काठमाडौं । भाटभटेनीको भक्तपुर स्टोर भोलिदेखि चौबीसै घण्टा खुल्ने भएको छ । भाटभटेनीले आफ्ना स्टोर्सहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा सञ्चालनको तयारी गरेको छ ।
सोहीअनुसार पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट सुरु गर्न लागिएको भाटभटेनीले जनाएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बुधबारदेखि परीक्षणको काम गरिएको बताउँदै भोलि भदौ १ गतेदेखि चौबीसै घण्टा खोल्ने निर्णय भएको बताए ।
विश्वमा यस्ता स्टोरहरु चौबीसै घण्टा खुल्ने बताउँदै गुरुङले भाटभटेनी पनि सोहीअनुसार सञ्चालनको तयारी गरिएको बताए । बुधबारदेखि नै परीक्षण गरिएको र सफल भएको बताउँदै उनले भोलिदेखि औपचारिकरुपबाटै खुल्ने बताए ।
अहिलेसम्म बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म खुला रहँदै आएको भए पनि चौबीसै घण्टा खुला राख्दा ग्राहकलाई नै सहज हुने भाटभटेनीको विश्वास छ ।
अध्यक्ष मीनबहादुर गुरुङका अनुसार राति काम गर्ने कर्मचारीले नियमित तलबभन्दा २५ प्रतिशत बढी रकम प्राप्त गर्नेछन् । राति चिया खाजाको पनि व्यवस्था गरिएको छ ।उनले भक्तपुरबाट सुरु भएको यो सेवा देशभरका स्टोरमा पुर्याउने लक्ष्य राखिएको छ ।
भाटभटेनी मुलुकको सबैभन्दा ठूलो चेन स्टोर हो । गतवर्ष जेनजी आन्दोलनअघिसम्म कम्तिमा पनि २८ वटा स्टोरबाट सेवा दिइरहेको भाटभटेनीका १२ बढी स्टोरमा आगजनी भएको थियो ।
आगजनी गरिएकामध्ये अधिकांश स्टोर सञ्चालनमा आइसकेका छन् । अहिले बिहानदेखि बेलुकासम्म मात्रै खुला राख्दा ट्राफिक व्यवस्थापनको पनि समस्या भोग्नुपरेको छ ।