काठमाडौं । चुरोट उत्पादक कम्पनी सूर्य नेपालले सन् २०२५ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ। कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको हो।
उपलब्ध वित्तीय विवरणअनुसार कम्पनीले सन् २०२४ मा करिब २८ अर्ब ८२ करोड रुपैयाँ तथा सन् २०२३ मा २८ अर्ब ९९ करोड रुपैयाँको व्यापार गरेको थियो। व्यापार वृद्धि भए पनि सञ्चालन नाफा र खुद नाफा मार्जिन भने स्थिर रहेको कम्पनीले जनाएको छ।
कम्पनीको ऋणको स्तर अत्यन्त न्यून रहेको छ। सञ्चालन गतिविधिबाट निरन्तर नगद प्रवाह भइरहेकाले ऋण सुरक्षा सूचकहरू पनि सुदृढ अवस्थामा रहेको उल्लेख गरिएको छ। कम्पनीले हालसम्म कुनै बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जा नलिएको रेटिङ कम्पनीले जनाएको छ। सन् २०२५ सम्म यसको ऋण दायित्व लिज दायित्वमा मात्रै सीमित रहेको छ।
सूर्य नेपालको समग्र गियरिङ अनुपात ०.०१ गुणा रहेको छ। कम्पनीसँग सन् २०२५ को अन्त्यसम्म ४ अर्ब ९४ करोड ४० लाख रुपैयाँ बैंक निक्षेप, १ अर्ब २० लाख रुपैयाँ ट्रेजरी बिल तथा २१ करोड ६० लाख रुपैयाँ नगद मौज्दात रहेको छ। कम्पनीले आफ्ना सेयरधनीलाई नियमित रूपमा लाभांश वितरण गर्दै आएको छ ।
सन् १९८६ मा स्थापना भएको सूर्य नेपालमा भारतीय कम्पनी आइटीसी लिमिटेडको ६१ प्रतिशत तथा नेपाली संस्था र व्यक्तिगत लगानीकर्ताको ३९ प्रतिशत स्वामित्व रहेको छ। चुरोट, अगरबत्ती तथा ब्रान्डेड प्याकेज्ड फुड उत्पादन गर्दै आएको कम्पनीले सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालिमार्फत अगरबत्ती उत्पादन तथा बिक्री गर्दै आएको छ। कम्पनीले हालै ‘मारानी’ ब्रान्डको मह निर्यातसमेत सुरु गरेको छ।
चार दशकदेखि चुरोट उत्पादन गर्दै आएको सूर्य नेपालले सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ, सूर्य फ्युजन, शिखर, रस, नौलो, खुकुरी, पाइलट, पल्स, बिजुली र चौतरीलगायत ब्रान्ड बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीले अल्पकालीन कर्जाका लागि ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ। कम्पनीको अध्यक्ष सञ्जीव पुरी रहेका छन्।