काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाल सरकार र दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ बिच १४ बुँदे सहमति भएको छ । सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने सहमति भएको छ । काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबिच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
२- इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमै म्यानचेस्टर युनाइटेड हल सिटीसँग २-० गोल अन्तरले पराजित भएको छ । शनिबार हल सिटीको घरेलु मैदानमा भएको खेलमा हल सिटीले उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेडलाई स्तब्ध बनाएको हो । हल सिटीका लागि सेमी अजायीले १७औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि नोबेल मेन्डीले ३८औँ मिनेटमा अर्को गोल थपेपछि हल सिटी पहिलो हाफमै २-० ले अघि बढेको थियो । दोस्रो हाफमा म्यानचेस्टर युनाइटेडले बलमा बढी नियन्त्रण राख्दै गोलका लागि प्रयास गरे पनि हल सिटीको बलियो रक्षापंक्तिलाई तोड्न असफल भएको थियो । युनाइटेडले गोलका लागि थुप्रै प्रयास गरे पनि स्पष्ट अवसर सिर्जना गर्न सकेन । हल सिटीले नौ वर्षपछि शीर्ष श्रेणीमा फर्किएको पहिलो खेलमै म्यानचेस्टर युनाइटेडविरुद्ध महत्वपूर्ण जित हात पारेर नयाँ सिजनको शानदार शुरुवात गरेको छ । यो हल सिटीको युनाइटेडविरुद्ध सन् १९७४ पछि पहिलो लिग जितसमेत हो । म्यानचेस्टर युनाइटेडका लागि मार्कस रासफोर्ड दोस्रो हाफमा मैदान प्रवेश गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यो हारसँगै नयाँ प्रशिक्षक माइकल क्यारिकका लागि सिजनको सुरुआत निराशाजनक बनेको छ ।
३- नेपाली कांग्रेसले दिवंगत नेता प्रदीप गिरिको स्मृतिमा चारवटा फेलोसिपसहित न्याय सहायता कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा आयोजित ‘भावना र संघर्षमा प्रदीप गिरिको सम्झना’ कार्यक्रममा सभापति गगन थापाले गिरिको विचार र योगदानलाई संस्थागत गर्न चारवटा विषयमा फेलोसिप सञ्चालन गरिने जानकारी दिएका हुन् । फेलोसिपका विषयमा नेपाली राजनीति, गणतन्त्र तथा संघीयता; समावेशिता तथा सामाजिक न्याय; साहित्य, दर्शन तथा विचारको इतिहास; र युवा नेतृत्व, नागरिक शिक्षा तथा लोकतान्त्रिक नवप्रवर्तन रहेका छन् । यससँगै गिरिको व्यक्तित्व र योगदानसँग सम्बन्धित तीनवटा विशेष विषयमा समेत अध्ययन तथा अनुसन्धान गरिने भएको छ । ती विषयमा ‘प्रदीप गिरि र मधेश’, ‘प्रदीप गिरी राजनीति भन्दा पर’ तथा ‘प्रदीप र प्रेम’ रहेका छन् । ‘प्रदीप गिरि र मधेश’ अन्तर्गत मधेशको अधिकार, पहिचान र राजनीतिप्रति गिरिको दृष्टिकोणबारे अध्ययन गरिनेछ । ‘प्रदीप गिरि राजनीति भन्दा पर’ अन्तर्गत उनको दार्शनिक, सांस्कृतिक तथा साहित्यिक व्यक्तित्वबारे अनुसन्धान गरिनेछ । त्यस्तै, ‘प्रदीप र प्रेम’ अन्तर्गत उनको अन्तरंग जीवन, प्रेम, बस्तीपुर, बनारस तथा व्यक्तिगत जीवनसँग जोडिएका पक्षको अध्ययन गरिने थापाले बताए । फेलोसिप प्राप्त गर्ने प्रत्येक व्यक्तिले वार्षिक पारिश्रमिकसहित नेपाली कांग्रेस र प्रदीप गिरि इन्स्टिच्युटका अभिलेखमा पहुँच, सम्पादकीय मार्गदर्शन तथा आफ्नो अनुसन्धान प्रकाशित गर्ने अवसर पाउनेछन् । फेलोसिपको अन्तिम उपलब्धिका रूपमा अनुसन्धानकर्ताले तयार पारेको पाण्डुलिपिलाई लिइनेछ । यस बर्षको फेलोसिप प्रदिप गिरीको जन्मदिनको दिन कार्तिक २४ गतेदेखि खुला हुने बताइएको छ ।
४- अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ‘ए’ बंगलादेशको हाई परफरमेन्स एघारसँग पराजित भएको छ । शनिबार सम्पन्न खेलमा बंगलादेश एघारले खेल ९ विकेटले जितेको हो । नेपालले दिएको सय रनको लक्ष्य पछाएको बंगलादेश एघारले १०.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको हो । नेपाल ए का लागि कुशल भुर्तेलले सर्बाधिक ४६ रन बनाएका थिए भने शहाब आलम र विपिन खत्रीले ११-११ रन बनाएका थिए भने रिजन ढकालले १० रन बनाएका थिए । त्यस्तै बंगलादेशका मोहमद रुबेईले सर्बाधिक ४ विकेट लिएका थिए । यो नेपाल ए को लगातार दोस्रो हार हो । नेपाल ए ले यसअघि आफ्नो पहिलो खेलमा एनटी स्ट्राइक ८ विकेटको हार बेहोरेको थियो । अस्ट्रेलियाको एनटी स्ट्राइकले आयोजना गर्ने टप एन्ड टी-२० प्रतियोगिता अगस्ट ३० सम्म डार्विनमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल ए ले अगस्ट २४ मा हुरिकेन्स, अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ ।

