काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवम् सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग त्यहाँको विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा तथा अपेक्षाबारे विस्तृत छलफल गरेका छन् ।
ककनीका जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्दै उनले जनताका समस्याको जानकारी लिएर सम्बन्धित निकायसँग समन्वयमार्फत समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सूचना तथा सञ्चार मन्त्रालयमा आज भएको छलफलमा ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ, वडा नं. १ वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा नं. २ का वडाध्यक्ष कृष्ण घिमिरे, वडा नं. ३ का वडाध्यक्ष घननाथ बजगाई, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराई राई सहभागी थिए। छलफलमा सञ्चारमन्त्रीको सचिवालयका प्रमुख स्वकीय सचिव शिव थापा, स्वकीय सचिव जीवन खरेल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मधुसूदन ढकाल, रोजिन लामा, शिशिर फुयाँललगायतको पनि उपस्थिति थियो ।
भेटका क्रममा ककनी गाउँपालिकाको समग्र विकास निर्माण, सडक पूर्वाधार, विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, दूरसञ्चार सेवा, कृषि, गुठी जग्गाको व्यवस्थापन तथा स्थानीय नागरिकले भोगिरहेका अन्य समस्याका विषयमा विस्तृत छलफल भएको थियो ।
स्थानीय जनप्रतिनिधिहरूले वर्षायाममा बाढी–पहिरोको जोखिम बढ्दै गएको, विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने तथा जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका छन् । त्यस्तै सिसडोल र बञ्चरेडाँडासँग जोडिएको फोहोर व्यवस्थापनको समस्या स्थानीय बासिन्दाको स्वास्थ्य र वातावरणसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले त्यसको दीर्घकालीन समाधानका लागि संघीय सरकारबाट सहयोग आवश्यक रहेको उहाँहरुको भनाई थियो ।
छलफलमा फोहोर व्यवस्थापनका क्रममा काठमाडौँ महानगरपालिकासँग अपेक्षित समन्वय हुन नसकेको विषय पनि उठाइएको थियो । प्रभावित क्षेत्रमा फोहोरका कारण स्थानीयवासीको जनस्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै जनप्रतिनिधिहरूले सरकारबाट आवश्यक सहयोग र प्रभावकारी समन्वयको अपेक्षा व्यक्त गरे । यो समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच थप समन्वय आवश्यक रहेको धारणा उनीहरुले व्यक्त गरे ।
स्थानीय जनप्रतिनिधिहरूले सडक पूर्वाधारलाई ककनीको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै विभिन्न स्थानमा सडक विस्तार तथा सडक कालोपत्रे गर्ने कामलाई प्राथमिकतामा राख्न आग्रह गरे । निर्वाचनका क्रममा स्थानीयवासीले उठाएका गुनासा स्मरण गराउँदै उनीहरूले वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण नागरिकले दैनिक सास्ती भोग्नुपरेको विषयसमेत उठाए । सडक विस्तारका क्रममा गुठीको जग्गा पर्ने ठाउँहरुको पहिचान तथा त्यसको अभिलेख अद्यावधिक तथा व्यवस्थापनका लागि संघीय सरकारको सहयोग आवश्यक रहेको विषय पनि छलफलमा उठाइएको थियो ।
नुवाकोटको कुलेदेखि गौरीखर्कसम्मको सडक निर्माण सम्पन्न भए त्यस क्षेत्रका नागरिकलाई उल्लेखनीय राहत पुग्ने भएकाले यसलाई प्राथमिकतामा राख्न पनि उनीहरुले आग्रह गरे । त्यस्तै तिनपिप्ले–चाउथे–गल्छी सडक योजनालाई पनि प्राथमिकतामा राख्न आग्रह गरिएको थियो ।
छलफलका क्रममा ककनीको चाउथेलगायत केही क्षेत्रमा नेपाल टेलिकमका टावर प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सञ्चार सेवामा समस्या भइरहेको विषय पनि उठाइएको थियो । त्यसैगरी, किसानले समयमै रासायनिक मल नपाएको तथा मल वितरणमा अनियमितता र चुहावट हुनसक्ने आशंका रहेको भन्दै सम्बन्धित निकायबाट छानबिन र प्रभावकारी व्यवस्थापनको माग गरिएको थियो ।
जनप्रतिनिधिहरूले उठाएका विषयलाई आफुले गम्भीर रुपमा लिएको बताउँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले आफू सूचना तथा सञ्चार मन्त्रालयको नेतृत्वमा रहे पनि नुवाकोट क्षेत्र नम्बर १ का जनप्रतिनिधिका रूपमा नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए । उनले मल वितरणमा समस्या रहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै सम्बन्धित निकायसँग यसबारे जानकारी मागिने र आवश्यक समन्वय गरिने जानकारी दिए ।
उनले वर्तमान सरकारले शासकीय सुधार, नागरिक सेवा प्रवाह र आन्तरिक प्रशासनिक सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै नागरिकका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए ।
“संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले आ–आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बुझेर प्रभावकारी ढंगले काम गर्न सके नागरिकका गुनासा छिटो सम्बोधन गर्न सकिन्छ,” उनले भने, “तीनवटै तहबीच समन्वय गरेर काम गर्न सकियो भने दोहोरोपन हट्छ, स्रोत–साधनको प्रभावकारी उपयोग हुन्छ र आवश्यकताका आधारमा योजना अघि बढाउन पनि सहज हुन्छ ।”
सञ्चारमन्त्री तिमिल्सिनाले नुवाकोटका लागि आवश्यक बजेट व्यवस्थापनमा आफूले पर्याप्त पहल गरेको स्पष्ट पार्दै रणनीतिक महत्वका सडक आयोजनाको कामलाई तीव्रता दिन सडक विभागका सम्बन्धित अधिकारीसँग छलफल गरिसकेको जानकारी दिए । नुवाकोटका सडक आयोजना छिटो सम्पन्न गर्ने विषयमा सडक विभागसँग समन्वय भइरहेको र पूर्वाधार विकास मन्त्रालयसँग पनि निरन्तर समन्वय भईरहेको उनले बताए ।
तिमिल्सिनाले स्थानीय तहसँगको यो छलफललाई समस्या समाधानको प्रारम्भिक चरणका रूपमा उल्लेख गर्दै संवादलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । “यो संवादको थालनी हो, अन्त्य होइन । हामी सरोकारवाला निकायसँग नियमित छलफल गरेर स्थानीय तहका समस्या समाधानका लागि निरन्तर पहल गर्छौ,” उनले भने ।