काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- भारतले बाढी तथा विपद्बाट प्रभावित नेपालका लागि १० टन मानवीय सहायता सामग्रीसहितको तेस्रो विमान काठमाडौँका लागि पठाएको छ । भारतका विदेशमन्त्री डा. एस जयशंकरका अनुसार विमानमा पोर्टेबल जेनेरेटर, व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री, खाद्य प्याकेट तथा पानी शुद्धीकरण गर्ने औषधि रहेका छन् । उक्त विमानमा सुरुङभित्र फसेकाको उद्धारका लागि चिकित्सक, स्वास्थ्य सहायक तथा खोजी टोलीसहित ११ सदस्यीय टोली समेत रहेको जयशंकरले जानकारी दिएका छन् । भारतले यसअघि दुई पटक गरेर साढे ४७ टन मानवीय सहायता सामाग्री पठाएको थियो । भारतले नेपालमा जारी राहत तथा उद्धार कार्यमा निरन्तर सहयोग गर्ने जनाएको छ ।
२- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझ ७ बजेसम्म बाढी तथा विपद्का कारण १ हजार ९२४ जना सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, रसुवाका १६१, मकवानपुरका ६६ र नुवाकोटका १ जना रहेका छन् । त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका १५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
यसैगरी, ५१७ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १२७ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीनको संख्या थपघट हुन सक्ने जनाइएको छ । त्यस्तै प्राधिकरणले अहिलेसम्म ५७९ जनाको शव फेला परेको जानकारी दिएको छ ।
३- भारत सरकारले नेपालमा बाढीपछि राहत र उद्धारमा थप सहयोग पठाउने भएको छ । शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले पत्रकार सम्मेलन गर्दै बेलिब्रिज र टनेल रेस्क्यू टोली पठाउने जानकारी गराएका हुन् । विभिन्न हाइड्रोपावरभित्र फसेका कामदारहरूको उद्धारका लागि भारत सरकारले टनेल रेस्क्यू टिम पठाउन लागेको जैसवालले बताएका छन् । साथै नेपाल सरकारको अनुरोधमा बेलिब्रिज पनि पठाउने तयारी रहेको र बेलिब्रिज चाँडो जडान गर्नका लागि प्राविधिक टोली पनि पठाइने उनले जानकारी दिएका छन् । उनले भने-‘नेपालकै अनुरोधमा टनेल रेस्क्यु टिम पठाउदैछौ । त्यसका लागि रेकी टिम अवस्थाको जानकारी लिन र के कस्ता रेस्क्यू सामग्री चाहिन्छ त्यसका लागि पहिला जाने छ ।

त्यस्तै हामीले स्वास्थ्य टिम पनि पठाउदैछौं । त्यस्तै हामीले प्राविधिकसहित बेलिब्रिज पठाउदैछौं ताकी त्यसलाई छिटो जडान गर्न सकियोस् । एक बेलिब्रिज नेपाल पुगिसकेकोछ ।’ साथै उनले आजै राहत सामाग्रीको तेस्रो विमान आजै नेपाल पठाउने पनि उनले बताएका छन् । आज करिब १२ टन बराबर मानवीय सहायताको राहत सामाग्री पठाउन लागेको उनले जानकारी दिएका छन् । भारतले यसअघि दुई पटक गरेर साढे ४७ टन सामाग्री पठाएको थियो । त्यस्तै जैसवालले भारतले राष्ट्रिय विपद प्रतिकार्य बल (एनडिआरएफ) को टिमलाई आवश्यक सामग्रीसहित पठाउन प्रस्ताव राखेको र नेपाल सरकारको जवाफ फर्खिरहेको बताए ।
४- नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन भएको छ । दुर्लभ रक्तसम्बन्धी समस्याको उपचारका लागि अस्पताल भर्ना भएका उनको शुक्रबार बिहान ओस्लोस्थित राष्ट्रिय अस्पतालमा निधन भएको राजदरबारले जनाएको छ । ३५ वर्षसम्म राजगद्दीमा रहेका हेराल्ड लोकप्रिय तथा जनतासँग नजिक रहेका राजाका रूपमा चिनिन्थे । उनले राजसंस्थालाई थप पारदर्शी र जनमुखी बनाउँदै परम्परा तोडेर गैरराजपरिवारकी सोन्यासँग विवाह गरेका थिए । उनको निधनपछि छोरा हाकोनले राजगद्दी सम्हाल्ने भएका छन् । हेराल्डका पत्नी रानी सोन्या, छोरी राजकुमारी मार्था लुइसा, छोरा हाकोन र छ जना नातिनातिना रहेका छन् ।
५- परराष्ट्र मन्त्रालयले गत भदौ १० गते भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीबाट भएको क्षति बारे जानकारी दिदै सम्पर्कमा नभएका विदेशी नागरिकको विवरण सार्बजनिक गरको छ । मन्त्रालयले अहिलेसम्म ३३ देशका ६३२ विदेशी नागरिकमध्ये १२१ जना सम्पर्कमा आएको जानकारी दिदै ५११ जना अझै बेपत्ता रहेको जानकारी दिएको छ । विदेशी नागरिकतर्फ भारतका १७८ मध्ये ८५ जना फेला परेका छन् भने ९३ जना अझै बेपत्ता छन् । त्यस्तै चीनका १०० मध्ये १६ जना फेला परेका छन् भने ८४ जना बेपत्ता छन् । मलेसियाका ५१, युक्रेनका ५३, क्यानडाका २५, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र अमेरिकाका ६८ नागरिकसमेत सम्पर्कमा नरहेको मन्त्रालयले उल्लेख गरेको छ । सरकारले अहिलेको मुख्य प्राथमिकता प्रभावित क्षेत्रमा जीवन बचाउने, खोजी तथा उद्धार गर्ने, सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र राहत उपलब्ध गराउने रहेको जनाएको छ ।
बाढीबाट महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेकाले सरकारले प्रभावित क्षेत्रको अवस्था र तत्काल आवश्यक पर्ने सहयोगबारे थप मूल्याङ्कन गरिरहेको जनाएको छ । आवश्यकताअनुसार आधिकारिक माध्यमबाट सहयोगका लागि आग्रह गरिने बताइएको छ । विदेशमा रहेका नेपाली कूटनीतिक नियोगमार्फत समेत प्रभावित विदेशी नागरिकका परिवारलाई आवश्यक जानकारी तथा सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको जनाइएको छ । विदेश मन्त्रालयको आपत्कालीन टोलीमा ९७७–९७४४४४१२२७ र ९७७–९७४४४४१२२८ नम्बरमा बिहान ७ बजेदेखि राति १० बजेसम्म सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।
६- नेपालका चर्चित एमएमए फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी सिजन ५ को बान्टामवेटतर्फ फाइनलमा पुगेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा शुक्रबार भएको सेमिफाइनलमा धान्तले न्युजील्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गरेका हुन् । अब फाइनलमा रविन्द्रले जापानका फाइटर रोयो ताजिमासँग भिड्ने छन् । अब फाइनलमा जित हात पारेमा उनी नेपालको पहिलो यूएफसी फाइटर बन्नेछन् ।
७- जापानमा आयोजना हुने एसियाली खेलकुदमा भारतले क्रिकेटको मुख्य टोलीको सट्टा दोस्रो टोली पठाउने तयारी गरेको बताइएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई उदृत गर्दै जापानमा खेलाडीका लागि उपलब्ध आवास तथा खेल पूर्वाधारप्रति बोर्ड सन्तुष्ट नभएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । एसियाली खेलकुदमा क्रिकेटका खेल सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म सञ्चालन हुनेछन् । भारतले यसअघि पुरुष र महिला दुवै टोली घोषणा गरिसकेको भए पनि अहिले टोलीमा परिवर्तन गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । खेलाडी बस्ने होटलका कोठा निकै साना रहेको र दुई खेलाडीले खेल सामग्रीको झोला खोलेपछि हिँडडुल गर्नसमेत कठिन हुने अवस्था रहेको बताइएको छ ।
