काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गर्दै एक वर्षमा ३३ हजारभन्दा बढी उजुरी प्राप्त भएको र १७५ वटा भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यक्रममा आयुक्त, सचिव, महाशाखा प्रमुख, मातहत कार्यालयका प्रमुख तथा अनुसन्धान अधिकृतहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आयोगको वार्षिक कार्यसम्पादन, उजुरी व्यवस्थापन, अनुसन्धान, अभियोजन तथा आगामी कार्यदिशाबारे समीक्षा गरिएको थियो ।
आयोगका प्रारम्भिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा विभिन्न माध्यमबाट ३३ हजार ३२८ उजुरी प्राप्त भएका छन्। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ७ हजार ३२३ उजुरीसमेत जोड्दा आयोगमा कुल ४० हजार ६५१ उजुरी रहेका थिए। तीमध्ये ४८ दशमलव ९६ प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेका छन्। त्यस्तै ३८ प्रतिशत उजुरी सङ्घीय निकायसँग र १३ दशमलव ४ प्रतिशत उजुरी प्रदेश सरकारसँग सम्बन्धित छन् । उजुरी प्राप्त हुने माध्यममध्ये आयोगको वेबसाइटबाट ३० दशमलव ९१ प्रतिशत, इमेलमार्फत २७ दशमलव २ प्रतिशत, लिखित निवेदनबाट २१ दशमलव ७४ प्रतिशत तथा हुलाकमार्फत १२ दशमलव ८७ प्रतिशत उजुरी प्राप्त भएका छन्। बाँकी उजुरी टेलिफोन, सामाजिक सञ्जाल, मोबाइल एप, समाचारपत्र, राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकारलगायत माध्यमबाट आएका छन् ।
आयोगले एक वर्षमा प्राप्त कुल उजुरीमध्ये ३२ हजार ७९९ अर्थात् ८० दशमलव ६८ प्रतिशत उजुरी फर्छ्योट गरेको जनाएको छ। बाँकी ७ हजार ८५२ उजुरी चालु आर्थिक वर्ष २०८३/८४ मा जिम्मेवारी सरेका छन्। आर्थिक वर्ष २०८२/८३ मा आयोगका ६२ वटा बैठक बसेका थिए। ती बैठकबाट १ हजार १३० वटा निर्णय भएका छन् । यस अवधिमा विशेष अदालतमा १७५ वटा आरोपपत्र दायर गरिएको छ, जसमा सम्पत्ति शुद्धीकरणसम्बन्धी चार मुद्दा पनि समावेश छन्। ती मुद्दामा ९९० जनालाई प्रतिवादी बनाउँदै २५ अर्ब ३१ करोड ३७ लाख ७३ हजार ५२४ रुपैयाँ ४० पैसा बिगो दाबी गरिएको छ। आयोगका अनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी हो ।
दायर भएका मुद्दामध्ये सार्वजनिक सम्पत्तिको हानिनोक्सानीसम्बन्धी ५६, घुस तथा रिसवतसम्बन्धी ४१, गैरकानुनी लाभ वा हानिसम्बन्धी २७, झुट्टा शैक्षिक प्रमाणपत्रसम्बन्धी १५, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ११, राजस्व चुहावट तथा हिनामिनासम्बन्धी ५, सम्पत्ति शुद्धीकरणसम्बन्धी ५ र अन्य विविध प्रकृतिका १५ मुद्दा रहेका छन् । यस अवधिमा आयोगले २७ वटा रंगेहात कारबाही पनि गरेको जनाएको छ। विशेष अदालतबाट आर्थिक वर्ष २०८२/८३ मा आयोगले दायर गरेका १५६ वटा मुद्दाको फैसला भएकोमा ८१ वटा अर्थात् ५१ दशमलव ९२ प्रतिशत मुद्दामा कसुर स्थापित भएको आयोगले जनाएको छ ।
यस्तै, विशेष अदालतका पूर्णपाठ प्राप्त भएका फैसलामध्ये १०४ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ भने ३ वटा मुद्दामा पुनरावलोकनको निवेदन दायर गरिएको छ । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि आयोगले आर्थिक वर्षभर ४ वटा जिल्लास्तरीय र १३४ वटा पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको जनाएको छ । समीक्षा कार्यक्रममा प्रमुख आयुक्त प्रेमकुमार राईले उजुरी फर्छ्योटमा उल्लेखनीय प्रगति भए पनि अनुसन्धानको गुणस्तर अझ सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले अनुसन्धान अधिकृतहरूलाई थप सक्रिय र उत्प्रेरित भएर काम गर्न निर्देशन दिँदै दक्ष जनशक्तिको व्यवस्थापन, आधुनिक प्रविधिको प्रयोग र अनुसन्धानलाई अझ प्रभावकारी बनाउनेतर्फ विशेष जोड दिए । आयुक्तहरू तथा आयोगका सचिवले पनि अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउँदै आयोगको पाँचौँ रणनीतिक योजनाका लक्ष्य पूरा गर्न आवश्यक नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
२- काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । शुक्रबार पाकिस्तानको इस्लामाबादमा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको हो । पाकिस्तानले नेपाललाई २५-१४, २५-१८ र २५-१० को सोझो सेटमा पराजित गरेको थियो । यो यस प्रतियोगितामा नेपालको लगातार तेस्रो हार हो । यसअघि श्रीलंकासँग ३-२ ले र काजकिस्तानसँग पनि ३-२ ले पराजित भएको थियो । नेपालको ३ खेलमा तालिकामा २ अंक जोडेको छ । अब नेपालले अर्को खेल आइतबार बंगलादेशसँग खेल्ने तालिका छ ।
३- बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पदबाट राजीनामा दिएका छन् । उनका एक सहयोगीलाई उद्धृत गर्दै सार्वजनिक भएको जानकारीअनुसार उनले आफ्नो कार्यकाल सकिन करिब दुई वर्ष बाँकी रहँदै पद त्याग गरेका हुन् । पछिल्ला केही दिनयता उनको राजीनामाबारे विभिन्न अड्कलबाजी भइरहेका बेला उनले औपचारिक रूपमा पद छाडेका हुन् । राजीनामाको कारणबारे सोधिएको प्रश्नमा ७६ वर्षीय शहाबुद्दीनले आफू स्वास्थ्य समस्यासँग जुधिरहेको बताएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ताका अनुसार शहाबुद्दीनका प्रतिनिधिले उनको राजीनामापत्र संसदतर्फ लगिसकेका छन् । उक्त राजीनामापत्र संसदका सभामुख हाफिजुद्दीन अहमदलाई बुझाइनेछ । बङ्गलादेशको संविधानअनुसार नयाँ राष्ट्रपति चयन नभएसम्म सभामुख हाफिजुद्दीन अहमदले कार्यवाहक राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।
बङ्गलादेशी सञ्चारमाध्यमका अनुसार मन्त्रिपरिषद्का सचिव नसीमुल गनीलाई नयाँ राष्ट्रपतिका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । यद्यपि यसबारे औपचारिक घोषणा भने भएको छैन । शहाबुद्दीन सन् २०२३ को अप्रिलमा पाँच वर्षे कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका थिए । सन् २०२४ को जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिग सरकार सत्ताबाट बाहिरिएको थियो । त्यसपछि सन् २०२४ अगस्ट ५ मा शेख हसिना भारत गएकी थिइन् र त्यसयता उनी भारतमै बस्दै आएकी छन् । त्यो राजनीतिक परिवर्तनपछि पनि संवैधानिक पदमा कायम रहने शीर्ष अधिकारीमध्ये शहाबुद्दीन मात्र थिए । मोहम्मद शहाबुद्दीनको जन्म बङ्गलादेशको पबना जिल्लामा भएको हो ।
सन् १९६० को दशकको अन्त्य र १९७० को दशकको सुरुवातमा उनी अवामी लिगको विद्यार्थी तथा युवा संगठनमा सक्रिय थिए । उनले सन् १९७१ को बङ्गलादेश मुक्ति संग्राममा पनि सहभागिता जनाएका थिए। सन् १९७५ मा बङ्गलादेशका संस्थापक नेता बङ्गबन्धु शेख मुजीबुर रहमानको सैनिक विद्रोहमा हत्या भएपछि त्यसको विरोध गरेका कारण उनी केही समय जेलसमेत परेका थिए । पछि सन् १९८२ मा उनी न्यायिक सेवामा प्रवेश गरेका थिए। सन् १९९६ मा अवामी लिग पुनः सत्तामा फर्किएपछि शेख मुजीबुर रहमान हत्याकाण्डको अनुसन्धान टोलीका संयोजकका रूपमा काम गरेका थिए । त्यसपछि सक्रिय राजनीतिमा प्रवेश गरेका शहाबुद्दीन अवामी लिगको सल्लाहकार परिषद्का सदस्य समेत बनेका थिए ।
४- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायमा आबद्ध नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ र नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिहरूलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएका थिए । झन्डै दुई घण्टा चलेको उक्त छलफलमा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष वलराम गुरुङले नेपाली गलैंचाको मुख्य बजार अमेरिका र युरोप भए पनि अमेरिकाको नयाँ निमयले निर्यातमा कठिनाइ भएको र व्यवसायीहरु मारमा परेको गुनासो गरे ।
उनका अनुसार अमेरिकाले यही जुलाई ८ देखि ‘कन्जुमर प्रोडक्ट सेफ्टी कमिसन’को प्रमाणीकरण अनिवार्य गरेकोमा नेपालमा त्यसको सुविधा नहुँदा निर्यात रोकिएको, नापतौल विभागको ल्याब पनि जेन जी आन्दोलनमा डढेको छ । त्यसैले उहाँले अर्को व्यवस्था नभएसम्म एक वर्षको लागि उक्त परीक्षण छुट (ग्रेस पिरेड) पाउन परराष्ट्र मन्त्रालयमार्फत अमेरिकाको भन्सार विभागलाई कूटनीतिक नोट पठाइदिन माग गरेका थिए । प्रधानमन्त्री शाहले तत्कालै उनको माग कार्यान्वयनका निम्ति उक्त मन्त्रालयलाई निर्देशन दिएका छन् । गलैंचा उत्पादनका लागि बाहिरबाट आउने कच्चा पदार्थ ऊनको ‘क्वरेन्टिन सर्टिफिकेसन’ पनि बेलैमा गरिदिन गुरुङले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए । अहिले महिनामा तीन पटक मात्र सर्टिफिकेसनको काम हुँदा व्यवसायीहरुलाई समस्या हुने गरेको उनको भनाइ थियो ।
