काठमाडौं। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुन:स्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो। बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावितको तत्काल उद्धार, राहत तथा पुन:स्थापनाका लागि सहयोग घोषणा गरिएको एनसेलले जनाएको छ।
यसैबीच, एनसेलले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना ग्राहकलाई नि:शुल्क सञ्चार सेवा उपलब्ध गराएको उल्लेख गरेको छ। हिजोदेखि लागू हुने गरी भ्वाइस र डेटा सेवा तथा १०० वटा एसएमएस तीन दिनसम्म नि:शुल्क उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले विपद्को कठिन घडीमा प्रभावित जनताको साथमा उभिनु साझा जिम्मेवारी भएको बताइन्। उद्धार, राहत र पुन:स्थापनाका लागि सरकार तथा सम्बन्धित निकायलाई सहयोग गर्ने उद्देश्यले १ करोड प्रदान गर्ने निर्णय गरिएको उनको भनाइ छ।
एनसेलले आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै सम्भव सहयोग तथा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।