काठमाडौं । सामाजिक सञ्जालमा चर्चित ‘जमजम ब्रदर्स’ अर्थात् मुहम्मद शकुर र अब्दुल गफुरले नेपालमा आफ्नो व्यवसाय विस्तार गरेका छन्।
उनीहरूले काठमाडौंको सुन्धारास्थित सिभिल मलमा ‘जमजम पफ्र्युम्स नेपाल’को औपचारिक उद्घाटन गरेका हुन् । सामाजिक सञ्जालमा ‘छोटे भाइ’ र ‘बडे भाइ’का रूपमा परिचित शकुर र गफुर शुक्रबार नेपाल आएका थिए । नेपालमा व्यवसाय विस्तार गर्ने क्रममा उनीहरूले शनिबार ‘जमजम पफ्र्युम्स’को बिक्री सुरु गरेका हुन् ।
उद्घाटनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै जमजम ब्रदर्सले नेपालमा आफूहरूले अपेक्षा गरेभन्दा बढी माया र साथ पाएको बताए। नेपाली दर्शक तथा फ्यानबाट पाएको मायाका लागि धन्यवाद दिँदै उनीहरूले आगामी दिनमा पुन: नेपाल आउने प्रतिबद्धता व्यक्त गरे । ‘जति हामीले सोचेका थियौं, त्योभन्दा पनि बढी माया नेपाली फ्यानबाट पायौं । त्यसका लागि धेरै–धेरै धन्यवाद । हामी फेरि पनि नेपाल आउनेछौं,’ उनीहरूले भने ।
ग्याजेटका छोटा भिडियो, कमेडी, पारिवारिक सामग्री तथा दाजुभाइबीचको आत्मीय सम्बन्ध प्रस्तुत गर्ने भिडियोका कारण जमजम ब्रदर्स सामाजिक सञ्जालमा लोकप्रिय छन् । प्राय: एउटै किसिमको गेटअपमा देखिने उनीहरूका सामग्रीलाई विश्वभर ठूलो संख्यामा दर्शकले पछ्याउने गरेका छन् ।
मुहम्मद शकुर र अब्दुल गफुरले मिर्जा फारुक बेग र रउफ बेगसँगको सहकार्यमा सन् २०१३ मा संयुक्त अरब इमिरेट्स (यूएई) मा इलेक्ट्रोनिक्स सामानको व्यवसाय सुरु गरेका थिए । त्यसपछि उनीहरूले विभिन्न व्यवसायमा आफ्नो उपस्थिति विस्तार गर्दै आएका छन् ।