प्रधानमन्त्री शाहले तुरुन्तै ‘क्वरेन्टिन सर्टिफिकेसन’को काम हप्ताको दुई दिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । साथै, प्रधानमन्त्री शाहले कर्णाली र सुदूरपश्चिममा भेडा पालन गरेर मासु र ऊन उत्पादन लगायतमा जोड दिन सरकारले भूमिका खेल्ने बताए । यस्तै, नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेले नेपाली प्लाइउडको गुणस्तर अन्य देशबाट आउने भन्दा राम्रो भए पनि विद्यमान केही कानूनी प्रावधानले यस क्षेत्रका उद्यमीले समस्या भोगिरहेको गुनासो गरे । उनका अनुसार नेपालमा ८५ वटा प्लाइउड उद्योगले चार हजार करोड रुपैयाँ लगानी गरेका छन् तर प्लाइउडको लागि आवश्यक पर्ने कच्चा पदार्थ (भेनियर) नेपालबाट निकै सस्तो भन्सार दरमा भारत निकासी भइरहेको छ । प्रधानमन्त्री शाहले त्यसको भन्सार शुल्क बढाएर कच्चा पदार्थ निर्यातमा निरुत्साहन गर्न पनि सरकार जुटेको बताए ।
नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले हिमाली भेगमा पर्याप्त मात्रामा चरन क्षेत्र भएपनि वन ऐनका कारण उक्त चरन क्षेत्रमा भेडापालन गर्न समस्या भइरहेको गुनासो गर्नुभएकोमा प्रधानमन्त्री शाहले आवश्यक छलफल गरी ऐन परिमार्जन गरिने आश्वासन दिए । लामिछानेले स्थानीय तहमै पश्मिनाका लागि आवश्यक ऊन र प्राकृतिक रेशाहरु संकलन केन्द्र र प्रदेशमा त्यसको प्रसोधन केन्द्र खोल्नुपर्ने माग राख्नुभएकोमा प्रधानमन्त्री शाहले त्यसका लागि पनि सहजीकरण गर्न सरकार तयार रहेको बताए । नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेलले नेपालमा केही कानूनी अड्चनले गर्दा आफूहरुले भनेजस्तो उत्पादन र निर्यात गर्न नसकेको गुनासो गरे । डग च्युलाई डेरी उत्पादनमै राखेकोमा ‘पेट फुड’ उद्योगको रुपमा राख्नुपर्ने र यस्ता उद्योगलाई ‘स्किम्पड मिल्क पाउडर’ आयात गर्न सहज गरिदिनुपर्ने उनको मागबारे अध्ययन गरेर उपयुक्त लागे सम्बोधन गरिने पनि प्रधानमन्त्री शाहले बताए ।
५- नेपालमा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक कानुनी तथा नीतिगत छलफल गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा मन्त्रालयमा शुक्रबार आयोजित छलफलमा नेपालमा सञ्चालनमा रहेका आईभीएफ सेवाको वर्तमान अवस्था, पूर्वाधार, सेवा मापदण्ड तथा नियमनका विषयमा विस्तृत समीक्षा गरिएको हो।
छलफलमा आईभीएफ सेवाको प्रभावकारी नियमनका लागि आईभीएफ सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्ने तथा दीर्घकालीन रूपमा आईभीएफ सेवालाई कानुनी दायरामा ल्याउन छुट्टै ऐन निर्माण गर्ने विषयमा छलफल भएको हो। मन्त्री मेहताले प्रजनन स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सेवाग्राहीको सुरक्षा, उपचारको गुणस्तर र नैतिक अभ्यास सुनिश्चित गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो। उहाँले आईभीएफ सेवामा हुन सक्ने सम्भावित अनियमितता रोक्दै सुरक्षित तथा जिम्मेवार प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरिन । बैठकमा हाल सेवा सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्ड, अनुगमन प्रणाली र अनुमति प्रक्रियालाई थप व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको थियो। छलफलमा डा. श्रीप्रसाद अधिकारी, डा. ज्योति थापा र डा. बिनिता थापाको सहभागिता रहेको थियो ।
६- जर्मनीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा जर्गेन क्लोप नियुक्त भएका छन् । जर्मन फुटबल संघले क्लोपसँग सन् २०३० सम्मका लागि क्लोपसँग सम्झौता गरेको हो । विश्वकपपछि प्रशिक्षक जुलियन नागेल्समनको बिदाइसँगै जर्मन टोलीले नयाँ युगको सुरुआत गर्ने अपेक्षा गरिएको छ । लिभरपुलबाट बिदा भएपछि केही समय विश्राम लिएका क्लोप अब पुनः प्रशिक्षणमा फर्किएका हुन् । ५९ वर्षीय क्लोपलाई विश्व फुटबलका उत्कृष्ट प्रशिक्षकमध्ये एक मानिन्छ । उनले बोरुसिया डर्टमुन्ड र लिभरपुलमा उल्लेखनीय सफलता हासिल गरेका थिए । लिभरपुललाई उनले युरोपेली च्याम्पियन्स लिग र इङ्ग्लिस प्रिमियर लिगको उपाधि दिलाएका थिए । हालका वर्षहरूमा प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा निराशाजनक प्रदर्शन गरेको जर्मन टोलीलाई पुनर्निर्माण गर्दै विश्व फुटबलको अग्रस्थानमा फर्काउने जिम्मेवारी क्लोपलाई दिइएको जर्मन फुटबल संघको विश्वास छ । क्लोपले आफ्नो कार्यकालको सुरुआत युरोपेली राष्ट्र लिग र सन् २०३० को विश्वकप छनोटको तयारीबाट गर्नेछन् । उनले उपाधिका लागि प्रतिस्पर्धा गर्न सक्ने बलियो टोली निर्माणलाई प्राथमिकता दिने बताइएको छ । पत्रकार सम्मेलनमा क्लोपले आफ्नो रणनीति, भावी योजना तथा प्रशिक्षण टोली सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । जर्मन फुटबल संघले यो दीर्घकालीन योजनामार्फत जर्मनीलाई पुनः युरोपेली तथा विश्व फुटबलको शीर्ष स्थानमा पुर्याउने लक्ष्य राखेको छ ।
