काठमाडौं । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ सञ्चालनमा ल्याएको छ ।
महिला स्वामित्व वा नेतृत्वमा रहेका व्यवसायहरूलाई लक्षित गरी ल्याइएको यस योजनाले महिला उद्यमशीलता प्रवर्धनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
यस योजनाअन्तर्गत महिला उद्यमीहरूले विभिन्न वर्गमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । जसमा महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिनाधितो ऋण प्राप्त गर्न सक्नेछन् । आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ । पूर्ण धितो राखेर ५० लाख रुपैयाँसम्म कर्जा सुविधा लिन सकिने बैंकले जनाएको छ ।
कर्जा प्रवाहलाई वैज्ञानिक र सहज बनाउन सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरेको छ ।
यो प्रणालीले परम्परागत बैंकिङ अभ्यास जस्तै धितोलाई मात्र मुख्य आधार नमानी व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह र उद्यमीको क्षमताजस्ता पक्षहरूको समग्र विश्लेषण गर्ने बताइएको छ ।
यस व्यवस्थाले धितोको अभावमा वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै व्यवसायको सम्भाव्यतालाई प्राथमिकता दिने बैंकको भनाइ छ । यस कर्जायोजनाका बारेमा थप जानकारी लिन चाहने ग्राहकले बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन् ।