५- संयुक्त राष्ट्रसंघको ८० वर्षे इतिहासमा पहिलोपटक महिला महासचिव बन्ने सम्भावना देखिएको छ । महासचिव पदका लागि अहिले आठ जना दाबेदार प्रतिस्पर्धामा छन्, जसमध्ये पाँच जना महिला छन् । शुक्रबार भएको दोस्रो चरणको अनौपचारिक मतदानमा गुयानाकी क्यारोलिन रोड्रिग्स बिर्केट सबैभन्दा अगाडि रहेकी छन् । कोस्टारिकाकी रेबेका ग्रिन्सप्यान दोस्रो स्थानमा छिन् । संयुक्त राष्ट्रसंघका वर्तमान महासचिव एन्टोनियो गुटेरेसको दोस्रो पाँचवर्षे कार्यकाल ३१ डिसेम्बर २०२६ मा सकिँदैछ । त्यसैले नयाँ महासचिव चयन गर्ने प्रक्रिया सुरु भइसकेको हो । संयुक्त राष्ट्रसंघका महासचिव प्रत्यक्ष रूपमा जनता वा सबै सदस्य राष्ट्रको मतदानबाट चयन हुँदैनन् । सुरुमा सुरक्षा परिषद्ले सम्भावित उम्मेदवारमाथि विचार गर्छ । सुरक्षा परिषद्मा उम्मेदवारका विषयमा विभिन्न चरणमा अनौपचारिक र गोप्य मतदान हुन्छ । यस क्रममा १५ सदस्य राष्ट्रले प्रत्येक उम्मेदवारका विषयमा समर्थन, विरोध वा कुनै धारणा नरहेको जनाउँछन् । यस्तो मतदान अन्तिम निर्वाचन भने होइन । यसको मुख्य उद्देश्य कुन उम्मेदवार कति बलियो अवस्थामा छन् र कसको नाममा सहमति बन्न सक्छ भन्ने बुझ्नु हो । कमजोर समर्थन पाउने उम्मेदवारले आफ्नो दाबी फिर्ता लिन पनि सक्छन् । सुरक्षा परिषद्मा १५ सदस्य राष्ट्र हुन्छन् । तीमध्ये अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स स्थायी सदस्य हुन् । यी पाँचै राष्ट्रसँग निषेधाधिकार अर्थात् कुनै निर्णय रोक्न सक्ने विशेष अधिकार हुन्छ । कुनै उम्मेदवारलाई सुरक्षा परिषद्बाट अघि बढाउन कम्तीमा नौ मत आवश्यक पर्छ । तर नौ मत मात्रै पर्याप्त हुँदैन। पाँच स्थायी सदस्यमध्ये कुनै एकले पनि उम्मेदवारको विरोध गरेमा उनको बाटो रोकिन सक्छ । त्यसैले उम्मेदवारले अन्य सदस्य राष्ट्रको समर्थन जुटाउनुका साथै पाँच स्थायी सदस्यमध्ये कुनै पनि राष्ट्र आफ्नो विपक्षमा नहोस् भन्ने सुनिश्चित गर्नुपर्छ । वार्ता र मतदानपछि कुनै एक उम्मेदवारको नाममा पर्याप्त सहमति बनेमा सुरक्षा परिषद्ले औपचारिक बैठकबाट महासचिवका लागि उनको नाम सिफारिस गर्छ । त्यसपछि उक्त नाम महासभामा पठाइन्छ । संयुक्त राष्ट्रसंघको महासभामा १९३ सदस्य राष्ट्र छन् । महासभाले सुरक्षा परिषद्को सिफारिसका आधारमा नयाँ महासचिव नियुक्त गर्छ । कतिपय अवस्थामा औपचारिक मतदान नगरी सर्वसम्मतिबाट पनि नियुक्ति हुने गरेको छ । महासचिवको सामान्य कार्यकाल पाँच वर्षको हुन्छ । उनलाई दोस्रो कार्यकालका लागि पनि चयन गर्न सकिन्छ । अनौपचारिक मतदानमा सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रले प्रत्येक उम्मेदवारका विषयमा तीनमध्ये एक धारणा व्यक्त गर्छन् । जसमा समर्थन, विरोध र कुनै धारणा छैन भन्ने राख्दछन् । त्यसैले प्रत्येक राष्ट्रले उम्मेदवारको पक्ष वा विपक्षमा मात्रै मत दिनुपर्छ भन्ने हुँदैन । जुलाई ३० मा भएको पहिलो अनौपचारिक मतदानमा रेबेका ग्रिन्सप्यान सबैभन्दा अगाडि थिइन् । उनलाई १० राष्ट्रले समर्थन गरेका थिए भने एक राष्ट्रले विरोध गरेको थियो । चार राष्ट्रले कुनै धारणा दिएका थिएनन् । अगस्ट २१ मा भएको दोस्रो अनौपचारिक मतदानमा भने क्यारोलिन रोड्रिग्स बिर्केट अगाडि आइन् । उनलाई आठ राष्ट्रले समर्थन गरे, तीन राष्ट्रले विरोध गरे र चार राष्ट्रले कुनै धारणा दिएनन् । तर यी मतदानका परिणाम अन्तिम निर्वाचनका नतिजा होइनन् । यसको उद्देश्य उम्मेदवारहरूको अवस्था बुझ्नु र सुरक्षा परिषद्मा कुन उम्मेदवारको नाममा सहमति बन्न सक्छ भन्ने पहिचान गर्नु हो । संयुक्त राष्ट्रसंघमा महासचिव चयन गर्दा विश्वका विभिन्न क्षेत्रलाई पालैपालो अवसर दिने प्रयास हुँदै आएको छ । यसको उद्देश्य एउटै क्षेत्रका व्यक्तिले लगातार महासचिवको जिम्मेवारी नपाऊन् भन्ने हो । सन् १९९७ मा संयुक्त राष्ट्रसंघको महासभाले महासचिव चयन गर्दा क्षेत्रीय प्रतिनिधित्व र महिला पुरुष समानतालाई ध्यान दिनुपर्ने बताएको थियो । यद्यपि, यो बाध्यकारी नियम भने होइन । महासचिवलाई संयुक्त राष्ट्रसंघको विश्वव्यापी प्रतिनिधिका रूपमा हेरिन्छ । त्यसैले अमेरिका वा चीनजस्ता शक्तिशाली राष्ट्रका प्रभावशाली राजनीतिक व्यक्तिलाई महासचिव बनाउँदा संयुक्त राष्ट्रसंघमा कुनै एक शक्तिको प्रभाव बढ्न सक्ने आशंका अन्य राष्ट्रमा उत्पन्न हुन सक्छ । त्यसकारण कुनै एक शक्तिशाली राष्ट्रसँग अत्यधिक निकट नभएको र विश्वका विभिन्न क्षेत्रको आवाज बुझ्न सक्ने व्यक्तिलाई प्राथमिकता दिने प्रवृत्ति देखिन्छ । संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशको संख्या ठूलो छ । ती राष्ट्रहरूले पनि संयुक्त राष्ट्रसंघको नेतृत्वमा विश्वका विभिन्न क्षेत्रको दृष्टिकोण प्रतिबिम्बित हुनुपर्ने अपेक्षा राख्छन् । यद्यपि विकसित राष्ट्रका उम्मेदवारले महासचिव बन्ने अवसर नपाएका भने होइनन् । सन् २०१६ मा पोर्चुगलका अन्तोनियो गुटेरेस महासचिव बनेका थिए । त्यतिबेला पूर्वी युरोपबाट महासचिव बनाउनुपर्ने मागसमेत बलियो थियो ।
६- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सुनसरी खोला तटबन्ध क्षेत्रको निरीक्षण गर्दै बाढी नियन्त्रण, नदी व्यवस्थापन र सिँचाइ विकासलाई एकीकृत रूपमा अघि बढाउन निर्देशन दिएका छन् । स्थानीयवासी तथा जनप्रतिनिधिसँगको छलफलमा उहाँले सुनसरी खोलाको बाढी जोखिम न्यूनीकरण र सिँचाइ विस्तारका लागि तत्काल गर्न सकिने काम पहिचान गरी अघि बढाउन निर्देशन दिए । रणनीतिक महत्वको भोक्राहा विद्युत् केन्द्रसमेत जोखिममा रहेकाले तत्काल क्षति न्यूनीकरणका उपाय अपनाउन उनले जलस्रोत तथा सिँचाइ विभागलाई निर्देशन दिए । मन्त्री श्रेष्ठले जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको सहयोगमा सन् २००३ देखि २००५ सम्म गरिएको अध्ययनलाई अद्यावधिक गरी सुनसरी नदी सिँचाइ आयोजना अघि बढाउनुपर्ने बताए । पुरानो अध्ययनलाई वर्तमान नदीको अवस्था, बस्ती विस्तार, जलवायुजन्य जोखिम र सिँचाइको आवश्यकताअनुसार पुनरावलोकन गर्नुपर्ने उनको भनाइ थियो । उनले तत्काल बाढी जोखिम न्यूनीकरणका कामसँगै दीर्घकालीन नदी व्यवस्थापन योजना पनि समानान्तर रूपमा अघि बढाउन सम्बन्धित निकायबीच समन्वय र आवश्यक प्राविधिक अध्ययन तीव्र बनाउन निर्देशन दिए ।
७- इन्टर मियामीका अर्जेन्टिनी स्टार लियोनेल मेसीलाई फिलाडेल्फिया युनियनका क्विन सुलिभानलाई थप्पड हानेपछि मेजर फुटबल लिगले जरिवाना गरेको छ । बुधबार भएको खेलमा इन्टर मियामी र फिलाडेल्फिया युनियनले २-२ गोलको बराबरी खेलेका थिए । खेल सकिनै लाग्दा आफूले बल खेलाएपछि सुलिभानले कुहिनाले प्रहार गरेको भन्दै मेसीले उनको टाउकोको पछाडिको भागमा थप्पड हानेका थिए । मेसीको थप्पडपछि सुलिभान आक्रोशित बनेका थिए । तर, रेफ्रीले तत्काल हस्तक्षेप गर्दै दुवै खेलाडीलाई अलग गरेका थिए । मेजर फुटबल लिगले मेसीलाई जरिवाना गरिएको पुष्टि गरे पनि जरिवानाको रकम भने सार्वजनिक गरेको छैन । उक्त खेलमा मेसीले इन्टर मियामीका लागि दोस्रो गोल गरेका थिए । यो गोल उनका बुबाको निधनपछि पहिलो गोलसमेत थियो । सुलिभानसँग विवादमा परेका मेसी मात्र थिएनन् । इन्टर मियामीका इयान फ्रेले पनि सुलिभानको घाँटी समातेपछि उनलाई समेत लिगले जरिवाना गरेको छ । सुलिभानले पेनाल्टी क्षेत्रभित्र सन्तुलन गुमाएपछि दुवै खेलाडीबीच झगडा हुँदा फ्रेले उनको घाँटी समातेका थिए । तनावपूर्ण बनेको खेलमा अतिरिक्त समयमा दुई खेलाडीले रातो कार्ड पाएका थिए । इन्टर मियामीका यानिक ब्राइट र सुलिभानका भाइ काभान सुलिभानलाई मैदानबाट बाहिर पठाइएको थियो । यद्यपि, खेलको समीक्षा गरेपछि काभानमाथि लगाइएको एक खेलको प्रतिबन्ध भने फिर्ता लिइएको छ ।
८- अमेरिका र क्यानडाबीच तीन दिनसम्म चलेको व्यापार सम्झौताको वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका सामानमा ५० प्रतिशत कर लगाएका छन् । यो कर क्यानडाबाट अमेरिकातर्फ जाने कुल सामानको करिब ५ प्रतिशतमा लागू हुनेछ । वासिङ्टनमा तीन दिनसम्म भएको वार्तामा केही विषयमा सहमति बने पनि महत्वपूर्ण मुद्दामा दुई देशबीच सहमति हुन नसकेको जनाइएको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले जति कर लगाए पनि क्यानडाले त्यसको बराबर जवाफी कर लगाउने बताएका छन् । अमेरिकाले क्यानडाको व्यापार नीतिले अमेरिकी कम्पनीलाई समान अवसर नदिएको आरोप लगाउँदै आएको छ । विशेषगरी सवारीसाधन, दुग्धजन्य पदार्थ, मदिरा र काठको व्यापारलाई लिएर दुई देशबीच लामो समयदेखि विवाद छ । अमेरिकाले आफ्ना सवारीसाधन तथा अन्य सामानका लागि क्यानडाको बजार थप खुला गर्न माग गरेको थियो । क्यानडाले भने अमेरिका पठाइने इस्पात, आल्मुनियम, सवारीसाधन र काठमा लगाइएको करमा छुट मागेको थियो । तर अमेरिका ती कर हटाउन तयार भएन । त्यस्तै, क्यानडाले आफ्नो दुग्ध बजारलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउन विभिन्न नियम कायम राखेकोमा अमेरिकाले विरोध गर्दै आएको छ । अमेरिकी मदिराको बिक्रीमा क्यानडाका केही क्षेत्रमा लगाइएको प्रतिबन्धप्रति पनि अमेरिकाले असन्तुष्टि जनाउँदै आएको छ । अमेरिकाले क्यानडाली सामानमा ५० प्रतिशत कर लगाएपछि क्यानडाले पनि अमेरिकी सामानमा समान मूल्यको जवाफी कर लगाउने घोषणा गरेको छ । यससँगै दुई देशबीचको व्यापार तनाव थप बढेको छ । अमेरिका र क्यानडा एकअर्काका प्रमुख व्यापारिक साझेदार भएकाले नयाँ करले दुई देशबीचको व्यापार, व्यवसाय र उपभोक्ता मूल्यमा असर पर्न सक्ने देखिएको छ ।
९- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १३३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३१ जना घाइते भएका छन् भने कोशीमा ३१ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा १५ जना, सुदूरपश्चिममा २१ जना र कर्णालीमा २ जना घाइते भएका छन् ।
१०- सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकको सन्तुष्टि अभिवृद्धि गर्न ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत गरेको यस कार्ययोजनालाई देशभरका सबै मन्त्रालय, सचिवालय, विभाग, प्रदेश र स्थानीय तहसम्म तत्काल कार्यान्वयन गर्न आज पत्राचार गरिएको छ । कार्ययोजनाअनुसार सरकारले अतिरिक्त बजेट वा ठूला भौतिक संरचना निर्माणबिना नै हाल उपलब्ध जनशक्ति, कार्यशैली र सूचना प्रणालीलाई पुनःव्यवस्थित गरी आगामी ३० दिनभित्र सुधारको परिणाम नागरिकमाझ पुर्याउने लक्ष्य राखेको कार्यालयले उल्लेख गरेको छ । यसका लागि पहिलो ३ दिनभित्र सरकारी कार्यालयहरूले मुख्य १० सेवा समस्याका साथै भिड हुने समय र दोहोरिने कागजातको पहिचान, समाधानका लागि जिम्मेवारी निर्धारण र पुराना सूचना बोर्ड प्रतिस्थापनको काम गर्नुपर्ने बताइएको छ ।
४ देखि ७ दिनभित्र शीघ्र समाधानका उपाय कार्यान्वयन गर्दै सेवामा तत्काल देखिने गरी सुधार ल्याउनुपर्ने, टोकन प्रणाली व्यवस्थापन, १५ मिनेट दैनिक कामको समीक्षा र प्राथमीकताबारे छलफल गर्नुपर्ने तथा दोस्रो हप्ताभित्र तीनवटा प्रमुख सेवाहरूमा सरलीकरण भएको हुनुपर्नेछ । यस्तै, तेस्रो हप्तासम्म अनुगमन र जवाफदेहिता सुदृढ गर्ने, दैनिक पाँच सूचक मापन र पेन्डिङ फाइलहरूको समीक्षा तथा सुधार मापन गर्ने र चौथो हप्तासम्म सफल अभ्यासहरूको स्थायीकरण र विस्तार गर्नुपर्नेछ । यसबाट सरकारी कार्यालयमा औसत प्रतिक्षा समय, कागजातका कारण फर्किने सेवाग्राहीको संख्या र एउटै सेवा लिन धाइराख्नुपर्ने समस्या घटाउने सरकारको योजना छ ।
यस सुधार कार्ययोजनामार्फत विशेषगरी जिल्ला प्रशासन, यातायात कार्यालय, मालपोत, राहदानी विभाग, टेलिकम, परीक्षा नियन्त्रण कार्यालय, खानेपानी तथा सार्वजनिक यातायात जस्ता नागरिकको दैनिक भीड हुने मुख्य सेवा केन्द्रहरूमा तत्कालै सुधार अनुभूत हुने काम गर्न निर्देशन दिइएको छ । सेवाग्राही मुख्य काउन्टरमा पुग्नुअगावै प्रवेशद्वारमै कागजात पुगे/नपुगेको जाँच गरिने व्यवस्था मिलाउनुपर्नेछ । आवश्यक कागजात नपुगेको खण्डमा कर्मचारीले ‘के कागजात अपुग छ, किन आवश्यक छ, कहाँबाट ल्याउने र अब कुन काउन्टरमा जाने’ भन्ने स्पष्ट विवरण खुलाई एउटै लिखित स्लिप दिनुपर्नेछ । यस्तै, कार्यालयको प्रवेशद्वारमै कर्मचारी सहितको सहायता कक्ष र लाइनको सट्टा सेवा प्राप्त गर्न लाग्ने अनुमानित समय तालिका सहितको टोकन प्रणाली लागू गर्नुपर्नेछ । कार्यालयहरूमा खानेपानी, व्यवस्थित प्रतीक्षालय, सफा शौचालय, मोबाइल चार्जिङ स्थल र प्राथमिक उपचार किटको अनिवार्य व्यवस्था मिलाउनुका साथै प्रत्येक कार्यालयले दैनिक १५ मिनेट गुनासो र पेन्डिङ फाइलहरूको अनिवार्य समीक्षा गरी सेवा सुधारका पाटाहरू पहिल्याउनुपर्नेछ । कार्ययोजनाको ३० दिन पूरा भएपछि प्रत्येक कार्यालयले आफ्नो सुधारको विवरण, लागेको खर्च र नागरिक लाभ समेटेर एक–पृष्ठको ’सार्वजनिक परिणाम रिपोर्ट’ अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ । कार्ययोजना कार्यान्वयनको प्रभावकारी अनुगमन गर्ने र प्रधानमन्त्री कार्यालयमा नियमित प्रतिवेदन बुझाउने जिम्मेवारी राष्ट्रिय सतर्कता केन्द्रलाई तोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
११- बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोपसम्बन्धी मुद्दा टुंग्याउन टिकटकले अमेरिकी सरकारलाई ४० करोड अमेरिकी डलर तिर्न सहमत भएको छ । यो बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा अमेरिकामा भएको सबैभन्दा ठूलो जरिवानामध्येको एक हो । अमेरिकी न्याय मन्त्रालयले सन् २०२४ मा टि
कटक र यसको मूल कम्पनी बाइटडान्सले १३ वर्षभन्दा कम उमेरका लाखौँ प्रयोगकर्ताको ठूलो मात्रामा व्यक्तिगत विवरण संकलन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । अमेरिकाको सन् २००० मा बनेको बालबालिकाको अनलाइन गोपनीयता संरक्षणसम्बन्धी कानुनले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको विवरण संकलन गर्नुअघि अभिभावकको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । सम्झौताअनुसार टिकटक र बाइटडान्सले तत्काल अमेरिकी न्याय मन्त्रालयलाई ३० करोड डलर तिर्नेछन् । थप १० करोड डलर अमेरिकी संघीय व्यापार आयोगसँग भएको सन् २०१९ को सहमति आदेश हटाइएपछि तिर्नुपर्नेछ । यसअघि टिकटकसँग सम्बन्धित संस्था म्युजिकल्लीले बालबालिकाको गोपनीयता संरक्षणसम्बन्धी कानुन उल्लंघन गरेको भन्दै सन् २०१९ मा ५७ लाख डलर जरिवाना तिरेको थियो ।