७- ककरोच जनता पार्टी (सिजेपी) ले सरकारसँग भएको वार्तामा तीन बुँदे माग अघि सारेको जनाएको छ । पार्टीका राष्ट्रिय प्रवक्ता आशुतोष रांकाका अनुसार सरकारसँग करिब १० मिनेट वार्ता भएको थियो र त्यस क्रममा मृतक विद्यार्थीका परिवारलाई क्षतिपूर्ति, आन्दोलनकारीमाथिका मुद्दा फिर्ता तथा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग प्रस्तुत गरिएको थियो । रांकाले मृतक विद्यार्थीका परिवारलाई एक करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, आन्दोलनकारीविरुद्ध दर्ता गरिएका पहिलो सूचना प्रतिवेदन तथा कानुनी कारबाही फिर्ता लिनुपर्ने र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुपर्ने माग राखिएको बताए । उनका अनुसार सरकारसँग शिक्षा मन्त्रीको राजीनामाबारे कुनै सहमति भएको छैन । यस विषयमा सरकारसँग शुक्रबार पुनः वार्ता हुने तय भएको छ । सरकारले धर्मेन्द्र प्रधानको राजीनामासम्बन्धी मागमा निर्णय गर्न भोलि दिउँसोसम्मको समय मागेको र उनलाई पदबाट हटाइने अपेक्षा गरिएको रांकाले बताए । उनले आन्दोलनका क्रममा आत्महत्या गरेका चिकित्सा प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिने तथा आन्दोलनकारी विद्यार्थीमाथिका मुद्दा फिर्ता लिने विषयमा सरकारले सैद्धान्तिक सहमति जनाएको दाबी पनि गरे । यसैबीच, सिजेपीका संस्थापक अध्यक्ष अभिजीत दीपकेले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाभन्दा कममा आन्दोलन नरोकिने स्पष्ट पारे । उनले यो आन्दोलन कुनै एक व्यक्ति वा संगठनको नभई देशभरका युवाको आवाज भएको उल्लेख गर्दै यसलाई विपक्षी दलको आन्दोलनका रूपमा नहेर्न आग्रह गरे । दीपकेले सरकारले आन्दोलनको समाधान खोज्न चाहेको भए शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नै एकमात्र विकल्प रहेको बताए । उनले सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई सरकारले नियन्त्रणमा राखेको आरोप पनि लगाए ।
८- चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच छलफल भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा मन्त्री गौरीकुमारी यादवले उद्योग मन्त्रालयको क्षेत्राधिकारमा रहेका कानुनी तथा नीतिगत सुधारका कार्यक्रम कार्यतालिकाअनुसार अघि बढाइने जानकारी दिएकी थिइन् । उनले बजेटमा उद्योग मन्त्रालयसँग सम्बन्धित आठ वटा सुधारका कार्यक्रम रहेको उल्लेख गर्दै केही कार्यक्रमको कार्यान्वयन प्रक्रिया सुरु भइसकेको र बाँकी कार्यक्रम पनि चरणबद्ध रूपमा अघि बढाइने बताइन । मन्त्री यादवले बजेटमा घोषणा गरिएका सुधारका योजना सफल बनाउन अर्थ मन्त्रालयसँग प्राविधिक सहयोग र आपसी समन्वय आवश्यक रहेको धारणा राखेकी थिइन् भने मन्त्रालयको जिम्मेवारीभित्र पर्ने कामलाई समयमै सम्पन्न गर्न दुवै मन्त्रालयबीच निरन्तर सहकार्य रहने उनको भनाइ थियो । छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले उद्योग मन्त्रालयअन्तर्गत रहेका नीतिगत तथा कानुनी सुधारका कामलाई तदारुकताका साथ अघि बढाउन आग्रह गर्दै आवश्यक विज्ञ, स्रोत–साधन तथा प्राविधिक सहयोग उपलब्ध गराउन अर्थ मन्त्रालय तयार रहेको बताए । चालु आर्थिक वर्षको बजेटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत कम्पनी ऐन संशोधन, दामासाहीसम्बन्धी ऐन परिमार्जन, उधारो असुली ऐन तथा बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी नयाँ कानुन निर्माणलगायत आठ वटा प्रमुख कानुनी तथा नीतिगत सुधारका कार्यक्रम समावेश छन्। अर्थ मन्त्रालयले बजेट कार्यान्वयनको नियमित अनुगमन गर्दै सम्बन्धित मन्त्रालयसँग प्रगति समीक्षा गर्ने कार्यतालिका समेत बनाएको छ ।
९- नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड ३७ लाख ६९ हजार १०० कित्ता शेयर ६ अर्ब २६ करोड ७२ लाख २६ हजार ७२२ मा कारोबार भएको थियो । आज फाइनान्स, हाइड्रो, उत्पादन, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने आत्मनिर्भर लघुवित्तको शेयर १४.४६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सानिमा बैंक डिभेन्चर २०८५ को शेयरमा ८.९२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ३० करोड ९३ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।
