काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले अटोमोबाइल क्षेत्र उद्योग, व्यवसाय, प्रविधि र उपभोक्तालाई जोड्ने महत्वपूर्ण माध्यम भएको बताए ।
उनले यस्ता प्रदर्शनीले बजारमा नयाँ प्रविधिबारे जानकारी गराउनुका साथै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा रहेका भावी सम्भावनालाई उजागर गर्ने बताए ।
विगत केही वर्षदेखि नेपालको अर्थतन्त्र अपेक्षाअनुसार अघि बढ्न नसकेको उल्लेख गर्दै पाण्डेले आर्थिक मन्दीको असर निजी क्षेत्रसँगै सरकारी राजस्व, रोजगारी, उत्पादन, व्यापार तथा समग्र आर्थिक गतिविधिमा परेको बताए ।
पछिल्लो समय अर्थतन्त्रमा देखिन थालेका सकारात्मक गतिविधि भने स्वागतयोग्य रहेको उनको भनाइ छ ।
अटोमोबाइल क्षेत्रले सरकारलाई महत्वपूर्ण राजस्व योगदान गर्नुका साथै ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने क्षमता राख्ने पाण्डेले बताए । यो क्षेत्र निर्माण, पूर्वाधार, ऊर्जा, वित्तीय सेवा, बीमा, पर्यटन तथा यातायातलगायत क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको उनको भनाइ छ ।
‘अटोमोबाइल तथा मोबिलिटी क्षेत्र सरकारलाई महत्वपूर्ण राजस्व योगदान गर्ने र ठूलो रोजगारी सिर्जना गर्ने क्षमता भएको क्षेत्र हो । यो निर्माण, पूर्वाधार, ऊर्जा, वित्तीय सेवा, बीमा, पर्यटन तथा यातायातजस्ता क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ,’ उनले भने ।
सरकारले चालु आर्थिक वर्षका लागि लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च उल्लेखनीय रूपमा बढाउनुपर्ने पाण्डेले बताए ।
पुँजीगत खर्च बढ्दा सडक, पुल, ऊर्जा, यातायात तथा सहरी पूर्वाधारको विकास तीव्र हुने र त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रका अन्य क्षेत्रमा समेत पर्ने उनको भनाइ छ ।
‘चालु आर्थिक वर्षका लागि सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य हासिल गर्न पुँजीगत खर्च उल्लेखनीय रूपमा बढाउन आवश्यक छ,’ उनले भने ।
पाण्डेले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने नेपाल उद्योग परिसंघको स्पष्ट धारणा रहेको बताए ।
उनका अनुसार अटोमोबाइल एक्स्पो व्यापार प्रवद्र्धन गर्ने माध्यम मात्र नभई उपभोक्ताको विश्वास बढाउने, नयाँ प्रविधि भित्र्याउने तथा विद्युतीय र हरित मोबिलिटीलाई प्रोत्साहन गर्ने माध्यम पनि हो ।
नेपालको सबैभन्दा ठूलो शक्ति युवा जनशक्ति रहेको उल्लेख गर्दै अध्यक्ष पाण्डेले युवा पलायन रोक्न स्वदेशमै गुणस्तरीय रोजगारी सिर्जना गर्नुपर्ने बताए ।
उद्योग, पूर्वाधार, सूचना प्रविधि, हरित ऊर्जा, पर्यटन, कृषि प्रशोधन तथा मोबिलिटी क्षेत्रमा लगानी विस्तार गर्न सके ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकिने उनले बताए ।
‘हरेक वर्ष हजारौँ युवा विदेशिन बाध्य भइरहेका छन् । उद्योग, पूर्वाधार, सूचना प्रविधि, हरित ऊर्जा, पर्यटन, कृषि प्रशोधन र मोबिलिटी क्षेत्रमा लगानी विस्तार गर्न सके स्वदेशमै ठूलो संख्यामा गुणस्तरीय रोजगारी सिर्जना गर्न सकिन्छ,’ उनले भने ।
यसका लागि स्थिर सरकार, नीतिगत स्थिरता, कानुनी सुधार तथा लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने निजी क्षेत्रको माग रहेको उनले स्पष्ट पारे ।
पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा दिगो लगानी बढाउँदै निजी क्षेत्रको विस्तार र औद्योगिकीकरणलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै पाण्डेले यसले दीर्घकालीन आर्थिक रूपान्तरण, रोजगारी सिर्जना तथा समृद्धिको आधार बलियो बनाउने बताए ।
एक्स्पोले व्यापार प्रवद्र्धन मात्र नभई उपभोक्ताको विश्वास बढाउन तथा हरित र विद्युतीय मोबिलिटीलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत उनले व्यक्त गरे ।