काठमाडौं । मुक्तिनाथ विकास बैंकले टाटाका सवारीसाधन खरिद गर्न कर्जा दिने भएको छ ।
यसका लागि बैंक र नेपालमा टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिबिच सम्झौता भएको छ ।
समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) तारा मानन्धर र सिप्रदीका तर्फबाट उपाध्यक्ष सौरभराज थपलियाले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार सिप्रदीका अधिकृत डिलरमार्फत टाटा ब्रान्डका पिकअप तथा व्यावसायिक साना सवारीसाधन खरिद गर्ने ग्राहकलाई यस बैंकले आफ्ना एक सय ७६ वटै शाखा कार्यालयबाट सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ ।
इभी गाडीतर्फ ६० प्रतिशत तथा आइस इन्जिन सवारीसाधनका लागि ७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुने समझदारीपत्रमा उल्लेख छ । यस सहकार्यबाट व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय पहुँच प्राप्त हुने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

साथै, बैंकले हाल अटो कर्जा, कृषि र एसएसई कर्जामा समेत न्यूनतम ब्याजदरमा कर्जा प्रदान गर्ने अफर ल्याएको छ ।