काठमाडौं । महिला उद्यमशीलता, घरेलु तथा हस्तकलाका सामग्रीको प्रवद्र्धन तथा तीज संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको २३औँ सफ्टी तीज फेस्टिभल तथा सिर्जनशील उद्यमी मेला–२०८३ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबार बिहान ११ बजे काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा मेलाको उद्घाटन गरेकी हुन् । महिला सिर्जनशील केन्द्र र राइजिङ नेपाल प्रालिको आयोजनामा सुरु भएको मेला भदौ ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ ।
आयोजकका अनुसार मेलामा ८० भन्दा बढी स्टल राखिएका छन् । तीमध्ये पाँचभन्दा बढी स्टल असहाय, अशक्त, अपाङ्गता भएका तथा ग्रामीण क्षेत्रका पिछडिएका महिलालाई नि:शुल्क उपलब्ध गराइएको छ ।
मेलामा महिला उद्यमी तथा घरेलु व्यवसायबाट उत्पादित वस्तु तथा सेवाको प्रदर्शनीसँगै तीज विशेष कार्यक्रम तथा विभिन्न गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ । घरेलु तथा हस्तकलाका सामग्री, महिला उद्यमशीलतासँग सम्बन्धित वस्तु तथा सेवा र तीज विशेष खानाका परिकार मेलाका मुख्य आकर्षण रहेका छन् ।
त्यस्तै, अवलोकनकर्ताका लागि नि:शुल्क स्वास्थ्य शिविर तथा नि:शुल्क मेहेन्दी आर्टको व्यवस्था गरिएको छ । आयोजकले मेलामा आउने अवलोकनकर्ताका लागि विभिन्न विशेष उपहारको समेत व्यवस्था गरेको जनाएको छ ।


महिला उद्यमशीलतालाई प्रोत्साहन गर्दै पिछडिएका समुदायका महिलालाई उद्यममा जोड्ने उद्देश्यले नि:शुल्क स्टल उपलब्ध गराइएको आयोजकले जनाएको छ । मेलामार्फत महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको बजार विस्तारसँगै नयाँ उद्यम गर्न चाहने महिलालाई प्रेरित गर्ने लक्ष्य राखिएको छ ।
महिला सिर्जनशील केन्द्रका अनुसार संस्थाले आयोजना गरेका मेला, गोष्ठी, सेमिनार, तालिम तथा विभिन्न कार्यक्रममार्फत हालसम्म ७०० भन्दा बढी महिला स्वरोजगार भएका छन् । संस्थाले महिला उद्यमशीलता प्रवद्र्धन तथा रोजगारी सिर्जनाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

मेलाले नेपाली घरेलु तथा हस्तकलाका सामग्रीलाई स्वदेशी तथा विदेशी अवलोकनकर्तामाझ पुर्याउन तथा महिला उद्यमीका उत्पादनको बजार विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ । आयोजकले स्वदेशी तथा विदेशी पर्यटक, उद्यमी, विद्यार्थी, कलाकार, सरकारी निकायका प्रतिनिधि तथा सर्वसाधारणलाई मेला अवलोकन गर्न आग्रह गरेको छ ।