काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा १२ करोड २८ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३ करोड ३ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको संस्थाको नाफा एक वर्षमा ३०४.६० प्रतिशतले वृद्धि भएको हो।
संस्थाको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिमा कालिका लघुवित्तले ४७ करोड ९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
अघिल्लो आवमा यस्तो आम्दानी ३५ करोड ६७ लाख ३१ हजार रुपैयाँ थियो। त्यस्तै, संस्थाको कुल सञ्चालन आम्दानी ५४ करोड २४ लाख ८३ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष ४० करोड ८५ लाख ७५ हजार रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी १३ करोडभन्दा बढीले बढेको हो। सञ्चालन नाफा पनि ८ करोड २३ लाख १ हजार रुपैयाँबाट बढेर १८ करोड १८ लाख ३ हजार रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा संस्थाको खुद शुल्क तथा कमिसन आम्दानी भने घटेको छ। अघिल्लो आवमा ४ करोड ८८ लाख १२ हजार रुपैयाँ रहेको यस्तो आम्दानी गत आवमा ७८ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ। नाफामा भएको उल्लेख्य वृद्धिसँगै संस्थाको वितरणयोग्य नाफा ८ करोड २३ लाख ३९ हजार रुपैयाँ पुगेको छ। यस आधारमा लघुवित्तको लाभांश क्षमता १९.६८ प्रतिशत रहेको छ।
कालिका लघुवित्तको चुक्ता पुँजी ४४ करोड ८४ लाख ६१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ करोड २३ लाख ५ हजार रुपैयाँ सञ्चित छ। संस्थाको कुल सम्पत्ति पनि अघिल्लो वर्षको ५ अर्ब २५ करोड रुपैयाँबाट बढेर ५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। यद्यपि, संस्थाको निष्क्रिय कर्जा (एनपीएल) अनुपातमा भने दबाब देखिएको छ। अघिल्लो आवमा ८.२७ प्रतिशत रहेको एनपीएल बढेर गत आवमा ९.७८ प्रतिशत पुगेको छ। यसले संस्थाको सम्पत्ति गुणस्तरमा चुनौती बढेको संकेत गर्छ।
गत असार मसान्तसम्म कालिका लघुवित्तको निक्षेप २ अर्ब ३ करोड ६९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सापटी २अर्ब ७९ करोड ३५ लाख रुपैयाँ र कर्जा लगानी ५अर्ब ३४ करोड ६ लाख रुपैयाँ रहेको छ। अघिल्लो आवमा निक्षेप १ अर्ब ६६ करोड २५ लाख, सापटी २ अर्ब ७९ करोड १७ लाख र कर्जा लगानी ४ अर्ब ७५ करोड ४५ लाख रुपैयाँ थियो। नाफामा भएको वृद्धिसँगै संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य बढेको छ। अघिल्लो वर्ष ७.४५ रुपैयाँ रहेको ईपीएस गत आवमा बढेर २७.४० रुपैयाँ पुगेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १७८.७३ रुपैयाँ र मूल्य–आम्दानी अनुपात (पीई रेसियो)२८.२० गुणा रहेको छ।
पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्तको वित्तीय विवरणले नाफा, ब्याज आम्दानी तथा सञ्चालन नाफामा उल्लेख्य सुधार देखाए पनि बढ्दो निष्क्रिय कर्जालाई भने आगामी दिनमा व्यवस्थापन गर्नुपर्ने सार्वजनिक वित्तीय विवरणले देखाएको छ।