काठमाडौं । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।
दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा तय भएको कार्यक्रम मुलुकका विभिन्न जिल्लामा बाढीले पुर्याएको क्षतिका कारण स्थगित गरिएको हो।
तिब्बततर्फबाट आएको भीषण बाढीले विभिन्न जिल्लामा ठुलो क्षति पुर्याएपछि प्रधानमन्त्री वालेन्द्र साहले विपद्पछिको खोज, उद्धार र राहतका विषयमा विभिन्न संयन्त्रसँगको छलफलमा व्यस्त छन्।
विपद्को संवेदनशील समयमा अन्य विषयमा छलफल नगर्ने गरी प्रश्नोत्तर कार्यक्रम स्थगित गर्न लागिएको जानकारी संघीय संसद् सचिवालय स्रोतले दियो । प्रश्नोत्तर कार्यक्रम स्थगित भए पनि संसद्मा विपद्को विषयमा भने छलफल हुनेछ।
बैठकमा गृहमन्त्री सुधन गुरुङले रसुवाको बाढी र त्यसले निम्त्याएको क्षतिका बारेमा संसद्लाई आधिकारिक जानकारी गराउने तयारी छ।

बाढी र विपद्को अवस्थालाई ध्यानमा राख्दै आजका अन्य सम्भावित कार्यसूचीहरू समेत हटाइएको छ।