काठमाडौं । महिन्द्राले आफ्नो प्रिमियम इलेक्ट्रिक ‘एसयूभी एक्सईभी नाइन एस’ नेपालमा सार्वजनिक गरेको छ ।
नाइमा मोबिलिटी एक्स्पोको पूर्वसन्ध्यामा महिन्द्राले नयाँ विद्युतीय एसयूभी नेपाली बजारमा उतारेको हो । यसको भेरियन्टअनुसार सुरुवाती मूल्य ६० लाख रुपैयाँ राखिएको छ ।
भेरियन्टअनुसार अन्य मूल्य निर्धारण गरिएको छ । एक्सईभी ९एस महिन्द्राको नयाँ पुस्ताको इलेक्ट्रिक एसयूभी हो ।
ठूलो आकार, आधुनिक डिजाइन, प्रिमियम इन्टेरियर र अत्याधुनिक प्रविधिका कारण यो मोडल महिन्द्राको इलेक्ट्रिक पोर्टफोलियोमा महत्त्वपूर्ण उत्पादनका रूपमा हेरिएको छ ।

महिन्द्राले एक्सईभी ९एसलाई विशेषगरी प्रिमियम एसयूभी सेग्मेन्टलाई लक्षित गरेर विकास गरेको हो । यसमा ठूलो ब्याट्री प्याक, लामो रेन्ज, फास्ट चार्जिङ तथा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) लगायतका प्रविधि उपलब्ध छन् ।
यसमा ५९ र ७९ किलोवाट आवर क्षमताका ब्याट्री विकल्प छन् । मोटर पावर १७० र २१० किलोवाट क्षमताको छ । पूर्ण चार्जमा क्रमश: ३५० र ४५० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यो रियर ह्वील ड्राइभ पावरट्रेनमा उपलब्ध छ । यसमा पाँचवटा ड्राइभिङ मोड रहेका छन् ।