इरानले अमेरिकासामु ६ वटा सर्त अघि सार्दै ती पूरा नभएसम्म होर्मुज जलडमरूमध्य नखोल्ने संकेत गरेको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बगर जोल्गाद्रले अमेरिकाले आफ्ना ६ माग पूरा नगरेसम्म होर्मुज जलडमरूमध्य नखोलिने बताएका छन्।
बीबीसी फारसीका अनुसार इरानले राखेका मागमा इरानमाथि लगाइएका प्रतिबन्धमा खुकुलोपन, युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी तत्काल हटाउनुपर्ने, इरानविरुद्धका धम्की रोक्नुपर्ने र देशका जफत गरिएका सम्पत्ति फुकुवा गर्नुपर्ने विषय छन्।
विश्लेषकहरूका अनुसार जोल्गाद्रले यसअघि इरानले राख्दै आएका मागलाई नै ठूलो मात्रामा दोहोर्याएका छन्। तर, उनका पछिल्ला भनाइले वार्ताका क्रममा होर्मुज जलडमरूमध्यलाई लिएर इरानले कडा अडान राखेको संकेत गरेको छ।
इरान र ओमानले होर्मुज हुँदै पानीजहाज आवतजावतका लागि नयाँ व्यवस्थाबारे भएको पछिल्लो छलफललाई ‘सकारात्मक र रचनात्मक’ भनेको बेला यस्तो भनाइ आएको हो।
इरानी विदेशमन्त्री अब्बास अराग्चीले ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्। यद्यपि, उनले सम्झौतामा पुग्दैमा होर्मुज जलडमरूमध्य तत्काल खुल्ने अवस्था नरहेको र जलमार्ग पुन: खोल्नु ‘अन्य सर्तमा निर्भर’ रहने स्पष्ट पारेका छन्।
यसअघि समाचार संस्था रोयटर्सले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै होर्मुज जलडमरूमध्यका विषयमा इरान र ओमानबीच भएको वार्तामा प्रगति भएको र छिट्टै सम्झौता हुने अमेरिकाले अपेक्षा गरेको जनाएको थियो।
ती अधिकारीका अनुसार होर्मुज हुँदै व्यावसायिक पानीजहाजलाई निर्बाध आवतजावत गर्न दिने सुनिश्चिततासहितको सम्झौता घोषणा भएपछि अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउनेछ।