काठमाडौं । हिजो देखि सुरू भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ लाई लक्षित गर्दै बैंकहरुले अटो कर्जामा विभिन्न अफर सार्वजनिक गरेका छन् ।
यो कार्यक्रमलाई लक्षित गर्दै विभिन्न बैंकहरुले सवारी कर्जामा आकर्षक योजना सार्वजनिक गरेका छन् ।
बिशेषगरी बैंकहरुले ब्याजदर सस्तो बनाएका छन् । कतिपयले भने पुरानै कर्जा योजनालाई निरन्तर दिएको बताएका छन् ।
गत बर्ष स्थापना भएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) सुरु गरेको अटो शो साउन ३१ गते आउँदो आइतबार सम्म हुँदैछ ।
विगत दुई–तीन बर्षदेखि नै बैंकहरुमा कर्जाको माग सुस्त छ, जुन अवस्था अहिले पनि कायमै छ । त्यो अवस्थामा बैंकहरू कर्जा प्रवाह बढाउनका लागि यी दुई मेलालाई ठूलो अवसरको रुपमा लिएका छन् ।
सामान्यत: गाडीको मूल्य उच्च हुने हुँदा ग्राहकले सतप्रतिशत मूल्य नै भुक्तानी गर्न चुनौती हुन सक्छ । त्यस अवस्थामा उनीहरुले आंशिक भुक्तानी (डाउन पेमेन्ट) गरेर बाँकी भने बैंकबाट फाइनान्सीङ गराउँछन् । बैंकहरुले सामान्यत: ६०:४० अनुपातमा ऋण दिने गरि योजना ल्याएका छन् ।
अर्थात् गाडीको मूल्यको ६० प्रतिशत बराबरमा ऋण दिनेछन् । नाइमा मेलामा न्यूनतम् २९ लाखदेखि अधिकतम तीन करोड ८० लाखसम्मका गाडी छन् ।
कार्यक्रमलाई नै लक्षित गरेर विभिन्न स्कीम ल्याएका छन् । बैंकहरुले स्थिर ब्याजदर र अस्थिर ब्याजदरका लागि फरक–फरक दर तोकेका छन् ।
ग्लोबल आईएमई बैंकले न्यूनतम् ५.२५% ब्याजदरमा ऋण दिने
ग्लोबल आईएमई बैंकले नाइमा अटो एक्स्पोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधार दरमा न्यूनतम् शून्य दशमलव पाँच प्रतिशत प्रिमियम थपेर कर्जा पाउने छन् ।

जसअनुसार, हालको आधार दरमा न्यूनतम् ब्याजदर ५.२५ प्रतिशत ब्याजदर कायम हुन्छ । बैंकको आधार दर घटबढ भए अनुसार यो कर्जाको ब्याजदर पनि स्वत: समायोजन हुनेछ । साथै, बैंकले नाइमा अटो एक्सपोमा नयाँ इभी गाडी किन्ने ग्राहकहरूको लागि ३ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदरको योजना ल्याएको छ । ३ वर्ष पश्चात् उक्त कर्जाको दर बैंकको आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुनेछ ।
साथै, ग्लोबल आईएमई बैंकले नाइमा अटो एक्सपोमा आफ्नो स्टल राखी गाडी किन्न इच्छुक ग्राहकहरूलाई कर्जा प्रकृया अगाडि बढाउने व्यवस्था गरेको छ । बैंकको उक्त स्टलबाटै पनि ग्राहकले कर्जाको आवेदन दिन मिल्ने व्यवस्था बैंकले गरेको छ । ग्राहकहरूले कागजपत्र पुरा गरे पश्चात् बैंकले गाडी किन्नको लागि अधिकतम तीन दिन मै स्वीकृतिपत्र समेत प्रदान गर्नेछ ।
एनएमबि बैंकमा पनि अफर
नाइमा एक्स्पोको अवसरमा एनएमबि बैंकले पनि आकर्षक योजना ल्याएको छ । बिशेषगरी विद्युतीय गाडी (इभी) का लागि बैंकले आकर्षक योजना ल्याएको हो ।
बैंकले नयाँ इभी खरिदका लागि दिइने कर्जामा आधार दरमा ०.५ प्रतिशत मात्रै प्रिमियम दर थपेर ब्याजदर निर्धारण गर्ने स्कीम ल्याएको छ । यो न्यूनतम् सीमा हो । कार्यक्रममा बैंकको स्टल समेत रहेको छ । त्यहाँ गएर पनि यसबारे जानकारी लिन सकिनेछ । कर्जा प्रक्रियालाई सरल र छिटो बनाइएको तथा ग्राहकको सुविधालाई प्राथमिकता दिइएको बैंकले जनाएको छ।

