काठमाडौं। फ्लेम अवाड्र्स एसिया २०२६ मा नेपाली विज्ञापन तथा मार्केटिङ एजेन्सीहरूले उत्कृष्ट प्रदर्शन गर्दै १७ वटा अवार्ड जितेका छन्। नेपालका पाँच एजेन्सीले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै १३ गोल्ड, ३ सिल्भर र १ ब्रोन्ज अवार्ड हात पारेका हुन्।
अवार्ड समारोह गत ७ अगस्टमा भारतको नयाँ दिल्लीस्थित ताज भिभान्त, द्वारकामा आयोजना भएको थियो। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका लागि नेपाली एजेन्सीहरूले तयार गरेका सिर्जनात्मक अभियानले अवार्ड जितेका हुन्।
फ्लेम अवाड्र्स एसिया भारत तथा एसियाका उदीयमान बजारमा उत्कृष्ट मार्केटिङ तथा सञ्चार अभियानलाई सम्मान गर्ने क्षेत्रीय अवार्ड हो। उपभोक्ता अन्तर्दृष्टि, नवीनता, सिर्जनशीलता, प्रविधिको प्रयोग, समुदायसँगको संलग्नता तथा अभियानले पारेको मापनयोग्य प्रभावलाई मूल्यांकनको मुख्य आधार बनाइन्छ।
यसपटक नेपालबाट आउटरीच नेपाल, लेमन र डिजिटल इनले सर्वाधिक अवार्ड जितेका छन्। यी तीनसँगै स्टर्म कम्युनिकेसन नेपाल र म्मण् ल्याब्सले पनि विभिन्न विधामा अवार्ड प्राप्त गरेका छन्।
नेपालका एजेन्सीहरूले भारतसहित दक्षिण एसियाका स्थापित एजेन्सी तथा संस्थासँग प्रतिस्पर्धा गर्दै उक्त सफलता हासिल गरेका हुन्। यसले नेपाली क्रिएटिभ, डिजिटल, इभेन्ट तथा एक्टिभेसन क्षेत्रमा काम गर्ने संस्थाहरूले क्षेत्रीय स्तरमा समेत प्रतिस्पर्धात्मक क्षमता प्रदर्शन गर्न सक्ने देखाएको छ।
यस वर्षको अवार्डका लागि भारत, बंगलादेश, नेपाल, भियतनाम, फिलिपिन्स र श्रीलंकालगायत देशका ४० भन्दा बढी जुरी सदस्यले विभिन्न विधामा प्राप्त आवेदन मूल्यांकन गरेका थिए। जुरीको नेतृत्व सन्तोष देसाइले गरेका थिए।
आउटरीच नेपालका संस्थापक तथा एडभर्टाइजिङ एसोसिएसन अफ नेपाल (आन) का फस्र्ट भाइस प्रेसिडेन्ट उज्ज्वल शाक्यले नेपाली मार्केटिङ तथा सञ्चार उद्योगका लागि यो उपलब्धि गर्वको विषय भएको बताएका छन्।
उनले भने, ‘यो नेपालको लागि गर्वको क्षण हो। हाम्रो मार्केटिङ कम्युनिकेसन्स उद्योगमा रहेको प्रतिभा, क्रिएटिभिटी र महत्वाकांक्षाको राम्रो पहिचान हो। यो उपलब्धि हाम्रो टिम, आइडियाजलाई विश्वास गर्ने विज्ञापनदाता तथा पार्टनरको सामुहिक प्रयास हो।’
फ्लेम अवाड्र्स एसियामा नेपाली एजेन्सीहरूको यसपटकको सफलताले क्षेत्रीय बजारमा नेपाली सिर्जनात्मक उद्योगको सम्भावना र क्षमतालाई थप उजागर गरेको छ। विशेषगरी नयाँ पुस्ताका क्रिएटिभ तथा मार्केटिङ क्षेत्रमा आबद्ध जनशक्तिको प्रतिभालाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा प्रस्तुत गर्ने अवसरसमेत यस उपलब्धिले बलियो बनाएको छ।
नेपालले यसपटक १७ अवार्ड जित्दा १३ वटा गोल्ड, तीनवटा सिल्भर र एउटा ब्रोन्ज समावेश छन्।