अमेरिकी न्याय मन्त्रालयका अनुसार मुद्दा दायर भएयता टिकटकको स्वामित्व, गोपनीयता नीति र कम उमेरका प्रयोगकर्ताका लागि राखिएका नियन्त्रण प्रणालीमा महत्वपूर्ण परिवर्तन भएका छन् । टिकटकको अमेरिकी कारोबारसम्बन्धी संरचनामा गत वर्ष परिवर्तन भएको थियो । हाल अमेरिकी कारोबारमा लगानीकर्ताहरूको समूहको ८१ प्रतिशत स्वामित्व छ भने बाइटडान्ससँग १९ प्रतिशत हिस्सा रहेको छ । अमेरिकी सहायक महान्यायाधिवक्ता ब्रेट सुमाटेले सम्झौतापछि बालबालिका र अभिभावकहरू मुद्दा सुरु हुँदाको अवस्थाभन्दा अहिले बढी सुरक्षित रहेको बताएका छन् । यसअघि बालबालिकाको गोपनीयता कानुन उल्लंघनसम्बन्धी मुद्दामा गुगलको युट्युबले सन् २०१९ मा १७ करोड डलर र एपिक गेम्सले सन् २०२२ मा २७ करोड ५० लाख डलर जरिवाना तिरेका थिए ।
१२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय समितिका सदस्यहरूका लागि ‘नीति, संगठन र नेतृत्व’ (रास्वपा कार्यशाला), श्रृंखला-१ काठमाडौँको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सुरु भएको छ । शनिबार र आइतबार दुई दिन हुने कार्यशालामा अनिल चित्रकार, प्रमोद न्यौपाने र आनन्द मिश्रले सहजीकरण गर्ने बताइएको छ । त्यस्तै कार्यशालामा अर्थमन्त्री समेत रहेका डा. स्वर्णिम वाग्लेले प्रस्तावनाको व्याख्या, सामाजिक लोकतन्त्र र त्यसका आधारहरुका बारेमा बोल्ने छन् भने महामन्त्री विपिन आचार्यले पार्टीको आधारभूत मुल्य मान्यता, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनौटको रुपरेखा बारे प्रस्तुति दिने कार्यतालिका रहेको छ । त्यस्तै कार्यशालामा बजेट निर्माणका विज्ञानिक प्रक्रिया र पार्टी र सरकारको अन्तर सम्बन्ध, समस्या र समाधानका उपाय बारे समेत प्रस्तुति हुने बताइएको छ । साथै दोस्रो दिन पार्टीको सांगठानिक संरचना, मिडिया र सोसल मिडियाको प्रयोग, राजनीतिज्ञको रुपमा एआईको प्रयोग गर्ने तरिका, २१औ शताब्दीमा राजनीतिक पार्टीको निर्माण लगायतका विषयमा प्रस्तुति हुने बताइएको छ । त्यस्तै आइतबार समापनका क्रममा सभापति रवि लामिछानेले मन्तव्य दिने कार्यतालिका रहेको छ ।
१३- तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गृहमन्त्री सुदन गुरुङले गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान भइरहेको बताएका छन् । गृहमन्त्री गुरुङले घटनाले आफूलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको उल्लेख गर्दै एउटी सानी बालिकामाथि भएको अपराध एउटा परिवारको मात्र नभई सम्पूर्ण समाजको पीडा भएको बताएका छन् । आमाहरू, महिला तथा नागरिकमा देखिएको आक्रोश आफूले पूर्ण रूपमा महसुस गरेको उनको भनाइ छ । उनले सरकार घटनाको पहिलो दिनदेखि नै मौन वा निष्क्रिय नरहेको स्पष्ट पारेका छन् । घटनालाई अत्यन्त संवेदनशील रूपमा लिएर कुनै पनि बाधा वा त्रुटि नहोस् भन्नेमा सचेत हुँदै अनुसन्धान अघि बढाइएको उनले बताएका छन् । घटनामा आरोपितहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाइएको र प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने गम्भीर प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाइएको गृहमन्त्री गुरुङले बताएका छन् । मृत्युदण्डको माग गर्दै भइरहेको आक्रोश आफूले बुझेको भन्दै उनले नेपालको संविधानले मृत्युदण्ड दिने गरी कानुन बनाउन निषेध गरेको स्मरण गराएका छन् ।
नेपालको संविधानको धारा १६ को उपधारा २ ले मृत्युदण्डसम्बन्धी कानुन बनाउन रोक लगाएको र नेपालले मृत्युदण्ड उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको उनले उल्लेख गरेका छन् । गृह प्रशासनको मुख्य जिम्मेवारी निष्पक्ष र मजबुत अनुसन्धान गर्नु रहेको भन्दै उनले अनुसन्धानमा कुनै कमी हुन नदिने, दोषी उम्किन नदिने र पीडितले न्याय पाउने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। घटनाको आवेगमा राज्यले तत्काल मृत्युदण्ड दिन सक्ने कानुनी अवस्था नरहेको उनले स्पष्ट पारेका छन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सरकारमा आएपछि महिला तथा बालबालिकाविरुद्ध हुने यस्ता जघन्य अपराधमा विद्यमान कानुनी बाधा हटाउने निर्णय गरेको पनि गृहमन्त्री गुरुङले बताएका छन् । आवश्यक कानुन संशोधनको मस्यौदा तयार भई संसदीय प्रक्रियामा लैजाने तयारी भइरहेको उनले जानकारी दिएका छन् । कानुन निर्माण रातारात हुने प्रक्रिया नभए पनि सरकार चुप लागेर नबसेको उनको भनाइ छ । कानुनलाई अझ प्रभावकारी बनाउने काममा सरकार निरन्तर लागिरहेको उनले बताएका छन् । गृहमन्त्री गुरुङले अहिले सरकारको पहिलो प्राथमिकता गरिमालाई न्याय दिलाउनु रहेको बताएका छन् । त्यसका लागि प्रमाण सुरक्षित गर्नुपर्ने, अनुसन्धान निष्पक्ष र वैज्ञानिक हुनुपर्ने, दोषी उम्कन नहुने तथा निर्दोष व्यक्ति फस्न नहुनेमा उनले जोड दिएका छन् ।
