काठमाडौं । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले सनरुफसहितको बीवाइडी एटो टुको सुपेरियर भेरियन्ट सार्वजनिक गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मार्फत कम्पनीले एटो टुको नयाँ भेरियन्ट बिक्री सुरु गरेको हो ।
कम्पनीले एटो टु सुपेरियर भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यसअघि गत नाइमा मोबिलिटी एक्स्पोमा कम्पनीले एटो टुको सस्तो इसेन्सियल भेरियन्ट ४५ लाख ९५ हजार रुपैयाँमा सार्वजनिक गरेको थियो ।
बीवाइडी एटो टु हाल नेपालमा सर्वाधिक रुचाइएको विद्युतीय एसयूभीमध्ये एक हो । २०८२ साउनमा नेपालमा सार्वजनिक भएको एटो टु एक वर्षमै करिब २ हजार ५०० युनिट आयात भइसकेको कम्पनीले जनाएको छ ।

आकर्षक डिजाइन, आधुनिक फिचर, उपयुक्त आकार र प्रतिस्पर्धी मूल्यका कारण एटो टु ग्राहकको रोजाइमा परेको हो ।
एटो टुमा १०० किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ मोटर जडान गरिएको छ । यसमा ५१.१३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसले एकपटकको फुल चार्जमा ३४५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिने कम्पनीको दाबी छ ।
गाडीको लम्बाइ ४,३१० एमएम, चौडाइ १,८३० एमएम र उचाइ १,६७५ एमएम रहेको छ । यसको ह्वीलबेस २,६२० एमएम र ग्राउण्ड क्लियरेन्स २०० एमएम छ । एटो टुको बुट स्पेस ४०० लिटर रहेको छ ।
इन्टेरियरतर्फ एटो टुमा १२.८ इन्चको रोटेटिङ टचस्क्रिन, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट प्यानल तथा फोर–स्पोक फ्ल्याट–बटम स्टेरिङ ह्वील दिइएको छ । यसमा ५० वाटको वायरलेस कुलिङ चार्जिङ प्याड, सेन्टर कन्सोल स्टोरेज कम्पार्टमेन्ट, पावर्ड तथा भेन्टिलेटेड फ्रन्ट सिट, लेदरेट सिट कभर र ८ वटा स्पिकर छन् ।
त्यस्तै, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, भ्वाइस असिस्ट र इलेक्ट्रिक टेलगेटलगायतका सुविधा पनि उपलब्ध छन् ।
सुरक्षाका लागि एटो टुमा ६ वटा एयरब्याग, एबीएस, ईपीबी, ईएससी, हिल असिस्ट, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा तथा बीवाइडी डिजिटल की दिइएको छ । यसमा लेभल–२ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) समेत उपलब्ध रहेको छ ।