काठमाडौं। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण वर्षको अवसरमा ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।
आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने अटो शोका लागि आयोजकले डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुट घोषणा गरेको छ।
अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनीका रूपमा परिचित नाडा अटो शो यस वर्ष ५० वर्षे यात्राको विशेष उत्सवका रूपमा आयोजना हुँदैछ। प्रदर्शनीको मुख्य प्रायोजकका रूपमा ‘एचपी लुब्रिकेन्ट्स’ रहेको छ।
नाडाले अवलोकनकर्ताका लागि खल्ती एपसँगको सहकार्यमा विशेष प्रवद्र्धनात्मक योजना ल्याएको जनाएको छ। योजना अनुसार खल्ती एपमार्फत वा आधिकारिक खल्ती क्यूआर स्क्यान गरी अग्रिम टिकट खरिद गर्नेले साधारण र विद्यार्थी दुवै प्रकारका टिकटमा ५० प्रतिशत छुट पाउनेछन् । सीमित अवधिका लागि लागू हुने उक्त छुट योजना अन्तर्गत समयमै टिकट सुरक्षित गर्न नाडाले आग्रह गरेको छ ।
यस वर्षको नाडा अटो शोमा नवीनतम विद्युतीय (ईभी) तथा इन्धनबाट चल्ने दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधन, अत्याधुनिक अटो प्रविधि, सवारी पार्टपुर्जा, लुब्रिकेन्ट, वित्तीय सेवा तथा बीमा सुविधालगायतका सामग्री तथा सेवाहरू प्रदर्शनीमा राखिनेछन्।
५ दशक लामो गौरवमय यात्रालाई उत्सवका रूपमा मनाउँदै नयाँ प्रविधि र अटोमोबाइल क्षेत्रका नवीनतम उपलब्धिसँग साक्षात्कार गर्न अटोप्रेमी, युवा तथा विद्यार्थीलाई प्रदर्शनी अवलोकन गर्न नाडाले आग्रह गरेको छ।