काठमाडौं । नेपालका लागि युरोपियन इकोनोमिक चेम्बर (ईईसी) की राजदूत भेलोनिक लोरेन्जो आफ्नो कार्यकाल पूरा गरी फर्किन लागेपछि उनलाई बिदाइ गरिएको छ ।
ईईसीको १४औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष नारायण बजाजले राजदूत लोरेन्जोलाई भगवान् बुद्धको प्रतिमा हस्तान्तरण गर्दै बिदाइ गरेका हुन् । नेपाल र युरोपियन युनियनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन लोरेन्जोले निर्वाह गरेको भूमिकाको सम्मानस्वरूप बिदाइ कार्यक्रम आयोजना गरिएको ईईसीले जनाएको छ ।
कार्यक्रममा राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका अनुभवहरू सुनाएकी थिइन् । उनले आफ्नो कार्यकालमा नेपाल र युरोपबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि भएका प्रयासबारे धारणा राखेकी थिइन् ।
चेम्बरका पदाधिकारीहरूले लोरेन्जोको योगदानको प्रशंसा गर्दै उनको आगामी कार्यकाल र जिम्मेवारीका लागि सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा ईईसीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।