काठमाडौं । सामाजिक लाञ्छना, आर्थिक चुनौती देखि ज्यान जोखिममा परेको अवस्थासम्मका अनेक संघर्ष पार गर्दै व्यवसायमा स्थापित भएकी सुष्मा महराको व्यावसायिक यात्रा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंकी संस्थापक कोषाध्यक्ष, वर्तमान सल्लाहकार तथा ‘फेसियल हाउस’की प्रबन्ध निर्देशक महराले शुक्रबार आयोजित योजना तर्जुमा कार्यशालामा आफ्ना संघर्ष, अनुभव र सफलताको कथा सुनाइन् ।
एकल महिलाका रूपमा व्यवसाय सुरु गर्दा समाजको दृष्टिकोण देखि राज्यका विभिन्न निकायबाट समेत अनेक चुनौती सामना गर्नुपरेको उनको अनुभव छ ।
काठमाडौं महल परिसरबाट व्यवसाय सुरु गरेकी उनले अनियमितता विरुद्ध आवाज उठाउँदा ज्यान मार्ने प्रयास समेत भएको बताइन् । लामो समय अस्पतालमा उपचार गराउनुपरे पनि सत्यको पक्षमा बोल्ने आफ्नो अडानबाट उनी पछि हटिनन् ।
व्यवसाय सुरु गर्दा ‘ब्युटिसियन’ पेसालाई हेर्ने समाजको दृष्टिकोण पनि सकारात्मक थिएन । तर, त्यही पहिचानलाई आत्मसात् गर्दै निरन्तर मेहनत गरेकी महराले आज ‘फेसियल हाउस’लाई स्थापित ब्राण्डका रूपमा विस्तार गर्न सफल भएकी छन् ।

२८ वर्षको व्यावसायिक अनुभव र १८ वर्षको फेसियल हाउस यात्रामा काठमाडौं लगायत देशका विभिन्न प्रमुख शहरमा शाखा विस्तार भएको छ ।
उनका अनुसार व्यवसाय सुरु गरेपछि त्यसलाई चलाउनु चुनौती हो भने सफल भएपछि ब्राण्डको प्रतिष्ठा जोगाउनु अझ ठूलो चुनौती हो । विशेषगरी सामाजिक सञ्जाल व्यापार प्रवद्र्धनको प्रभावकारी माध्यम बने पनि गलत सूचना र अफवाहले क्षणभरमै ब्राण्डमा क्षति पुर्याउन सक्ने भएकाले व्यवसायीहरू सचेत हुनुपर्ने उनको भनाइ छ ।
कोभिड–१९, नाकाबन्दी र पछिल्लो आर्थिक मन्दीले व्यवसायमा ठूलो असर पारे पनि कठिन परिस्थितिमा पनि निरन्तरता दिन सक्नु नै उद्यमीको सफलता भएको उनले बताइन् । सरकारले अनलाइन व्यापारलाई समेत दर्ताको दायरामा ल्याउनु सकारात्मक भएको उल्लेख गर्दै उनले सबै व्यवसाय कानुनी प्रक्रियाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिइन् ।
महराले सफलताको यात्रामा ईष्र्या र आलोचना स्वाभाविक भए पनि सत्य र इमानदारीको बाटोमा हिँड्ने हो भने जस्तोसुकै चुनौती सामना गर्न सकिने बताइन् ।
उनले भनिन्, “हामी सत्य छौँ भने कहिल्यै डगमगाउनु हुँदैन । मलाई परिवारको जस्तो साथ मिल्यो, त्यसैले व्यवसायमा सफलता हासिल गरेर आज यो ठाउँमा उभिन सकेकी छु ।”
फेसियल हाउसको प्रबन्ध निर्देशकका रूपमा आफ्नो परिचय दिन पाउँदा गौरवको अनुभूति हुने बताउँदै उनले आफ्नो व्यावसायिक यात्रा निरन्तर संघर्ष, मेहनत र आत्मविश्वासको परिणाम भएको बताइन् ।