काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन उत्पादन कम्पनी वुलिङको लोकप्रिय सानो विद्युतीय कार ‘मिनी इभी’ नेपालमा सार्वजनिक भएको छ ।
प्यारामाउन्ट मोटर्सले नाइमा मोबिलिटी एक्स्पोमा मिनी इभीलाई लन्च गरेको हो ।
चार सिट क्षमताको मिनी इभीको लङ रेन्ज संस्करणले एकपटक पूर्ण चार्जमा ३०१ किलोमिटरसम्मको दूरी तय गर्ने कम्पनीको दाबी छ । यसको स्ट्यान्डर्ड रेन्ज संस्करणले भने २०५ किलोमिटर रेन्ज दिन्छ ।
लङ रेन्ज संस्करणमा २५.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ । स्ट्यान्डर्ड रेन्जमा १६.२ किलोवाट आवरको ब्याट्री उपलब्ध छ ।
मिनी इभीमा ३० किलोवाट क्षमताको विद्युतीय मोटर प्रयोग गरिएको छ। यसमा पछाडिको पाङ्ग्राबाट शक्ति संचालन हुने व्यवस्था छ। गाडीमा इकोनोमी, स्ट्यान्डर्ड र स्पोर्टस् गरी विभिन्न ड्राइभिङ मोड उपलब्ध छन् ।
मिनी इभीको लामो रेन्ज संस्करणमा डीसी फाष्ट चार्जिङ सुविधा दिइएको छ । ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३५ मिनेट लाग्ने कम्पनीले जारी गरेको विवरणमा उल्लेख छ ।

सानो आकार भए पनि मिनी इभीमा उपयोगितालाई प्राथमिकता दिइएको छ । पछाडिका सिट फोल्ड गर्दा यसको सामान राख्ने क्षमता ८३८ लिटरसम्म पुग्ने भनिएको छ।
गाडीको लम्बाइ ३,२६८ मिलिमिटर, चौडाइ १,५२० मिलिमिटर र उचाइ १,५७५ मिलिमिटर रहेको छ। यसको ह्विलबेस २,१९० मिलिमिटर छ।
मिनी इभीमा सुरक्षाका लागि अगाडि एयरब्याग, रिभर्सिङ क्यामेरा, पछाडि पार्किङ सेन्सर, विद्युतीय स्थिरता नियन्त्रण, ट्र्याक्सन जस्ता फिचर छन् ।
वुलिङले मिनी इभीलाई सहर केन्द्रित प्रयोगका लागि डिजाइन गरेको छ । सानो आकार, चार सिट, कम पार्किङ स्थान आवश्यक पर्ने डिजाइन र लामो रेन्जका कारण यो मोडल विशेषगरी सहरी विद्युतीय कार बजारमा लक्षित देखिन्छ।
मिनी इभीको मूल्य दुईवटा भेरियन्टमा २१ लाख र २३ लाख रुपैयाँ राखिएको छ । नाइमा एक्स्पो अफरमा भने यी गाडीको मूल्य १९ लाख ९९ हजार र २१ लाख ९९ हजार रुपैयाँ राखिएको छ।