काठमाडौं । सन् २०२६ को विश्वकप फुटबलको फाइनलमा स्पेनसँग १-० ले पराजित भएपछि मैदानमा भएको झडपमा संलग्न रहेको भन्दै अर्जेन्टिनाका मिडफिल्डर लिआन्ड्रो पारेडेसलाई १० खेलको प्रतिबन्ध लगाइएको छ ।
विश्व फुटबल महासंघको अनुशासन समितिले अर्जेन्टिनाकै अर्का खेलाडी नाहुएल मोलिनालाई पनि सात खेलको प्रतिबन्ध लगाएको छ ।
साथै समितिले अर्जेन्टिनालाई आफ्नै मैदानमा हुने आगामी दुई खेलमा ५० प्रतिशत दर्शक क्षमतामा मात्र खेल सञ्चालन गर्न आदेश दिइएको छ । यद्यपि, तीमध्ये एक खेलका लागि लगाइएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्ने गरी स्थगित गरिएको छ ।
अर्जेन्टिनाको फुटबल संघलाई खेलकुदबाहेकका विषयमा प्रदर्शन गर्न खेलकुद कार्यक्रमको प्रयोग, टोलीको अनुशासनहीनता तथा समर्थकबाट विभेदकारी नाराबाजी र हाउभाउ गरेको आरोपमा ३ लाख २१ हजार अमेरिकी डलर जरिवाना गरिएको छ ।

विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराएपछि अर्जेन्टिनाका केही खेलाडीले बेलायती अधीनमा रहेको फकल्यान्ड टापुमाथि अर्जेन्टिनाको सार्वभौम अधिकार रहेको दाबी गरिएको ब्यानर प्रदर्शन गरेका थिए ।
यसैबीच, गत महिना विश्व फुटबल महासंघले फाइनल खेल सकिएपछि अमेरिकाको न्यूयोर्कको न्युजर्सी रंगशालामा भएको घटनाको छानबिन गर्न अनुशासन तथा नैतिकता अभियोजक नियुक्त गरेको थियो । फाइनलपछि अर्जेन्टिनाका केही खेलाडी तथा टोलीका अन्य सदस्यहरू स्पेनका खेलाडीसँग झडपमा संलग्न भएका थिए ।