त्यस्तै, खेलाडीका लागि छुट्टै खेलाडी भिलेज निर्माण नगरिएकाले मैदानबाट करिब २० किलोमिटर टाढा होटलको व्यवस्था गरिएको छ । क्रिकेटका खेलका लागि छनोट गरिएको कोरोगी खेलकुद पार्क यसअघि बेसबल मैदानका रूपमा प्रयोग हुँदै आएको थियो । हालै मात्र क्रिकेट मैदानमा रूपान्तरण गरिएको उक्त मैदानको खेलपट्टी र मैदानको अवस्था अन्तर्राष्ट्रिय स्तरमा पर्याप्त परीक्षण नभएको बताइएको छ । यसैगरी खेलाडीका लागि बनाइएको विश्रामस्थल स्थायी भवनमा नभई पालमा रहेको र शौचालय करिब पाँच सय मिटर टाढा रहेको जनाइएको छ ।
यी व्यवस्थाप्रति पाकिस्तान क्रिकेट बोर्डले समेत चिन्ता व्यक्त गरेको छ । सुविधा र खेलपट्टीको अवस्थाबारे प्रश्न उठेपछि एसियाली क्रिकेट परिषद्ले प्राविधिक टोली जापान पठाउने निर्णय गरेको छ । टोलीले मैदान, अभ्यासस्थल तथा होटलको व्यवस्थाको निरीक्षण गर्नेछ । एसियाली खेलकुदमा क्रिकेट चौथोपटक समावेश हुँदैछ । सन् २०१० मा चीनको क्वाङ्चौमा पहिलोपटक क्रिकेट समावेश गरिएको थियो । त्यसपछि सन् २०१४ को इन्चोन खेलकुदमा पनि क्रिकेट समावेश भयो । सन् २०१८ मा हटाइएको क्रिकेट सन् २०२२ को हाङ्चौ खेलकुदमा पुनः समावेश गरिएको थियो, जहाँ भारत विजेता बनेको थियो । आगामी जापान खेलकुदमा क्रिकेट चौथोपटक समावेश हुन लागेको हो ।
८- भोटेकोशी बाढीले सडक सञ्जाल विच्छेद भएको रसुवा सडक सञ्जालसँग पुनः जोडिएको छ । काठमाडौं-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली -पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएका हुन् । सडकखण्ड सुचारु भएसँगै रसुवा सडक सञ्जालसँग पुनः जोडिएको छ । एशियाली खेलकुदमा पुरुषतर्फ १० र महिलातर्फ ८ देशले भाग लिदैछन् । जसमा पुरुषतर्फ अफगानिस्तान, बंगलादेश, हङकङ, भारत, जापान, मलेसिया, नेपाल, ओमान, पाकिस्तान, श्रीलंका र थाइल्याण्ड रहेका छन् । त्यस्तै महिलातर्फ बंगलादेश, चीन, भारत, जापान, मलेसिया, पाकिस्तान, श्रीलंका र थाइल्याण्ड रहेका छन् ।
९- नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा रहेको माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनामा कार्यरत ११ जना कर्मचारी सम्पर्कमा रहेको जनाएको छ । प्राधिकरणका अनुसार सम्पर्कमा रहेका कर्मचारीहरूमा सञ्जोगकुमार केसी, मोहन ज्ञवाली, रविन्द्र भट्ट, सुरेश चौधरी, विष्णु भण्डारी, खेमराज भट्टराई, सौगारथ यादव, जितेन्द्र गुप्ता, रोवन पराजुली, भीमसेन थापा र विक्रम माझी रहेका छन् । प्राधिकरणले उनीहरूको अवस्था सुरक्षित रहेको जानकारी दिएको छ । मोहन ज्ञवाली भने सेती फेवामा कार्यरत रहेको प्राधिकरणले जनाएको छ ।
१०- निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि केही १३२ केभी प्रसारण लाइन निर्धारित ‘सटडाउन’मा रहेका बेला खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । विद्युत् प्राधिकरणका अनुसार बिहान ६: ४० बजेदेखि हेटौंडा–अमलेखगञ्ज र कमाने–अमलेखगञ्ज १३२ केभी प्रसारण लाइन निर्धारित सटडाउनमा थिए। त्यस समयमा विद्युत् प्रणाली ढल्केबर–खुर्कोट–खिम्ती–भक्तपुर–स्युचाटार प्रसारण मार्गबाट सञ्चालन भइरहेको थियो । यसै क्रममा बिहान ८: ५२ बजे खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको सर्किट–१ को तार चुडिएर लाइन ट्रिप भएको थियो ।
