काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा गरी अद्यावधिक गर्न आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा भएको व्यवस्थाअनुसार बैंकका खातावालाले राष्ट्रिय परिचयपत्र भए वा नभएको विवरण स्वघोषणा गरी अद्यावधिक गर्नुपर्ने भएकाले बैंकले ग्राहकलाई यस्तो आग्रह गरेको हो ।
बैंकले ग्राहकलाई २०८३ असोज मसान्तभित्र राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ ।
बैंकका अनुसार ग्राहकले मोबाइल बैंकिङ एप मोबैंक मार्फत सहजै विवरण अद्यावधिक गर्न सक्नेछन् । त्यसका लागि मोबैंकमा लगइन गरी बैंकिङ सर्भिसेस अन्तर्गत रहेको अपडेट एनआईडी विकल्प प्रयोग गर्न सकिनेछ ।
त्यस्तै, बैंकको वेबसाइटमा उपलब्ध आईसर्भ सेवामार्फत पनि राष्ट्रिय परिचयपत्र भए/नभएको विवरण स्वघोषणा तथा अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।
विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसेर अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेकका आवश्यक कागजातका आधारमा बैंक खाता खोल्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ । यसरी खाता खोलेका ग्राहक नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने बैंकले जनाएको छ ।