काठमाडौं । चलचित्र ‘अगस्त्य: च्याप्टर १’ मार्फत आफ्नो निर्देशकीय क्षमता प्रदर्शन गरिसकेका निर्देशक सौरभ चौधरीले नयाँ प्रोजेक्ट ‘द राइज अफ साम्राज्य’का लागि नेपाली चलचित्र क्षेत्रका भर्सटाइल अभिनेता सौगात मल्ललाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र यस वर्षकै बहुप्रतिक्षित प्रोजेक्टमध्ये एक मानिएको छ । गत सोमबार मात्रै निर्माण टिमले सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको थियो । उक्त घोषणाको लगत्तै पहिलो कलाकारका रूपमा सौगात मल्लको नाम बाहिर आएको हो ।
अभिनेता सौगात मल्ल र निर्देशक सौरभ चौधरीले यसअघि ‘अगस्त्य: च्याप्टर १’ मा एकसाथ काम गरिसकेका छन् । उक्त चलचित्रमा सौगातको अभिनयको निकै प्रशंसा भएको थियो । दोस्रो सहकार्यको रूपमा ‘द राइज अफ साम्राज्य’मा जोडिन पाउँदा दुवै पक्ष उत्साहित देखिएका छन् ।
निर्देशक सौरभ चौधरी भन्छन्, “हामीले पहिलो कलाकारका रूपमा सौगात मल्ललाई भित्र्याएका छौँ । उहाँ जस्तो अभिनयमा अब्बल कलाकार नै यो कथाको माग हो । अन्य कलाकारहरूको छनोट प्रक्रिया जारी छ, जसको जानकारी हामी केही दिनमा सार्वजनिक गर्नेछौँ ।”
यस चलचित्रमा सौगात मल्ल एउटा विशिष्ट र चुनौतीपूर्ण भूमिकामा देखिने खुलासा गरिएको छ । निर्देशकका अनुसार सिनेमामा सौगातले २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको जीवन यात्रालाई चित्रण गर्नेछन् । एउटै चलचित्रमा यति ठूलो उमेरको अन्तर देखाउनु सौगातका लागि पनि अभिनयको हिसाबले निकै महत्वपूर्ण हुने देखिन्छ ।
चलचित्रको अर्को बलियो पक्ष यसको पटकथा हो । चर्चित उपन्यासकार बुद्धिसागरले यस चलचित्रको कथा र पटकथा लेखेका हुन् । यसअघि सार्वजनिक गरिएको थिम पोस्टरमा देखिएको आगोको लप्का, घोडामा सवार मानिस र ऐतिहासिक राजर्सी कालखण्डका पात्रहरूले चलचित्र एउटा ‘एपिक एक्सन ड्रामा’ हुने संकेत गरेको छ ।
सौरभ चौधरीले यसपटक पहिलेको तुलनामा अझ ठूलो क्यानभासमा फिल्म खिच्ने योजना बनाएका छन् । यो नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र हुने निर्माण पक्षको दाबी छ ।
चलचित्रको छायांकन आगामी भदौ पहिलो साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ ।
यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।
मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ । यो चलचित्रको वितरकमा डिसीएन रहेको छ ।