सिद्धार्थले एक प्रतिशत प्रिमियम थप गरेर ब्याज निर्धारण गर्ने
सिद्धार्थ बैंकले पनि नाइमा एक्स्पोलाई लक्षित गरेर अटो कर्जा योजना ल्याएको छ । उक्त बैंकले आधार दरमा एक प्रतिशत मात्रै प्रिमियम थप गरेर ब्याजदर निर्धारण गर्ने बताएको छ । साथै, सेवा शुल्क तथा प्रक्रिया खर्च बापत ०.५ प्रतिशत लिने बताएको छ । यो बैंकले पनि आफ्नो स्टल राखेको छ ।

नेपाल बैंक
नेपाल बैंकले पनि न्यूनतम् पाँच प्रतिशतमा अटो लोन दिने योजना ल्याएको छ । बैंकले ६० प्रतिशतसम्म फाइनान्सीङ गर्ने गरि यो योजना ल्याएको छ । पाँच देखि सात बर्षसम्मका लागि कर्जा सुविधा दिने बैंकको भनाइ छ ।

नेपाल इन्भेष्टमेन्ट मेगामा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि अटो कर्जामा अफर ल्याएको छ । आधार दरमा ०.५ प्रतिशत मात्रै प्रिमियम थप गरेर ब्याजदर निर्धारण गर्ने यो बैंकको योजना छ । यो न्यूनतम् दर हो ।

कृषि विकास बैंकमा ३३.३३ प्रतिशत छुट
यता सरकारी स्वामित्वको कृषि विकास बैंकले ब्याज प्रिमियम र सेवा शुल्कमा ३३.३३ प्रतिशत छुट दिने योजना ल्याएको छ । छिटो र सरल प्रक्रियामा सात बर्षका लागि ऋण दिने बैंकको योजना छ ।

प्रभु बैंकमा ०.५० प्रतिशत मात्रै प्रिमियम
प्रभु बैंकले पनि आधार दरमा ०.५० प्रतिशत मात्रै प्रिमियम थप गरेर अटो लोन दिने योजना ल्याएको छ । प्रभु बैंकले बिगतदेखि नै यो योजना सञ्चालन गर्दै आएको छ । यो बैंकले निर्धारण गरेको न्यूनतम् दर हो ।

मुक्तिनाथमा ५.५७ प्रतिशतमा ऋण
मेलाको अवसर पारेर मुक्तिनाथ विकास बैंकले पनि ५.५७ प्रतिशतमै ऋण दिने योजना ल्याएको छ । नाइमा मोबिलिटी एक्स्पोको अवसरमा बैंकले बेस रेट +० प्रतिशतको विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो ।
यस योजना अन्तर्गत हाल बैंकको अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ । नाइमा एक्स्पो २०२६ को अवसरलाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना भदौ मसान्त २०८३ सम्म लागू हुनेछ ।
उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ । ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजातहरू पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ । यसले ग्राहकलाई आफ्नो रोजाइको सवारी साधन खरिद गर्न सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले पनि आकर्षक ब्याजदरमा ऋण दिने भन्दै सूचना प्रकाशन गरेको छ । यी त प्रतिनिधि उदाहरण हुन् । नेपालमा सञ्चालित सबै बैंकले अटो लोन प्रोडक्ट सञ्चालन गर्दै आएका छन् । त्यसमा कतिपय नाइमा एक्स्पोका लागि नै भनेर योजना ल्याएका छन् । समग्रमा ग्राहकले सबै बैंकबाट अटो कर्जाको सुविधा पाउन सक्नेछन् ।