काठमाडौं । नबिल बैंकले फोन लोन लिएर लामो समयदेखि कर्जा भुक्तानी नगर्ने ४५ जना ऋणीको नाम सार्वजनिक गरेको छ ।
बैंकका अनुसार पटक–पटक ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेका तथा बैंकको सम्पर्कमा नआएका ऋणीको विवरण सार्वजनिक गरिएको हो ।
फोन लोनअन्तर्गत लिएको कर्जाको तोकिएको समयभित्र साँवा र ब्याजसहित हर्जाना ब्याज तथा अन्य लागू शुल्कसमेत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ।
तर, सम्बन्धित ऋणीलाई मौखिक तथा लिखित रूपमा पटक–पटक जानकारी गराउँदा पनि कर्जा भुक्तानी नभएपछि सार्वजनिक सूचना जारी गर्नुपरेको बैंकको भनाइ छ।
बैंकले सार्वजनिक गरेको सूचनामार्फत सम्बन्धित ४५ जना ऋणीलाई ३५ दिनभित्र सम्पूर्ण बक्यौता कर्जा चुक्ता गर्न आग्रह गरेको छ।