१०- काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले २१ हजारघुससहित पक्राउ गरेको हो । स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । अख्तियारले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
११- संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई रिट निवेदन दर्ता भएका छन् । अधिवक्ता डा. प्रेमराज सिलवाल र मनिराम उपाध्यायले शुक्रबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदनहरू दर्ता गराएका हुन् । उनीहरुले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र प्रतिनिधिसभाका सभामुखलगायतलाई विपक्षी बनाएर रिट दर्ता गराएका छन् । स्वकिय सचिव राख्नदिने निर्णयले राज्यकोषमा अनावश्यक भार पर्ने दावी गर्दै उनीहरूले सरकारको निर्णय बदर हुनुपर्ने माग गरेका हुन् । रिटमा सरकारको उक्त निर्णय तथा राजपत्रमा प्रकाशित सूचनालाई उत्प्रेषणको आदेशद्वारा खारेज गर्न र आवश्यक परमादेश जारी गर्न माग गरिएको छ । दुवै निवेदनहरूमाथि आगामी सोमबार सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।
१२- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र साउदी अरबबीच भएको आणविक ऊर्जा सम्झौताबारे महत्वपूर्ण अभिव्यक्ति दिएका छन् । उनले यो सम्झौता केवल ऊर्जा उत्पादन तथा अन्य असैनिक प्रयोजनका लागि भएको स्पष्ट पार्दै साउदी अरबले अब्राहम सम्झौताअन्तर्गत इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्य बनाउनुपर्ने सर्त राखिएको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सार्वजनिक गरेको जानकारीअनुसार सम्झौताअन्तर्गत कुनै पनि प्रकारको युरेनियम संवर्द्धन गरिने छैन । उनले यो सम्झौता पूर्ण रूपमा असैनिक प्रयोजनमा सीमित रहने र यसको कार्यान्वयन साउदी अरबले अब्राहम सम्झौतामा सहभागी भई इजरायलसँग सम्बन्ध सामान्य बनाएपछि मात्र सम्भव हुने बताएका छन् । यो सर्त अमेरिकी ऊर्जा विभागले सम्झौताको घोषणा गर्दा सार्वजनिक गरिएको थिएन ।
अब्राहम सम्झौता ट्रम्पको पहिलो कार्यकालमा अमेरिकी मध्यस्थतामा भएको थियो, जसअन्तर्गत संयुक्त अरब इमिरेट्स, बहराइन, सुडान र मोरक्कोले इजरायलसँग सम्बन्ध सामान्य बनाएका थिए । अमेरिकी ऊर्जा विभागले सम्झौताको घोषणा गर्दा इजरायलसँग सम्बन्ध सामान्य बनाउनुपर्ने वा युरेनियम संवर्द्धनमा रोक लगाउने विषय उल्लेख गरेको थिएन। सम्झौताको पूर्ण पाठ पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन भने ट्रम्प प्रशासनले विस्तृत सर्तहरू पनि खुलाएको छैन । यो सम्झौतामा अमेरिकी ऊर्जा मन्त्री क्रिस राइट र साउदी ऊर्जा मन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यान्वयनका लागि अमेरिकी काङ्ग्रेसको अनुमोदन भने अझै आवश्यक रहेको छ ।
अमेरिकी ऊर्जा विभागका अनुसार यो सम्झौताले आगामी धेरै दशकसम्म चल्ने अर्बौं डलर बराबरको साझेदारीका लागि कानुनी आधार तयार गर्नेछ। यसको उद्देश्य आणविक हतियारको फैलावट रोक्नुका साथै अमेरिका र साउदी अरबका आर्थिक तथा रणनीतिक हितलाई अघि बढाउनु रहेको विभागले जनाएको छ। साउदी अरबले लामो समयदेखि स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापनातर्फ ठोस र अर्थपूर्ण प्रगति नभएसम्म इजरायलसँग सम्बन्ध सामान्य बनाउन नसकिने अडान लिँदै आएको छ । यसअघि पनि अमेरिकाले साउदीलाई युरेनियम संवर्द्धनको अनुमति दिने कुनै पनि सम्झौताका लागि इजरायलसँग सम्बन्ध सामान्य बनाउनुपर्ने सर्त राख्दै आएको थियो। ट्रम्पले पुनः यही सर्त दोहोर्याएपछि दुई देशबीचको आगामी वार्तामा यसको प्रभाव पर्ने विश्लेषण गरिएको छ ।
सम्झौता सार्वजनिक भएपछि पश्चिम एसियामा आणविक प्रविधिको विस्तारबारे नयाँ चिन्ता व्यक्त हुन थालेको छ। प्राप्त जानकारीअनुसार यस सम्झौतामा संयुक्त राष्ट्रसंघका सबैभन्दा कडा निरीक्षण मापदण्ड लागू गर्ने वा युरेनियम संवर्द्धन तथा प्रयोग भइसकेको आणविक इन्धनको पुनः प्रशोधनमा पूर्ण प्रतिबन्ध लगाउने व्यवस्था समावेश गरिएको छैन। सम्झौताबारे जानकारी राख्ने स्रोतहरूका अनुसार संयुक्त अध्ययनपछि व्यवहारिक ठहरिए अमेरिकी कम्पनीहरूलाई साउदी अरबमा युरेनियम संवर्द्धन केन्द्र निर्माण गर्न अनुमति दिन सकिने सम्भावना पनि रहेको छ। यसअघि ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले राष्ट्रपति ट्रम्पले यस सम्झौतालाई स्वीकृति दिइसकेको बताएका थिए।
