काठमाडौं । पाँच महिना भन्दा लामो विदेश उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दु भएको सार्वजनिक रूपमा स्पष्ट गरेपछि नेपाली राजनीतिमा नयाँ बहस सुरु भएको छ ।
कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष चुलिएका बेला देउवाले धार्मिक पहिचानबारे दिएको अभिव्यक्ति र उनको समूहले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेपछि यसलाई व्यक्तिगत धार्मिक आस्थाको अभिव्यक्तिका रूपमा मात्रै नभई राजनीतिक अर्थसहित हेरिएको छ ।
कांग्रेस इतर समूहको राष्ट्रिय भेलाको समापनका क्रममा धर्मबारे प्रश्न उठेपछि देउवाले आफू हिन्दु भएको पटक–पटक दोहोर्याएका थिए । उनले आफ्नो विवाह र व्रतबन्धसमेत हिन्दु परम्पराअनुसार भएको बताए ।
“मेरो व्रतबन्ध र विवाह पनि हिन्दु परम्परा अनुसार भएको हो । म मन्दिर जान्छु । त्यसैले म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ ।”
देउवाले आफू अन्य धर्मको विरोधी नभएको स्पष्ट गर्दै आफ्नो धार्मिक पहिचान अभिव्यक्त गर्ने अधिकार आफूलाई पनि हुनुपर्ने धारणा राखे । नेपाल हिन्दु राष्ट्र हुने वा नहुने विषयमा भने उनले अन्तिम निर्णय जनताकै अभिमतबाट हुनुपर्ने संकेत गरेका छन् ।
यसले देउवालाई एकातिर हिन्दु पहिचानको पक्षमा रहेको नेताका रूपमा प्रस्तुत गरेको छ भने अर्कोतिर संविधान र लोकतान्त्रिक प्रक्रियाको सीमाभन्दा बाहिर नगएको सन्देश दिन खोजेको देखिन्छ ।
देउवा समूहबाट सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्ताव
साउन २९ देखि ३१ गते सम्म भएको देउवा पक्षीय भेलाले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव समेत पारित गरेको छ । प्रस्तावमा नेपालमा सदियौँ देखि कायम रहेको धार्मिक सहिष्ण्ॉता, सामाजिक सद्भाव र धार्मिक स्वतन्त्रताको संरक्षण गर्दै हिन्दु, बौद्ध, किराँत तथा प्रकृति धर्मको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रस्तावमा भनिएको छ, “नेपालमा रहिआएको धार्मिक सहिष्ण्ॉता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गर्दै सदियौँदेखि चलिआएको हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता गर्नेछौँ ।” यसलाई कांग्रेसभित्र लामो समयदेखि सनातन हिन्दु राष्ट्रको अभियान चलाउँदै आएका नेता शंकर भण्डारीले ऐतिहासिक कदमका रूपमा व्याख्या गरेका छन् ।
“नेपाली कांग्रेसले ऐतिहासिक रूपमा सनातन हिन्दु राष्ट्रको प्रस्तावलाई स्वीकार गरेको छ । नेपाल सनातनदेखि हिन्दु राष्ट्र थियो र रहन्छ । यसबीचमा केही तलमाथि भएको थियो, त्यसलाई ऐतिहासिक पार्टीले सच्याएको छ ।”
भण्डारीको भनाइले कांग्रेसभित्र धर्मनिरपेक्षता र सनातन हिन्दु राष्ट्रको बहस फेरि सतहमा आएको संकेत गरेको छ । यद्यपि प्रस्तावले प्रत्यक्ष रूपमा ‘नेपाल हिन्दु राष्ट्र हुनुपर्छ’ भन्ने संवैधानिक मागभन्दा ‘सनातन धर्मलाई राष्ट्रिय पहिचान’का रूपमा अघि बढाउने भाषा प्रयोग गरेको छ ।
महत र निधिबीच घोषणापत्रमै विवाद
