काठमाडौं । एआईमा आधारित विश्वव्यापी क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भील’ले नेपाल र भारतमा आफ्नो सेवा औपचारिक रूपमा विस्तार गरेको छ।
नेपाली–अमेरिकी उद्यमी दिलीप ढकालद्वारा स्थापित यो प्लेटफर्मले व्यवसाय र कन्टेन्ट क्रिएटरहरूलाई एउटै डिजिटल कार्यथलोमा जोड्ने उद्देश्य राखेको छ।
यस प्लेटफर्ममार्फत ब्रान्डहरूले उपयुक्त क्रिएटर खोज्न, विज्ञापन अभियान (क्याम्पेन) सञ्चालन गर्न, भिडियो सम्पादन गर्न, स्वीकृति दिन र भुक्तानी व्यवस्थापन गर्न सक्नेछन्। इमेल, मेसेजिङ एप र छुट्टाछुट्टै भुक्तानी प्रणालीमा निर्भर रहनुपर्ने झन्झटलाई यसले हटाएको छ।

नेपालका क्रिएटर र व्यवसायहरूका लागि भीलले स्थानीय भुक्तानी प्रणालीलाई सहज बनाउन एनसीएचएल, फोनपे, ईसेवा, खल्ती र हाम्रोपेसँग साझेदारी गरेको छ।
यसले नेपाली क्रिएटरहरूलाई स्वदेशी तथा विदेशी ब्रान्डसँग प्रत्यक्ष काम गर्ने र सहजै भुक्तानी प्राप्त गर्ने अवसर दिनेछ।
शुभारम्भ कार्यक्रममा नेपालका लागि अमेरिकी नियोगका कार्यवाहक प्रमुख स्कट उर्बोमले यसलाई अमेरिकी उद्यमशीलता र नेपाली प्रतिभालाई जोड्ने उत्कृष्ट उदाहरणका रूपमा चित्रण गरे।
भीलका सीईओ दिलीप ढकालले यो विस्तार दक्षिण एसियाको क्रिएटर अर्थतन्त्रलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने दिशामा एउटा महत्त्वपूर्ण खुड्किलो भएको बताए।
हाल भीलसँग विश्वका १२१ भन्दा बढी देशका ४५० भन्दा बढी ब्रान्ड र ५ लाख ५० हजारभन्दा बढी प्रमाणित क्रिएटरहरू जोडिएका छन्।