१३- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ५ हजार ८ सयले घटेर २ लाख ८५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९१ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५५ रुपैयाँले घटेर तोलाको ४३५० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४५०५ मा कारोबार भएको थियो ।
१४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गर्दै नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन मापदण्ड तोकेको छ । रास्वपाले जारी गरेको निर्देशनमा सांसदहरूले राख्ने स्वकीय सचिव नियुक्त गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ । एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने र परिवारभन्दा बाहिरबाट योग्य व्यक्ति छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशनअनुसार स्वकीय सचिवका लागि संघीय संसद सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको व्यक्ति हुनुपर्नेछ । स्नातक तह वा सोसरह उत्तीर्ण, सम्बन्धित क्षेत्रमा दक्षता भएको, प्रविधिमैत्री, अनुसन्धान क्षमता भएको र पार्टीका मूल्य-मान्यताप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिन भनिएको छ । रास्वपाले योग्यता र क्षमता पुगेका उम्मेदवारमध्ये महिला, सीमान्तकृत समुदाय तथा पछाडि पारिएका वर्गलाई प्राथमिकता दिन पनि सांसदहरूलाई निर्देशन दिएको छ ।
१५- आर्थिक वर्ष २०८२/८३ मा नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थ, सवारीसाधन, विद्युतीय उपकरण तथा औद्योगिक कच्चा पदार्थ आयात गरेको देखिएको छ । भन्सार विभागको वार्षिक तथ्यांकअनुसार शीर्ष १० आयातित वस्तुमध्ये डिजेल पहिलो स्थानमा रहेको छ भने पेट्रोल दोस्रो स्थानमा छ । तथ्यांकअनुसार डिजेल सबैभन्दा बढी आयात भएको वस्तु बनेको छ । एक बर्षमा १३ लाख ९३ हजार ३३४ किलोलिटर डिजेल आयात गरिएको छ, जसको मूल्य १ खर्ब ७२ अर्ब ४२ करोड ८७ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा रहेको सोयाबिन तेलको कच्चा पदार्थ रहेको छ । जो ८० करोड १२ लाख ९६ हजार लिटर आयात गरिएको छ । यसको आयात मुल्य १ खर्ब ३२ अर्ब ७६ करोड रहेको छ । त्यस्तै पेट्रोल ७ लाख ५१ हजार ६४२ किलोलिटर आयात गरिएको छ। यसको आयात मूल्य ७७ अर्ब २६ करोड ५० लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी ग्यास (एलपी ग्यास) आर्थिक वर्षभर ५ अर्ब २० करोड ५२ लाख ५१ हजार ९९२ किलोग्राम आयात गरिएको छ । यसको आयात मूल्य ६० अर्ब २८ करोड ६ लाख रुपैयाँ रहेको छ । त्यस्तै प्रत्यक्ष अपचयन प्रक्रियाबाट उत्पादन गरिएको फलामजन्य पदार्थ रहेको छ । १ अर्ब ३४ करोड १३ लाख १४ हजार ३२५ किलोग्राम यस्तो पदार्थ आयात गर्दा ५८ अर्ब ५२ करोड २६ लाख रुपैयाँ रहेको छ । त्यसैगरी एक बर्षमा स्मार्टफोन आर्थिक वर्षभर २२ लाख ६७ हजार ४१९ थान आयात गरिएको छ । यसको आयात मूल्य ४८ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ रहेको छ । त्यस्तै खुद्रा बिक्रीका लागि निश्चित मात्रा (डोज) मा वा खुद्रा प्याकेजमा तयार गरिएका अन्य औषधिजन्य सामग्री १ करोड १९ लाख ५२ हजार किलो आयत भएको छ भने यसको आयात मुल्य ४८ अर्ब ६९ करोड ३४ लाख बराबर रहेको छ । त्यसैगरी प्रशोधन नगरिएको रोल गरिएको फलाम/इस्पात ३५ करोड ३५ लाख किलो आयात गरिएको छ भने यसको मुल्य २७ अर्ब ५६ करोड ५३ लाख बराबर रहेको छ । त्यस्तै गत आर्थिक बर्षमा १४ लाख ४ हजार ३९८ ग्राम सुन आयत भएको छ भने यसको मुल्य २६ अर्ब ७७ करोड ५८ लाख बराबर रहेको छ । त्यसैगरी गत आर्थिक बर्षमा हवाई टर्बाइन इन्धन २ लाख १३ हजार ६४३ किलो लिटर आयात भएको छ भने यसको मुल्य २६ अर्ब ६४ करोड ५० लाख बराबर रहेको छ ।
१६- आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भए पनि आयातको तुलनामा निर्यात कमजोर रहँदा व्यापार घाटा अझै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले वृद्धि भएर २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ पुगेको छ । तथ्यांकअनुसार गत एक बर्षमा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कुल आयात १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ बराबर रहेको थियो । यस्तै, आर्थिक वर्ष २०८२/८३ मा ३ खर्ब १५ अर्ब २९ करोड ४७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । निर्यात अघिल्लो वर्षको तुलनामा १३.८१ प्रतिशतले बढेको छ ।