धर्मसम्बन्धी प्रस्ताव पारित गर्ने क्रममा कांग्रेस नेताहरूबीच विवादसमेत भएको थियो । राष्ट्रिय भेला समापनका क्रममा घोषणापत्रमा ‘हिन्दु’ तथा ‘सनातन धर्म’ सम्बन्धी विषय समेट्ने क्रममा नेता प्रकाशशरण महत र विमलेन्द्र निधिबीच विवाद भएको हो ।
सनातन हिन्दु राष्ट्र अभियानको नेतृत्व गरिरहेका शंकर भण्डारीले देउवालाई सनातन धर्मबारे धारणा राख्न आग्रह गरेका थिए । देउवाको सम्बोधन पछि प्रस्तावमा सनातन धर्मसम्बन्धी विषय समेट्ने प्रक्रिया अघि बढ्दा निधिले हस्तक्षेप गरेका थिए ।
निधिले संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको उल्लेख गर्दै संविधानको मूल भावना विपरीत जाने कुनै पनि विषय घोषणापत्रमा नराख्न आग्रह गरेका थिए । त्यस क्रममा उनले महतलाई प्रस्ताव संशोधनबारे छलफल गर्न भनेपछि वातावरण तनावपूर्ण बनेको थियो ।
विवादका क्रममा निधि र महतबीच भनाभन भएको दृश्य सामाजिक सञ्जालमा समेत चर्चामा आएको छ । निधिले प्रस्ताव सच्याउन खोजेपछि महतसँगै शंकर भण्डारी, दीपक कुइँकेललगायत नेताहरूले निधिलाई आसनमा फर्काउने प्रयास गरेका थिए ।
यो घटनाले कांग्रेसभित्र धर्मनिरपेक्षता, धार्मिक स्वतन्त्रता र सनातन हिन्दु पहिचानको विषयमा मतभिन्नता गहिरो रहेको देखाएको छ ।
देउवाको ‘हिन्दु कार्ड’को राजनीतिक अर्थ
देउवाको अभिव्यक्ति यस्तो समयमा आएको छ, जतिबेला कांग्रेसभित्र आगामी १५औँ महाधिवेशनलाई लिएर नेतृत्वको संघर्ष तीव्र हुँदै गएको छ । त्यसैले उनको ‘म हिन्दु हुँ’ भन्ने सार्वजनिक घोषणालाई व्यक्तिगत आस्थासँगै राजनीतिक रणनीतिको कोणबाट पनि विश्लेषण गर्न थालिएको छ ।
कांग्रेसभित्र लामो समयदेखि हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउँदै आएको एउटा धार छ । देउवाले आफूलाई स्पष्ट रूपमा हिन्दुका रूपमा प्रस्तुत गर्नु र उनकै समूहले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गर्नुले उक्त धारलाई संस्थागत रूपमा सम्बोधन गर्न खोजिएको देखिन्छ ।
विशेषगरी महाधिवेशनको पूर्वसन्ध्यामा धार्मिक पहिचानको मुद्दा उठाउनु देउवाका लागि पार्टी भित्रको आफ्नो राजनीतिक आधार विस्तार गर्ने रणनीति हुन सक्ने विश्लेषण गरिएको छ । लामो समय पार्टीको नेतृत्व गरेका देउवाले आफ्नो परम्परागत राजनीतिक छविलाई नयाँ सामाजिक भावनासँग जोड्ने प्रयास गरेको अर्थमा समेत यसलाई लिन सकिन्छ ।
हिन्दु राष्ट्रको बहसमा कांग्रेसको नयाँ प्रवेश
नेपालमा पछिल्लो समय हिन्दु राष्ट्रको पक्ष र विपक्षमा बहस फेरि तीव्र हुँदै गएको छ । राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा उठाउँदै आएका राप्रपा लगायतका शक्तिहरूले यही मुद्दालाई आफ्नो प्रमुख राजनीतिक आधार बनाउँदै आएका छन् ।
अब कांग्रेसभित्रै प्रभावशाली नेताको नेतृत्वमा सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव आएपछि हिन्दु राष्ट्रको मुद्दामा कांग्रेसको प्रवेश भएको सन्देश गएको छ । यसले राप्रपा लगायत हिन्दु राष्ट्रको एजेन्डामा केन्द्रित दलहरूको राजनीतिक स्पेसमा समेत असर पार्न सक्छ ।
