह हुसेन नुरी हमदानीले जनाजाको नमाज पढाएका थिए ।
खामेनीका छोरा तथा सम्भावित उत्तराधिकारी अयातोल्लाह मोज्तबा खामेनी भने अन्त्येष्टिमा सार्वजनिक रूपमा देखिएनन् । इरानी सञ्चारमाध्यमका अनुसार सुरक्षा र स्वास्थ्यका कारण उनले सार्वजनिक कार्यक्रममा सहभागिता जनाएनन् । उनले भने लिखित सन्देशमार्फत शोक व्यक्त गर्ने र श्रद्धाञ्जलि दिने सबैप्रति आभार प्रकट गरेका छन् ।
यसैबीच अमेरिका र इरानबीचको सैन्य तनाव फेरि तीव्र बनेको छ । अमेरिकाले बिहीबार बिहान इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ हवाई आक्रमण गरेको छ । इरानले बुशेहर परमाणु ऊर्जा केन्द्र नजिक आक्रमण भएको आरोप लगाए पनि केन्द्रमा कुनै क्षति नभएको जनाएको छ । अमेरिकी केन्द्रीय कमान्डका अनुसार पछिल्ला दुई दिनमा इरानका १७० भन्दा बढी सैन्य लक्ष्यमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरिएको छ । आक्रमणमा १४ जनाको मृत्यु भएको बताइएको छ ।
अमेरिकी सेनाले वायु प्रतिरक्षा प्रणाली, ड्रोन तथा क्षेप्यास्त्र भण्डार, सैन्य डुङ्गा र होर्मुज जलडमरूमध्य आसपासका सैन्य संरचनालाई निशाना बनाएको जनाएको छ । सार्वजनिक गरिएको दृश्यमा विमानस्थलको धावनमार्ग र क्षेप्यास्त्र प्रक्षेपणस्थलमा आक्रमण गरिएको देखाइएको छ ।
अमेरिकी आक्रमणको जवाफमा इरानले कतार, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामाथि ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ । इरानले कुवेतको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली, कतारको प्रारम्भिक चेतावनी प्रणाली र बहराइनमा रहेको अमेरिकी सेनाको इन्धन भण्डारण केन्द्रलाई निशाना बनाएको दाबी गरेको छ । साथै जोर्डनको अजराक सैन्य अड्डातर्फ पनि क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ, जहाँ अमेरिकी सैनिक र लडाकु विमान तैनाथ छन्।