काठमाडौं । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको चर्चित सम्मेलन ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ को पाँचौँ संस्करण यसै साता आयोजना हुने भएको छ ।
आईसीटी फाउन्डेसन नेपालले आयोजना गर्ने कन्क्लेभ भदौ ११ गते बिहीवार ललितपुरस्थित द प्लाजामा आयोजना हुने भएको हो । यस वर्षको सम्मेलनको मुख्य विषय ‘रिइम्याजिनिङ गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ रहेको छ ।
डिजिटल रूपान्तरण तथा डिजिटल नेपाल निर्माणका लागि आवश्यक प्रविधि र डिजिटल इकोसिस्टमको विकासमा केन्द्रित कन्क्लेभ लगातार पाँच वर्षदेखि आयोजना हुँदै आएको छ ।
सरकारले सन् २०१९ मा सार्वजनिक गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क’ लाई आधार बनाएर सन् २०२० देखि डिजिटल रूपान्तरणसम्बन्धी संवाद र छलफल अघि बढाउँदै आएको आयोजकले जनाएको छ ।
यस वर्षको सम्मेलनमा सुशासनलाई प्राथमिकता दिइएको नयाँ सरकारको नीतिसँग जोड्दै डेटामा आधारित शासन प्रणाली र डिजिटल अर्थतन्त्रलाई छलफलको प्रमुख विषय बनाइएको छ ।

कन्क्लेभमा तीनभन्दा बढी ‘किनोट’ प्रस्तुति, पाँचवटा विषयगत प्यानल छलफल तथा एक ‘पावर डायलग’ सत्र सञ्चालन हुने आयोजकले जनाएको छ ।
विभिन्न क्षेत्रका विज्ञहरूको प्रस्तुतिसँगै ‘डिजिटल स्पार्क’ अन्तर्गत डिजिटल नेपालका लागि विकास भइरहेका १० भन्दा बढी नवीन प्रविधि तथा समाधानसमेत प्रस्तुत गरिनेछ ।
सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सांसद, मन्त्री, प्रविधि क्षेत्रका विज्ञ तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सहभागिता रहनेछ। आयोजकका अनुसार कार्यक्रममा पाँच सयभन्दा बढी सहभागी प्रत्यक्ष रूपमा सहभागी हुने अपेक्षा गरिएको छ ।
आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष रोजन लाम्सालले डिजिटल नेपाल निर्माणका लागि सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाबीच संयुक्त छलफलको वातावरण सिर्जना गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताए ।
उनका अनुसार डिजिटल इकोसिस्टम निर्माणका लागि सरकार तथा निजी क्षेत्रबाट भइरहेका प्रयासलाई प्रविधि र नवप्रवर्तनसँग जोड्दै नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा समेत सम्मेलनले जोड दिनेछ ।
यस वर्षको कन्क्लेभमा नेपालमै नेपालीहरूले विकास गरेका ‘टिङटिङ’ र ‘थर्ड फ्याक्टर एआई’ लगायतका प्रविधि विशेष सहकार्यका रूपमा प्रस्तुत हुनेछन्। कार्यक्रममा २० भन्दा बढी नेपाली प्रविधि तथा नवप्रवर्तनका उत्पादनसमेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।
त्यस्तै, सहभागीले प्रत्यक्ष अनुभव गर्न सक्ने गरी टिङटिङका ओम्नी लाइभ इन्टर्याक्सन, आउटबाउन्ड र रेस्पोन्सिभ एजेन्ट लगायतका एआई प्रविधिको प्रदर्शनसमेत गरिनेछ ।
कार्यक्रममा अनलाइन यात्रा टिकटिङ प्लेटफर्म ‘सस्तो टिकट’ र फिनटेक कम्पनी ‘फोनपे’ ‘पावर्ड बाइ पार्टनर’ का रूपमा सहभागी छन् । त्यस्तै, एनएएस–आईटी, क्यान फेडेरेसन, एनसेल बिजनेस, स्काई आईटी, काटा हो, यती क्लाउड, डिसहोम, नासा एक्स, रि–सिक्युरिटी, कोड एक्स स्कुल, नेपाल टेलिकम, ग्लोबल स्पार्कलगायत संस्थाको सहकार्य र समर्थन रहेको आयोजकले जनाएको छ ।
तीन प्रमुख विषयमा छलफल
कन्क्लेभमा मुख्यत: तीन रणनीतिक क्षेत्रमा छलफल केन्द्रित हुनेछ । गभर्नेन्स तथा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर अन्तर्गत संस्थागत डिजिटल सुधार, नागरिकमैत्री स्मार्ट सेवा, एकीकृत डिजिटल पहिचान, नीतिगत नवप्रवर्तन तथा डेटामा आधारित निर्णय प्रक्रियाबारे छलफल हुनेछ ।
त्यस्तै, डेटा, एआई तथा साइबर सुरक्षा अन्तर्गत राष्ट्रिय डेटा सार्वभौमिकता, एआईको नैतिक प्रयोग, साइबर सुरक्षा, डिजिटल विश्वास तथा विभिन्न क्षेत्रमा डेटाको अन्तरसञ्चालनका विषयमा छलफल गरिनेछ ।
डिजिटल अर्थतन्त्र तथा नवप्रवर्तन अन्तर्गत डिजिटल रूपान्तरण, डिजिटल क्षेत्रमा लगानीका अवसर तथा भविष्यका लागि आवश्यक डिजिटल जनशक्तिबारे छलफल हुनेछ ।
अन्तिम सत्रमा डिजिटल नेतृत्व र रूपान्तरणका लागि राजनीतिक प्रतिबद्धताको विषयमा संवाद गरिने आयोजकले जनाएको छ । सरकार, नीति निर्माता, प्रविधि उद्योग, स्टार्टअप, लगानीकर्ता, शैक्षिक क्षेत्र, विकास साझेदार तथा युवा नवप्रवर्तकलाई एउटै मञ्चमा ल्याएर आयोजना गरिने कन्क्लेभले नेपालको डिजिटल भविष्यका लागि नीतिगत संवाद, ज्ञान आदानप्रदान, लगानीका अवसर तथा रणनीतिक सहकार्यलाई थप बल पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी हुन इच्छुकले आयोजकको आधिकारिक वेबसाइटमार्फत टिकट खरिद गर्न सक्नेछन् ।