काठमाडौं । नेपाल वितरक संघका अध्यक्ष प्रेमहरि मैनालीले नेपाल पूर्ण रूपमा आयातमुखी अर्थतन्त्रमा निर्भर बन्दै गएको भन्दै स्वदेशी उद्योग तथा उत्पादन संरक्षणका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
शुक्रबार भक्तपुरको गठ्ठाघरमा आयोजित नेपाल वितरक संघको २५औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोह–२०८३ लाई सम्बोधन गर्दै अध्यक्ष मैनालीले देशमा नयाँ उद्योग तथा कलकारखाना पर्याप्त रूपमा स्थापना हुन नसकेको र सञ्चालनमा रहेका उद्योगसमेत अपेक्षाअनुसार फस्टाउन नसकेको बताए।
उनले स्वदेशी उत्पादकहरूले आयातित वस्तुसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै चुनौतीका बाबजुद पनि स्वदेशी उत्पादनले बजारमा आफ्नो उपस्थिति कायम राख्न सफल भएको बताए। स्वदेशी वस्तुप्रति उपभोक्ताको विश्वास बढ्दै गएको उनको भनाइ थियो।
अध्यक्ष मैनालीले नेपाल वितरक संघले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै व्यवसायीहरूले कठिन परिस्थितिका बीच पनि सरकारलाई राजस्व संकलनमा सहयोग पुर्याउनुका साथै रोजगारी सिर्जनामा उल्लेखनीय भूमिका खेलेको बताए।
व्यवसाय सञ्चालनका क्रममा विभिन्न कानुनी तथा नीतिगत जटिलता रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालका नीति तथा कानुन निर्माण गर्न सरकारसँग आग्रह गरे। निजी क्षेत्रमैत्री वातावरण सिर्जना भएमा उत्पादन, लगानी र रोजगारीमा उल्लेखनीय वृद्धि हुने उनको विश्वास थियो।