गरिमाका अभिभावकले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि थप चार जनालाई पक्राउ गरिएको पनि उनले बताएका छन् । उनले संवेदनशील घटनालाई राजनीतिकरण नगर्न र अपुष्ट सूचनाका आधारमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट आरोप–प्रत्यारोप नगर्न आग्रह गरेका छन् । आक्रोशका कारण अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभावित पार्ने कामले अन्ततः न्याय नै कमजोर हुन सक्ने उनले चेतावनी दिएका छन् । नागरिकको खबरदारी आवश्यक रहेको भन्दै गृहमन्त्री गुरुङले सरकारमाथि प्रश्न उठाउन, कमजोरी देखिए सचेत गराउन र सरकारलाई जवाफदेही बनाउन आग्रह गरेका छन् । तर अनुसन्धानलाई आफ्नो काम गर्न दिनुपर्नेमा उनले जोड दिएका छन् । एउटा घटनामा दोषीलाई सजाय दिलाउनुमा मात्र सरकारको लक्ष्य सीमित नरहेको उनले बताएका छन् । छोरीहरू डराएर होइन, सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु सरकारको मुख्य उद्देश्य रहेको उनको भनाइ छ । घटनामा कानुनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न तथा भविष्यमा यस्ता अपराध रोक्न बलियो कानुनी र संस्थागत व्यवस्था निर्माण गर्न सरकार प्रतिबद्ध रहेको गृहमन्त्री गुरुङले बताएका छन् ।
१४- विश्वको स्मार्टफोन बजार यस वर्ष आर्थिक मन्दी र कम्प्युटरका सामग्रीको बढ्दो मूल्यका कारण दबाबमा परेको छ । यस्तो अवस्थामा दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङका लागि भने सुखद खबर आएको छ । अनुसन्धान संस्था काउन्टरपोइन्टको अनुमानअनुसार सामसुङले अमेरिकी कम्पनी एप्पललाई पछि पार्दै यस वर्ष फेरि विश्वकै ठूलो स्मार्टफोन निर्माता बन्न सक्नेछ । सन् २०२६ मा विश्वभर स्मार्टफोनको बिक्रीमा १४.३ प्रतिशतसम्म गिरावट आउन सक्ने अनुमान गरिएको छ । मेमोरी चिपको अभाव र त्यसको बढ्दो मूल्यले मोबाइल बजार प्रभावित भएको छ । यसको सबैभन्दा ठूलो असर चिनियाँ स्मार्टफोन कम्पनीहरूमा पर्ने देखिएको छ । बजारमा गिरावट आए पनि सामसुङको कारोबारमा भने ०.८ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ ।
कम्पनीले आफ्नै सामग्री उत्पादन गर्न सक्ने क्षमता र बलियो आपूर्ति व्यवस्थालाई यसको मुख्य कारण मानिएको छ । एप्पलले पनि बजारको कठिन अवस्थाको सामना गर्ने भए पनि उसको वृद्धिका विषयमा अनुसन्धानकर्ताहरू केही सतर्क देखिएका छन् । सामसुङपछि राम्रो वृद्धि गर्ने अपेक्षा गरिएको अर्को कम्पनी चिनियाँ हुआवे हो । अमेरिकी प्रतिबन्धपछि हुआवेले आफ्नै सामग्री तथा उपकरण उत्पादन गर्ने क्षमता विस्तार गरेको छ । सस्तो तथा मध्यम मूल्यका स्मार्टफोन उत्पादन गर्ने कम्पनीहरू भने बढी प्रभावित हुने देखिएका छन् । काउन्टरपोइन्टका प्रमुख विश्लेषक याङ वाङका अनुसार यस्ता कम्पनीहरूको कारोबारमा ३४ प्रतिशतसम्म गिरावट आउन सक्छ । ओप्पोले आफ्नो चर्चित वनप्लस ब्रान्डका स्मार्टफोनको आपूर्ति समेत घटाएको छ । साओमी, भिभो र अनरजस्ता कम्पनीले पनि सस्ता फोनभन्दा महँगा तथा उच्चस्तरीय फोन उत्पादनमा ध्यान दिन थालेका छन् । यसबाट महँगा सामग्रीको लागत व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ । यसैबीच नयाँ कृत्रिम बौद्धिकता सुविधाहरू र एप्पलले ल्याउने तयारी गरेको फोल्ड गर्न मिल्ने आइफोनका कारण स्मार्टफोन बजारमा पुनः सुधार आउने चर्चा पनि छ । तर अनुसन्धान संस्थाले यी नयाँ सुविधाले कम्पनीका उत्पादनलाई अरूभन्दा फरक देखाउन सहयोग गरे पनि बिक्रीमा तत्काल ठूलो वृद्धि ल्याउने सम्भावना कम रहेको जनाएको छ । समग्रमा यस वर्ष सामसुङका लागि राम्रो हुने देखिएको छ भने चिनियाँ स्मार्टफोन कम्पनीहरूले बजारमा आफ्नो स्थान जोगाउन थप चुनौतीको सामना गर्नुपर्ने देखिएको छ ।
