काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २९.०८ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष कम्पनीले ६१ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि १७.३१ प्रतिशतले बढेर १ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ३० करोड रुपैयाँ थियो।
नाफा वृद्धिमा विद्युत बिक्री आम्दानी बढ्नुका साथै ब्याज खर्च घट्नु र बीमा दाबीबापत रकम प्राप्त हुनु प्रमुख कारण देखिएको छ। कम्पनीको ब्याज खर्च २४ करोड ४३ लाख रुपैयाँबाट घटेर २० करोड १९ लाख रुपैयाँमा झरेको छ। यस्तै, कम्पनीले बीमा दाबीबापत ९ लाख रुपैयाँ प्राप्त गरेको छ।
कम्पनीको सञ्चालन मुनाफा पनि ८९ करोड १८ लाख रुपैयाँबाट बढेर १ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड ३२ लाख रुपैयाँ र रिजर्भ १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। चुक्ता पुँजीका आधारमा कम्पनीसँग करिब २५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ।
यद्यपि, मनाङमा ६५ मेगावाट क्षमताको दूधखोला आयोजना निर्माणको तयारी रहेकाले कम्पनीले नगदभन्दा बोनस सेयरलाई प्राथमिकता दिन सक्ने अनुमान गरिएको छ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ। आर्थिक वर्ष २०८१/८२ को नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी बढाएपछि पनि कम्पनीले प्रतिशेयर आम्दानी (ईपीएस) २५ रुपैयाँभन्दा माथि कायम गर्न सफल भएको छ।
कम्पनीको ईपीएस २३.७२ रुपैयाँबाट बढेर २५.५२ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५०.७८ रुपैयाँ रहेको छ।माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाट क्षमताको ताँदीखोला हाइड्रो परियोजनाबाट नियमित विद्युत उत्पादन भइरहेको छ।
साथै, कम्पनीले मनाङमा ६५ मेगावाटको दूधखोला आयोजना निर्माणको तयारी अघि बढाएको छ र आयोजनाका लागि हालै वित्तीय व्यवस्थापनसमेत सम्पन्न गरेको छ।