अघिल्लो आर्थिक वर्षमा नेपालबाट २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । तर आयातको वृद्धि दर निर्यातभन्दा उच्च भएकाले व्यापार घाटा थप फराकिलो बनेको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड ८६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.६३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा व्यापार घाटा १५ खर्ब २७ अर्ब ९२ करोड ५३ लाख रुपैयाँ रहेको थियो । रिपोर्टमा नेपालको वैदेशिक व्यापार अझै पनि आयातमुखी रहेको स्पष्ट देखाएको छ । समीक्षा अवधिमा आयात–निर्यात अनुपात ६.६५ पुगेको छ। अर्थात् नेपालले एक रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा करिब ६ रुपैयाँ ६५ पैसा बराबरको वस्तु आयात गरेको देखिन्छ । यो अनुपात अघिल्लो वर्षको ६.५१ को तुलनामा केही बढेको हो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.०७ प्रतिशत मात्र रहेको छ, जुन अघिल्लो वर्षको १३.३१ प्रतिशतबाट घटेको हो । विपरीत रूपमा आयातको हिस्सा ८६.९३ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ८६.६९ प्रतिशतभन्दा केही बढी हो । यसले नेपालको वैदेशिक व्यापारमा आयातको निर्भरता अझै कायम रहेको संकेत गर्छ ।
१७- मध्यपूर्वमा चर्किँदै गएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य मे महिनायता पहिलो पटक प्रतिव्यारेल १०० अमेरिकी डलर नाघेको छ । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावले विश्व ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता बढेपछि तेलको मूल्य तीव्र रूपमा उकालो लागेको हो । विश्व बजारको मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अमेरिकाले इरानमाथि सैन्य आक्रमण तीव्र बनाएसँगै पछिल्ला केही दिनदेखि तेलको मूल्य लगातार बढिरहेको छ। यमनका इरान समर्थित हुथी विद्रोहीले लाल सागरमा तेल बोकेका जहाजमाथि आक्रमण गरेपछि अवस्था थप तनावपूर्ण बनेको छ। उक्त आक्रमणले साउदी अरबले होर्मुज जलडमरूमध्यको विकल्पका रूपमा प्रयोग गर्दै आएको महत्वपूर्ण निर्यात मार्गसमेत जोखिममा परेको छ । प्राकृतिक ग्यासको मूल्यमा पनि निरन्तर वृद्धि भइरहेको छ। बेलायतमा ग्यासको मापदण्ड मूल्य जुन महिनाको अन्त्यमा प्रतिएकाइ ९८ पेन्स रहेकोमा अहिले बढेर करिब १५० पेन्स पुगेको छ ।\
यसअघि अमेरिका र इरानबीच भएको अस्थायी युद्धविरामपछि तेलको मूल्य घटेर फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गर्नुअघिकै स्तरमा पुगेको थियो। तर युद्धविराम टिक्न नसकेपछि मूल्य फेरि बढ्न थालेको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको नेतृत्व सम्झौता गर्न तयार नभएको बताएका छन्। यसले तनाव तत्काल कम हुने सम्भावना कमजोर बनेको विश्लेषण गरिएको छ। विश्लेषकहरूका अनुसार तेलको मूल्यमा आएको वृद्धिले विश्वका धेरै देशमा महँगी थप बढाउन सक्छ। तेल महँगिएसँगै पेट्रोल र डिजेलको मूल्य बढ्ने भएकाले ढुवानी खर्च बढ्छ, जसको असर खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि पर्न सक्छ । बेलायतमा जुनसम्मको वार्षिक महँगी दर २.६ प्रतिशतमा झरेको थियो भने अमेरिकामा ३.५ प्रतिशतमा पुगेको थियो। तर मध्यपूर्वको नयाँ तनावका कारण मूल्यवृद्धिको दबाब फेरि बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ। अमेरिकामा पनि पेट्रोलको औसत मूल्य पुनः प्रतिग्यालन ४ अमेरिकी डलर नाघेको छ। एक महिनाअघि यो मूल्य ३.९२ डलर रहेको थियो । ऊर्जा मूल्य लामो समयसम्म उच्च रहे ब्याजदर घटाउने योजना प्रभावित हुन सक्ने र आवश्यक परे थप वृद्धि गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ। यसले घरकर्जा तथा अन्य ऋण लिएका नागरिकमाथि थप आर्थिक भार पर्नेछ ।
१८- वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतक र तीव्र गतिका बलर मयंक यादवको उत्कृष्ट पुनरागमनको मद्दतमा भारतले जिम्बाब्वेलाई पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा सात विकेटले पराजित गरेको छ । हरारे खेल मैदानमा बिहीबार सम्पन्न तीन खेलको सिरिजको पहिलो खेलमा जित निकाल्दै श्रेयस अय्यरको कप्तानीमा भारतले पहिलो जित दर्ता गरेको हो । यससँगै भारतले सिरिजमा १-० को अग्रता पनि बनाएको छ । टस जितेर पहिले बलिङ रोजेको भारतले जिम्बाब्वेलाई निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १२५ रनमा सीमित गरेको थियो । जवाफमा भारतले १३.२ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । १२६ रनको सामान्य लक्ष्य पछ्याएको भारतको सुरुआत भने राम्रो हुन सकेन । ओपनर अभिषेक शर्मा केवल एक रन बनाएर पेभेलियन फर्किए।
