काठमाडौं । नापी कार्यालय, चावहिल २ र ३ नं नापी टोलीका अमिन टोपजङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाईदिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियारको दाबी छ।
भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज अमिन टोप जङ खत्रीलाई सेवाग्राहीबाट घुस/रिसवत लिइसकेको अवस्थामा घुस रकमसहित नियन्त्रणमा लिइएको थियो।
खत्रीले आफ्नो पद तथा ओहदा सम्बन्धी कामको सिलसिलामा जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाई दिनेसमेतका काममा सहजीकरण गरे गराएबापत सेवाग्राहीसँग घुस/रिसवत रू.एक लाख ६० हजार रूपैयाँ माग गरी लिएको पुष्टि भएको अख्तियारको ठहर छ।
खत्रीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई बिगो रू.एक लाख ६० हजार रूपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन्।