त्यसैगरी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता दललाई पनि आगामी निर्वाचनमा धार्मिक पहिचानको विषयमा आफ्नो धारणा स्पष्ट पार्न दबाब बढ्न सक्छ ।
संविधान संशोधनको बहसमा पनि प्रभाव
धर्मसम्बन्धी यो बहस संविधान संशोधनको सम्भावित बहससँग जोडिन सक्ने अर्को महत्वपूर्ण पक्ष हो । देउवाले हिन्दु राष्ट्रको विषयमा प्रत्यक्ष माग नगरी निर्णय जनताको अभिमतमा छोड्ने धारणा राखेकाले भविष्यमा जनमतसंग्रह वा संवैधानिक संशोधनको बहस उठाउने राजनीतिक आधार तयार हुन सक्छ ।
तर कांग्रेसभित्रै विमलेन्द्र निधिजस्ता नेताहरूले संविधानको मूल संरचना र धर्म निरपेक्षताको पक्षमा प्रश्न उठाएकाले यो मुद्दा पार्टी भित्रै सहज रूपमा स्वीकार हुने अवस्था भने देखिँदैन। त्यसैले देउवाको अभिव्यक्तिले कांग्रेसमा वैचारिक बहससँगै आन्तरिक शक्ति संघर्षलाई समेत थप तीव्र पार्न सक्ने सम्भावना छ ।
भारतसँगको सम्बन्धबारे पनि चासो
नेपालको हिन्दु पहिचानको बहस स्वाभाविक रूपमा भारतसँगको सम्बन्धसँग पनि जोडिन्छ । भारतमा हिन्दुत्वको राजनीतिक प्रभाव बढिरहेको अवस्थामा नेपालमा प्रभावशाली राजनीतिक दलका नेताबाट हिन्दु पहिचानको विषय उठ्नुले क्षेत्रीय राजनीतिक चासो पनि बढाउन सक्छ ।
धार्मिक ध्रुवीकरणको जोखिम
हिन्दु पहिचानलाई राजनीतिक मुद्दा बनाउँदा यसको सकारात्मक र नकारात्मक दुवै प्रभाव हुन सक्छ । बहुसंख्यक हिन्दु समुदायको सांस्कृतिक भावनालाई सम्बोधन गरेर राजनीतिक समर्थन विस्तार गर्न सकिने सम्भावना भए पनि नेपालजस्तो बहुधार्मिक र बहुसांस्कृतिक समाजमा धार्मिक ध्रुवीकरण बढ्ने जोखिम पनि उत्तिकै छ ।
देउवाले आफू हिन्दु भएको बताउँदै अन्य धर्मको विरोधी नभएको स्पष्ट गर्नुको एउटा उद्देश्य सम्भावित ध्रुवीकरणलाई रोक्दै आफ्नो अभिव्यक्तिलाई धार्मिक स्वतन्त्रताको दायरामा राख्नु पनि हुन सक्छ ।
आगामी राजनीतिमा कस्तो असर पर्ला ?
देउवाको ‘म हिन्दु हुँ’ भन्ने अभिव्यक्ति र देउवा समूहको सनातन धर्मसम्बन्धी प्रस्तावलाई तत्कालै नेपाल हिन्दु राष्ट्र बन्ने दिशामा गएको राजनीतिक निर्णयका रूपमा बुझ्न मिल्दैन । तर यसले राष्ट्रिय राजनीतिमा एउटा महत्वपूर्ण प्रश्न भने पुन: स्थापित गरेको छ—नेपालको राष्ट्रिय पहिचानलाई धर्म निरपेक्षताको अवधारणामा सीमित राख्ने कि सनातन धार्मिक–सांस्कृतिक पहिचानलाई पनि संवैधानिक तथा राजनीतिक रूपमा पुन: परिभाषित गर्ने ?
यस प्रश्नको प्रभाव कांग्रेसको आगामी महाधिवेशन, सम्भावित संविधान संशोधन, निर्वाचनको राजनीतिक एजेन्डा र दलहरूबीचको नयाँ ध्रुवीकरणमा देखिन सक्छ ।
त्यसैले विदेश उपचारबाट फर्किएपछि देउवाले गरेको ‘म हिन्दु हुँ’ भन्ने घोषणा व्यक्तिगत धार्मिक आस्थाको अभिव्यक्ति मात्र हो वा कांग्रेसको राजनीतिक दिशामै परिवर्तनको संकेत हो भन्ने प्रश्न अहिले नेपाली राजनीतिमा बहसको केन्द्रमा पुगेको छ ।