त्यसपछि मैदानमा आएका वैभव सूर्यवंशीले आक्रामक ब्याटिङ गर्दै खेलको दिशा नै परिवर्तन गरे । वैभवले केवल १९ बलमा चार चौका र चार छक्काको सहयोगमा ५० रन पूरा गरेका थिए । उनले आफ्नो अर्धशतक मात्र १८ बलमा पूरा गर्दै नयाँ कीर्तिमान बनाए । अर्धशतक पूरा गरेलगत्तै उनी आउट भए पनि त्यसबेलासम्म खेल भारतको पूर्ण नियन्त्रणमा पुगिसकेको थियो । वैभव आउट भएपछि ईशान किशनले २४ बलमा ३५ रनको उपयोगी योगदान दिए भने कप्तान श्रेयस अय्यर २४ बलमा २८ रन बनाएर अविजित रहे। भारतले ४० बल बाँकी रहँदै सहज जित हात पार्यो। अब सिरिजको दोस्रो खेल शनिबार हुने तालिका छन् ।
१९- नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ । यो वर्षको फिफा विश्वकप आयोजना भएयता फेरि दुई लाख २३ हजार ५६८ त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। विश्कपका बेला यस्ता बेटिङ एपको प्रयोग बढ्नसक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि यसमा विशेष चासो देखाएपछि प्राधिकरणले तदारुकताका साथ कारबाही अगाडि बढाएको हो। प्राधिकरणले यसका लागि छुट्टै टाक्स फोर्स पनि गठन गरेको छ। टाक्स फोर्समा रहेका दूरसञ्चारका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप शुरु भएपछि इन्टरनेट सेवा प्रदायक (आईएसपी)का प्रतिनिधिहरुलाई प्राधिकरणमै राखेर त्यस्ता वेबसाइटलाई बन्द गर्ने काम गरिएको थियो।
आईएसपीसँगको सहकार्यमा त्यस्ता वेबसाइट चल्ने यूआरएललाई ब्लक गरिने सहायक निर्देशक महतोले बताउनुभयो। उहाँका अनुसार यति धेरै वेबसाइट एकएक गरेर खोज्न कठिन हुने भएको अधिकार प्रदत्त विभिन्न संस्था तथा निकायले पहिचान गरेर राखेका त्यस्ता बेटिङ साइट तथा अवैधानिक वित्तीय कारोबार हुने वेबसाइटहरुलाई आईएसपीसँगको सहकार्यमा बन्द गरिन्छ। यसमा पनि एउटा बन्द गर्दा अर्को नयाँ वेबसाइट खुलिरहने चुनौती हुन्छ। यस्तो अवस्थामा जति नयाँ खुल्दै जान्छन् त्यतिलाई बन्द गर्दै जानुपर्छ। यसका लागि ‘थ्रेड इन्टिेलिजेन्स टुल’ प्रयोग गरेर हन्टिङ गर्ने गरिन्छ। यसका लागि पनि छुट्टै जनशक्तिको व्यवस्था गरिएको उनको भनाइ छ। कसैलाई यस्ता अवैधानिक वेबसाइटबारे थाहा भए github.com/NTA-OPM लिंकमा अपडेट गराउन सकिने पनि प्राधिकरणले जनाएको छ ।
२०- भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो अनशन अन्त्य गरेका छन् । भारतका केन्द्रीय मन्त्री जगतप्रकाश नड्डा र डा. जितेन्द्र सिंहसँग भएको छलफलपछि उनले गएराती अनशन तोडेको जनाएका छन् । वाङचुकले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार लेह-लद्दाखको शीर्ष नेतृत्वको उपस्थितिमा विभिन्न चरणको लामो वार्तापछि उनले देशमा सम्भावित हिंसात्मक अवस्था टार्ने उद्देश्यले अनशन अन्त्य गर्ने निर्णय गरेका हुन् । उनका अनुसार अनशनका क्रममा विभिन्न राजनीतिक दलका ६५ सांसदले प्रत्यक्ष भेटघाट वा पत्रमार्फत अनशन अन्त्य गर्न आग्रह गरेका थिए । ती आग्रह र सरकारसँग भएका सहमतिका आधारमा उनले २६ दिनपछि अनशन तोडेको बताएका छन् । यसअघि विपक्षी दलका सांसदहरूको प्रतिनिधिमण्डल पनि वाङचुकलाई भेट्न पुगेको थियो ।
उनीहरूले समेत स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अनशन अन्त्य गर्न आग्रह गरेका थिए । यसैबीच, ‘ककरोच जनता पार्टी’का संस्थापक अध्यक्ष अभिजित दिपकेले वाङचुकले अनशन अन्त्य गरेको खबरले राहत महसुस भएको बताएका छन् । उनले २६ दिनसम्मको कठिन अनशनपछि वाङचुकले आन्दोलनको यो चरण समाप्त गरेकोमा आभार व्यक्त गरेका छन् । दिपकेले आफ्नो सामाजिक सञ्जाल सन्देशमा जन्तरमन्तरमा जारी पार्टीको शान्तिपूर्ण प्रदर्शन भने धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म निरन्तर जारी रहने बताएका छन् । पार्टीका मुख्य प्रवक्ता सौरभ दासले सरकारसँगको सहमतिअनुसार शुक्रबार तटस्थ स्थानमा छलफल आयोजना गरिएको जानकारी दिएका छन् । उनका अनुसार उक्त छलफलका लागि भारतको संविधान क्लबलाई स्थलका रूपमा चयन गरिएको छ ।
Single Image