१५- एसिया प्रिक्वालिफायरमा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुभकामनासहित बिदाइ गरेका छन् । प्रतियोगिता अगस्ट २४ देखि २९ तारिखसम्म संयुक्त अरब इमिरेट्समा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित सहभागिता जनाउँदैछ । नेपाली टोलीको कप्तानी सदिश प्रधान र उपकप्तानी विनोद महर्जनले गर्नेछन् । टोलीमा श्रेयसबहादुर शाह, असिम श्रेष्ठ, सौरभ श्रेष्ठ, निश्चल महर्जन, सुदिप पौडेल क्षेत्री, अजय कुश्वाह, कमल थापा, पेम्बा शेर्पा, सिमोन गुरुङ र प्रणयमान श्रेष्ठ रहेका छन् । टोलीका प्रमुख प्रशिक्षक सुशिल गुरुङ र सहायक प्रशिक्षक आशिष न्यौपाने छन् । टोली व्यवस्थापक नरेन्द्र थापा रहेका छन् भने फिजियो अभिप्सासिंह कोइराला, चिकित्सक डा. रुपेश केसी र सञ्चार अधिकृत सिद्धार्थ खड्का पनि टोलीसँगै जानेछन् । टोलीका अन्य पदाधिकारीमा भीमसिंह गुरुङ, राजेन श्रेष्ठ र सरोजा कोइराला श्रेष्ठ रहेका छन् ।
१६- देशभर धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये ९८ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । कृषि विभागले सार्बजनिक गरेको भदौ ५ गतेसम्मको तथ्याङ्कअनुसार कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये १३ लाख ४१ हजार ७६४ हेक्टरमा धान रोपाइँ सकिएको हो । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँको गति केही बढेको छ । गत वर्ष भदौ १ गतेसम्म देशभर ९६.०८ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको थियो । यस वर्ष सोही अवधिको तुलनामा रोपाइँ दर १.९२ प्रतिशतले बढी रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ ।
उक्त प्रदेशमा धान रोपाइँ हुने एक लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमै रोपाइँ सकिएको छ । कर्णाली प्रदेशमा ४३ हजार २९० हेक्टरमध्ये ४२ हजार ६४० हेक्टरमा रोपाइँ भएको छ, जुन कुल क्षेत्रफलको ९८.५० प्रतिशत हो । मधेश प्रदेशमा यस वर्ष रोपाइँको अवस्था उल्लेख्य सुधार भएको छ । गत वर्षको सोही अवधिमा ८६.३५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएकोमा यस वर्ष बढेर ९८.१० प्रतिशत पुगेको छ । धान उत्पादनका दृष्टिले महत्वपूर्ण मानिने मधेशमा रोपाइँ दरमा आएको सुधारले समग्र राष्ट्रिय तथ्याङ्कमा समेत सकारात्मक प्रभाव पारेको छ । लुम्बिनी प्रदेशमा ९७.८७ प्रतिशत, वाग्मती प्रदेशमा ९७.८२ प्रतिशत, कोशी प्रदेशमा ९७ प्रतिशत र गण्डकी प्रदेशमा ९६.६८ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। यससँगै अधिकांश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यस बर्ष पनि अघिल्ला बर्षमा जस्तै धानको रोपाइँमा मल खादको अभाव हुदा समयमै रोपाइँ गर्न नपाएको किसानको गुनासो रहेको छ । कृषि नेपालको प्रमुख खाद्यान्न बालीमध्ये एक भएकाले धान रोपाइँको प्रगति समग्र खाद्य सुरक्षाका लागि महत्वपूर्ण मानिन्छ ।
१७- इङ्ल्यान्डले पाकिस्तानलाई पहिलो टेस्टमा इनिङ्स र १०३ रनले पराजित गर्दै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । इङ्ल्यान्डले पाकिस्तानलाई दोस्रो इनिङ्समा १३५ रनमै समेटेपछि खेल तेस्रो दिनमै सकिएको हो । पहिलो इनिङ्समा पाकिस्तान १७१ रनमा अलआउट भएपछि इङ्ल्यान्डले ४०९ रन बनाउँदै २३८ रनको विशाल अग्रता लिएको थियो । पाकिस्तानको दोस्रो इनिङ्समा मोहम्मद रिजवानले सर्वाधिक ४१ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । इङ्ल्यान्डका ओली रोबिन्सनले तीन तथा जोस टङ र जोफ्रा आर्चरले समान तीन विकेट लिए । रोबिन्सनले पहिलो इनिङ्समा पाँच विकेटसहित खेलमा कुल आठ विकेट लिए । जोस टङले पनि कुल आठ विकेट लिए । उत्कृष्ट प्रदर्शन गरेका रोबिन्सन खेलका उत्कृष्ट खेलाडी घोषित भए । यसअघि इङ्ल्यान्डका ह्यारी ब्रुकले ९१, जोर्डन कक्सले ७३, जो रुटले ६६ र डेन लरेन्सले ५१ रन बनाएपछि इङ्ल्यान्डले बलियो योगफल खडा गरेको थियो । अब सिरिजको दोस्रो खेल अगस्त २७ देखि लर्ड्समा हुने तालिका छ ।
१८- आर्सनलले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति एमिरेट्स रंगशालामा भएको खेलमा आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीलाई ३-० गोलले पराजित गरेको हो । आर्सनलको जितमा काइ हाभेर्ट्ज, बुकायो साका र कप्तान मार्टिन ओडेगार्डले एक एक गोल गरेका थिए । हाभेर्ट्जले खेलको १५औँ मिनेटमा आर्सनललाई अग्रता दिलाए । क्रिस्टोस त्जोलिसले कोभेन्ट्रीको रक्षापंक्तिबाट बल खोसेपछि रिकार्डो कालाफियोरीले दिएको तल्लो क्रसलाई हाभेर्ट्जले उत्कृष्ट फिनिसिङ गर्दै गोलमा परिणत गरेका थिए । आर्सनलले २३औँ मिनेटमा अग्रता दोब्बर बनायो ।
