काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न सोमबार बजारबाट ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकले १७९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न बोलकबोल आह्वान गरेको हो।
राष्ट्र बैंकका अनुसार बोलकबोलमा इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन सक्नेछन्। निक्षेप संकलनका लागि बोलकबोल सोमबार अनलाइन खरिद प्रणालीमार्फत हुनेछ भने ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ।
बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरमा बोल गर्ने संस्थालाई प्राथमिकता दिइनेछ। सोही आधारमा क्रमश: आह्वान गरिएको ३० अर्ब रुपैयाँसम्म रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलन उपकरणमा न्यूनतम १० करोड रुपैयाँदेखि बोल गर्न सकिनेछ। अधिकतम रकम भने ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमको सीमाभित्र रहने व्यवस्था गरिएको छ। यस पटक संकलन गरिने निक्षेपको साँवा तथा ब्याज २०८३ माघ ८ गते भुक्तानी गरिनेछ।