काठमाडौं । सीजी एमएडब्लु इभोलुसन प्रालिले ’नाडा अटो शो २०२६’ को पहिलो दिन नेपालमा नयाँ ’अवतार ०७’ औपचारिकरूपमा सार्वजनिक गरेको छ।
एमएडब्लु ग्रुपका अध्यक्ष विष्ण्ॉकुमार अग्रवाल, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी, चांगान इन्टरनेसनल कर्पोरेसनका प्रतिनिधि दु काइजियान (केभिन) र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्तरूपमा अनावरण गरे।
यससँगै नेपाली बजारमा अर्को प्रिमियम तथा इन्टेलिजेन्ट विद्युतीय सवारीसाधनको प्रवेश भएको कम्पनीको भनाइ छ।
’स्मार्ट एलिगेन्स, एफर्टलेस लक्जरी’ अर्थात् स्मार्ट सौन्दर्य र सहज विलासिताको अवधारणामा तयार गरिएको ’अवतार ०७’ले विशिष्ट डिजाइन, बौद्धिक प्रविधि, परिष्कृत आराम र विद्युतीय कार्यक्षमतालाई एउटै सवारीसाधनमा समेटेको कम्पनीले जनाएको छ।
यो प्रिमियम विद्युतीय एसयूभीमा ८२.१६ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एनईडीसी परीक्षण मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा अधिकतम ५७५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।


यसको रियर–ह्विल–ड्राइभ पावरट्रेनले १९० किलोवाट अधिकतम पावर र ३६५ एनएम टर्क उत्पादन गर्छ। यसले गाडीलाई ७.७ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्षम बनाउँछ।
अवतार ०७ को प्रविधिमैत्री र विलासी क्याबिनमा ३५.४ इन्चको फोर–के पानोरामिक डिस्प्ले, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन, नाप्पा लेदर अपहोल्स्ट्री, ६४ रंगको एम्बियन्ट लाइटिङ र १६ वटा स्पिकरसहितको पायोनियर अडियो सिस्टम उपलब्ध छन्।
यसका अन्य प्रमुख विशेषतामा जिरो–ग्राभिटी फ्रन्ट सिट, सिट भेन्टिलेसन तथा हिटिङ, मसाज सुविधा, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो तथा ५० वाटको वायरलेस स्मार्टफोन चार्जर समावेश छन्।
सुरक्षालाई प्राथमिकता दिँदै अवतार ०७ मा नौवटा एयरब्याग र विभिन्न इन्टेलिजेन्ट ड्राइभर–असिस्टेन्स तथा सुरक्षा प्रविधि उपलब्ध गराइएको छ। यी प्रणालीलाई लाइडार, विभिन्न हाई–डेफिनिसन क्यामेरा र अल्ट्रासोनिक–वेभ राडारले सहयोग गर्छन्।
नेपालमा अवतार ०७ को अधिकतम खुद्रा मूल्य २ करोड २० लाख रूपैयाँ निर्धारण गरिएको छ भने एफएचडीसहितको अवतार ०७ को मूल्य २ करोड ३० लाख रूपैयाँ तोकिएको छ।
अवलोकनकर्ताले नाडा अटो शो २०२६ अवधिभर अवतार पेभिलियनमा नयाँ अवतार ०७ प्रत्यक्ष अवलोकन तथा अनुभव गर्न सक्नेछन्।