काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले उपभोक्तालाई दूध तथा दुग्धजन्य पदार्थ सहजै उपलब्ध गराउने उद्देश्यले काठमाडौंको वनस्थलीमा आफ्नो आठौं बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।
बिक्री केन्द्रको उद्घाटन गर्दै संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले उत्पादनलाई उपभोक्तासम्म सजिलै पुर्याउन यस्ता केन्द्र विस्तार गर्दै लगेको बताए ।
यसबाट किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित हुनुका साथै स्वदेशी दुग्धजन्य पदार्थको खपत बढाउन मद्दत पुग्ने उनको भनाइ छ । ‘उपभोक्ताले अब एउटै ठाउँबाट संस्थानका विभिन्न दुग्धजन्य पदार्थ सजिलै किन्न सक्नेछन्,’ उनले भने ।
पाण्डेले बजारको आवश्यकता र उपभोक्ताको माग हेरेर आगामी दिनमा अन्य ठाउँमा पनि यस्ता केन्द्र खोल्ने योजना रहेको जानकारी दिए ।
वनस्थलीमा नयाँ केन्द्र खुलेपछि संस्थानका आधिकारिक बिक्री केन्द्रको संख्या ८ पुगेको छ ।
बिक्री केन्द्र विस्तारलाई किसानको बजार सुनिश्चित गर्ने र उपभोक्तालाई गुणस्तरीय स्वदेशी उत्पादन पुर्याउने मुख्य माध्यमका रूपमा अघि बढाइएको संस्थानले जनाएको छ ।