डेक्लान राइसको पासमा त्जोलिसले दिएको क्रस कोभेन्ट्रीका गोलरक्षकले पूर्ण रूपमा नियन्त्रण गर्न नसकेपछि बुकायो साकाले नजिकैबाट गोल गर्दै आर्सनललाई २-० को अवस्थामा पुर्याए । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफ सुरु भएको केही मिनेटमै तेस्रो गोल थप्यो । ४९औँ मिनेटमा मार्टिन ओडेगार्डले साका र बेन ह्वाइटसँगको समन्वयपछि प्रहार गरेको बल कोभेन्ट्रीका गोलरक्षकलाई छक्याउँदै जाली चुम्यो । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र आर्सनल ३-० को जितसहित तीन अंक जोड्न सफल भयो । खेलमा आर्सनलले ६४.५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै २० पटक गोलतर्फ प्रहार गरेको थियो । त्यसमध्ये ६ प्रहार लक्ष्यमा थिए । कोभेन्ट्रीले भने चार पटक मात्र गोलतर्फ प्रहार गर्दा एउटा मात्र लक्ष्यमा थियो । यो जितसँगै आर्सनलले उपाधि रक्षा अभियानलाई प्रभावशाली ढंगले सुरु गरेको छ । अर्कोतर्फ, २५ वर्षपछि शीर्ष श्रेणीको लिगमा फर्किएको कोभेन्ट्रीका लागि पहिलो खेलमै बलियो आर्सनलविरुद्धको हार कठिन सुरुवात बनेको छ । त्यसैगरी आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाका लागि यो इङ्लिस प्रिमियर लिगमा १५०औँ जित समेत बनेको छ ।
१९- हिरासतमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई किसिमको छुट वा सम्झौता हुने चर्चा चलेको छ । खानको स्वास्थ्य उपचारसम्बन्धी सर्वोच्च अदालतको आदेशपछि उनलाई अस्पताल लगिने चर्चा भए पनि उनलाई पाकिस्तानको चिकित्सा विज्ञान संस्थान लगेर पुनः अदियाला जेल फर्काइएको थियो । त्यसपछि खानसँग कुनै गोप्य सम्झौता वा छुटका लागि पहल भइरहेको अड्कलबाजी सुरु भएको छ । तर जियो न्यूजले एक रिपोर्ट प्रकाशित गर्दै इमरानसँग पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र सेनाप्रमुख असीम मुनीरले कुनै किसिमको सम्झौता गर्ने वा उनलाई कुनै किसिमको छुट दिने भन्ने बारेमा सहमति नभएको उच्च स्रोतलाई उल्लेख गर्दै स्पष्ट पारेको छ । पाकिस्तानमा राजनीतिक तथा सैन्य नेतृत्वबीचको हरेक असामान्य घटनालाई विगतमा जस्तै ‘सम्झौता’, ‘छुट’ वा ‘मतभेद’को दृष्टिले हेर्ने प्रवृत्ति रहे पनि वर्तमान अवस्था विगतभन्दा फरक रहेको जनाएको छ । यसअघि शुक्रबार इमरान खानलाई स्वास्थ्य परीक्षणपछि पुनः अदियाला जेल पठाइएको थियो । शिफा अन्तर्राष्ट्रिय अस्पतालमा ६ जना विशेषज्ञ चिकित्सकको टोलीले परीक्षण गरेपछि उनलाई तत्काल अस्पतालमै भर्ना गर्न आवश्यक नरहेको निष्कर्ष निकालेपछि जेल फिर्ता लागिएको थियो । सर्वोच्च अदालतले स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनलाई दुई दिनभित्र अस्पतालमा परीक्षण तथा उपचारका लागि लैजान आदेश दिएको थियो । सरकारले उक्त आदेशविरुद्ध पुनरावलोकन निवेदन दिए पनि सर्वोच्च अदालतको रजिस्ट्रार कार्यालयले आपत्ति जनाउँदै निवेदन फिर्ता गरिदिएको थियो । इमरान खान सन् २०२३ को अगस्टदेखि जेलमा छन् । उनीविरुद्ध विभिन्न मुद्दामा सजाय सुनाइएको छ । उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफले भने जेलको अवस्थाले उनको स्वास्थ्यमा असर गरिरहेको दाबी गर्दै आएको छ ।
२०- अमेरिकी अदालतले ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने डोनाल्ड ट्रम्प प्रशासनको नीति खारेज गरेको छ । न्यायाधीश जेनेट वर्गासले उक्त नीति कानुनविपरीत रहेको भन्दै विदेशमन्त्री मार्को रुबियोलाई यस्तो निर्णय गर्ने कानुनी अधिकार नभएको ठहर गरेकी छन् । जनवरीदेखि लागू गरिएको उक्त नीतिबाट नेपालसहित अफगानिस्तान, अल्बानिया, अल्जेरिया, एन्टिगुवा र बारबुडा, आर्मेनिया, अजरबैजान, बहामास, बंगलादेश, बार्बाडोस, बेलारुस, बेलिज, भुटान, बोस्निया तथा हर्जेगोभिना, ब्राजिल, बर्मा, कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, कोट दिभ्वार, क्युबा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, डोमिनिका, इजिप्ट, इरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनाडा, ग्वाटेमाला, गिनी, हैटी, इरान, इराक, जमैका, जोर्डन, काजाकिस्तान, कोसोभो, कुवेत, किर्गिज गणतन्त्र, लाओस, लेबनान, लाइबेरिया, लिबिया, मोल्डोभा, मङ्गोलिया, मोन्टेनेग्रो, मोरक्को,निकारागुवा, नाइजेरिया, उत्तर म्यासेडोनिया, पाकिस्तान, कङ्गो गणतन्त्र, रुस, रुवान्डा, सेन्ट किट्स एन्ड नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडिन्स, सेनेगल, सिएरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्यान्ड, टोगो, ट्युनिसिया, युगान्डा, उरुग्वे, उज्बेकिस्तान र यमन प्रभावित भएका थिए । अमेरिकी सरकारले ती देशका नागरिकमा सरकारी सेवामा निर्भर हुने जोखिम उच्च रहेको भन्दै भिसा रोक्ने निर्णय गरेको थियो । आप्रवासी अधिकार समूह र प्रभावित परिवारका सदस्यले दायर गरेको मुद्दामा अदालतले यस्तो फैसला गरेको हो। अधिकार समूहहरूले ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिले अल्पसंख्यक समुदायको अधिकार प्रभावित भएको आरोप लगाउँदै आएका छन् ।