काठमाडौं । ‘प्राथमिक पुँजी बजार विकाससम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरिएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीतिको नियामकीय सुधार कार्य अगाडि बढाउने क्रममा उक्त श्वेतपत्र जारी गरेको हो ।
सार्वजनिक निष्कासन व्यवस्थामा गुणस्तरीय विकासका निम्ति प्राथमिक पुँजी बजारको दीर्घकालीन लक्ष्यसहित श्वेतपत्र जारी गरिएको सेबोनले जनाएको छ ।
उक्त श्वेतपत्रमा नेपालको प्राथमिक पुँजी बजारको विद्यमान अवस्था, कानुनी तथा संस्थागत सीमा र अबको दशकका निम्ति आवश्यक रणनीतिक सुधारका दिशा प्रस्तुत गरिएको छ । साथै, नेपालको प्राथमिक पुँजी बजारलाई पारदर्शी, निष्पक्ष, प्रतिस्पर्धी, दक्ष, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय असल अभ्यासअनुकूल बनाउन नीतिगत, कानुनी, संस्थागत र कार्यान्वयनसम्बन्धी एकीकृत रूपरेखा प्रदान गरिएको छ ।
योसँगै श्वेतपत्रमा नेपालको हालसम्मको प्राथमिक बजारको नियमन सम्बन्धमा भएका काम–कारबाही, वर्तमान पुँजी बजारको अवस्था, समस्या, चुनौती तथा समाधान, अबको रणनीति, अन्तर्राष्ट्रिय व्यवस्था एवं अनुभवलगायत विवरण समेत समावेश गरिएको छ ।
दीर्घकालीन दृष्टिकोण तय गर्दै प्राथमिक बजार सुधारका निम्ति तीनचरणीय कार्यान्वयन रणनीति श्वेतपत्रमार्फत अघि सारिएको छ । पहिलो चरणमा एक वर्षभित्र नीतिगत तथा कानुनी सुधार, दोस्रो चरणमा एकदेखि दुई वर्षभित्र संस्थागत तथा प्रविधिगत सुदृढीकरण र तेस्रो चरणमा दुईदेखि पाँच वर्षभित्र उन्नत बजार विकास गर्ने कार्यान्वयन योजना राखिएको छ ।
यस्तै, निष्कासन तथा बिक्री प्रबन्धक, लेखापरीक्षक र क्रेडिट रेटिङ संस्थाहरूको ड्यु डेलिजेन्स दायित्व स्पष्ट गर्दै थप प्रभावकारी र उत्तरदायी बनाउने लक्ष्य समेत श्वेतपत्रमा छ ।
आईपीओ प्रणालीको सुधारमा मात्र सीमित नरही राष्ट्रिय पुँजी निर्माण, निजी क्षेत्रको प्रतिस्पर्धात्मक विकासमार्फत यसलाई नेपालको समग्र आर्थिक रूपान्तरणको रणनीतिक आधारपत्रका रूपमा कार्यान्वयनमा ल्याउने विश्वास बोर्डले लिएको छ ।
आउँदा दिनमा सरोकारवालासँग निरन्तर परामर्श गर्दै प्रस्ताव गरिएका सुधारलाई चरणबद्ध रूपमा नीतिगत, कानुनी, प्रक्रियागत तथा प्रविधि सुधारमार्फत कार्यान्वयनमा ल्याइनेछ ।
सार्वजनिक गरिएको श्वेतपत्रबाट लगानीकर्ताको प्राथमिक बजारमा सहभागिता तथा साक्षरता अभिवृद्धि एवं प्राथमिक बजारका उपकरणको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बोर्डको भनाइ छ ।
यसबाट नेपालको प्राथमिक पुँजी बजारको विकास तथा गुणात्मक सुधार भई आर्थिक रूपान्तरणका निम्ति आवश्यक दीर्घकालीन पुँजी परिचालनमा समेत योगदान पुग्ने बोर्डले जनाएको छ ।