काठमाडौं । निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले नयाँ प्रिमियम एसयूभी ‘निसान टेकटन’ नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरेको छ ।
निसान टेकटन ‘डिजाइन्ड टु डिस्रप्ट’ अवधारणामा आधारित रहेको कम्पनीले जनाएको छ । गत जुलाई ९ मा भारतको मुम्बईमा सम्पन्न विश्वव्यापी सार्वजनिक प्रदर्शनपछि दक्षिण एसियाली बजारमा ल्याइएको यस एसयूभीले निसानको ७५ वर्ष लामो एसयूभी विरासतलाई नयाँ स्वरूपमा प्रस्तुत गर्ने कम्पनीको दाबी छ ।
निसानको फ्ल्यागशिप एसयूभी निसान पेट्रोलबाट प्रेरित टेकटनमा बोल्ड तथा मस्कुलर डिजाइन, आकर्षक बडी लाइन, अपराइट स्टान्स, सिग्नेचर सी–सेप्ड एलईडी लाइटिङ तथा होरिजन्टल फ्रन्ट डिटेलिङ राखिएको छ । यसले सहरी सडकदेखि पहाडी राजमार्गसम्म प्रभावशाली उपस्थिति दिने गरी एसयूभी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
टेकटनको भित्री भागमा टेक–लिङ्क एचडी इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ । यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता कनेक्टिभिटी सुविधाहरू रहेका छन् । इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्रुज कन्ट्रोल, रियर–भ्यू क्यामेरा, ई–सिफ्टर तथा प्रिमियम इन्टेरियर फिनिसले यात्रालाई थप सहज र आरामदायी बनाउने कम्पनीको भनाइ छ ।
नयाँ एसयूभीमा ७०० लिटरसम्मको बुट स्पेस, ६ वटा एयरब्याग तथा ३६० डिग्री क्यामेरा लगायतका सुरक्षा तथा सुविधा प्रविधि उपलब्ध छन् । इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट र ब्लाइन्ड स्पट वार्निङजस्ता उन्नत चालक सहायता प्रणालीले थप सुरक्षित तथा आत्मविश्वासी ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ ।
पावरट्रेनतर्फ निसान टेकटन टर्बो टी१६० र टर्बो टी२८० गरी दुई विकल्पमा उपलब्ध हुनेछ । यसले अधिकतम १६३ पीएस पावर र २८० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
विशेषगरी टर्बो टी२८० भेरियन्टमा ६–स्पीड वेट–क्लच डुअल क्लच ट्रान्समिसन र ई–सिफ्टर उपलब्ध रहेको छ, जसले सहज गियर परिवर्तन, राम्रो नियन्त्रण र आत्मविश्वासी ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सहभागी आगन्तुकहरूले निसान टेकटनलाई प्रत्यक्ष अवलोकन गर्नुका साथै यसको विशेषता तथा प्रविधिबारे जानकारी लिन र निसानका उत्पादन विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्नेछन् ।