काठमाडौं । पूर्वअर्थ सहायकमन्त्री एवं व्यवसायिक घराना ज्योति समूहका अध्यक्ष रुप ज्योतिका नाममा रहेका दुईवटा ठूला कम्पनीहरू लिलामीमा चढेको छ ।
कम्पनीले धितोमा राखेर बैंकबाट ऋण लिएको, तर लामो समयसम्म पनि नतिरेपछि सम्पत्ति लिलाम बिक्रीमा चढाएको हो ।
प्रभु बैंकले शुक्रबार एक सूचना जारी गर्दै ज्योति समूहका दुईवटा कम्पनी नर्थ फेस होटल र नेपाल जनरल र्मोटिङको नाममा रहेको चल/अचल सम्पत्ति लिलामीमा चढाएको हो ।
बैंकले यसअघि कर्जा भुक्तानीका लागि पटक–पटक मौखिक तथा लिखित ताकेता गरेको, कम्पनीको नाममा पहिलोपटक ३५ दिने र पछि १५ दिने सार्वजनिक सूचनासमेत जारी गरेको थियो । तर, ऋणी र जमानतकर्ताहरूले कर्जा राफसाफ गर्न चासो नदेखाएपछि अन्तिमपटक सातदिने सूचना निकालिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार पहिलो कम्पनी नर्थ फेस होटलको नाममा काठमाडौंको बुढानीलकण्ठ नगरपालिकास्थित विभिन्न कित्तामा रहेका जग्गाहरूको लिलामको सूचना गरिएको छ ।
यसैगरी, सोही समूहभित्र रहेको दोस्रो कम्पनी नेपाल जनरल मार्केटिङ प्रालिको नाममा रहेको लिलामीमा चढाइएको पनि बैंकले जनाएको छ । यस कम्पनीको जमानतकर्ताहरूमा रुप ज्योति र उनका छोरा अभिक ज्योति र छोरी सुरुची ज्योति रहेका छन् ।
यस कम्पनीको नाममा ललितपुरको वडा ६ मा रहेको घरजग्गा, पर्सा जिल्लाको चोर्नीमा रहेको ठूलो क्षेत्रफलको जग्गा, काठमाडौंको डिल्ली बजारमा रहेका विभिन्न कित्ताका जग्गा तथा भवनहरू र कलंकीमा रहेको घरजग्गाहरू धितोमा रहेको र सोही सम्पत्ति बैंकले लिलाम बिक्रीको सूचना गरेको छ ।
इच्छुक बोलपत्रदाताहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको प्रधान कार्यालयमा शिलबन्दी बोलपत्र बुझाउनसमेत बैंकले आह्वान गरेको छ ।