त्यसपछि बिहान ९: १८ बजे सोही प्रसारण लाइनको सर्किट–२ समेत ट्रिप भएपछि विद्युत् प्रसारण सम्पर्क विच्छेद हुँदा काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राधिकरणले वैकल्पिक प्रसारण मार्ग प्रयोग गरेको थियो । भारतको उत्तर प्रदेशस्थित सम्पतिया सबस्टेसनबाट मैनहिया सबस्टेसन हुँदै विद्युत् आपूर्ति सञ्चालन गरिएको हो । वैकल्पिक व्यवस्थामार्फत बिहान ९: ४४ बजेदेखि काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पुनःसुचारु गरिएको प्राधिकरणले जनाएको छ । हाल सम्बन्धित प्राविधिक टोलीले अवरुद्ध प्रसारण प्रणालीको स्थलगत निरीक्षण तथा आवश्यक मर्मतसम्भारको काम गरिरहेको छ । प्रसारण लाइनमा देखिएको समस्या पहिचान गरी प्रणालीलाई नियमित सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।
११- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र अमेरिकाबीच रहेको लेक ओन्टारियोको नाम परिवर्तन गरी ‘लेक अमेरिका’ राख्ने आदेशमा हस्ताक्षर गरेका छन् । आदेशअनुसार ३० दिनभित्र अमेरिकी सरकारी नक्सा र अभिलेखमा नयाँ नाम प्रयोग गरिनेछ। ट्रम्पले यसलाई यसअघि मेक्सिकोको खाडीको नाम परिवर्तन गरी ‘अमेरिकाको खाडी’ राख्ने निर्णयसँग तुलना गरेका छन् । तर क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले नाम परिवर्तनलाई अस्वीकार गर्दै आफ्नो देशले उक्त जलाशयलाई लेक ओन्टारियो नै भन्ने बताएका छन् । लेक ओन्टारियो अमेरिका र क्यानडाबीचको साझा ठूलो तालमध्ये एक हो । अमेरिकाले आफ्ना सरकारी अभिलेखमा नाम परिवर्तन गरे पनि क्यानडा वा अन्य देश त्यसलाई मान्न बाध्य हुने छैनन् । यो निर्णय अमेरिका र क्यानडाबीच व्यापारिक तनाव बढिरहेका बेला आएको हो। ट्रम्प प्रशासनले क्यानाडाली सामानमा भारी कर लगाएपछि दुई देशबीच विवाद चर्किएको छ ।
१२- सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यस्तै, बैठकले गत बुधबार नेपाल-चीन सीमा रसुवागढी एवम् भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि सहुलित तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । साथै बैठकले भारतसँग जिटुजी खरिदमाध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ ।
१३- रसुवाको भोटेकोशी नदीमा बाढी बढ्दै गएपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर बनेको ताल भरिएपछि पानी बग्न थालेको छ । चीनले परराष्ट्र मन्त्रालयलाई दिएको पछिल्लो सूचनामा चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण बनेको ठूलो अस्थायी ताल फुटेको नभई भरिएर बग्न थालेको बताइएको छ । भोटेकोशी नदीमा बाढी बहाव बढिरहेको र बाढी साढे १२ बजे स्याफ्रुबेंसी काटेको महाशाखाले जानकारी दिएको छ । बाढीको प्रभाव त्रिशूली नदीमा समेत पर्न सक्ने जोखिम रहेकाले त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
१४- इंग्ल्यान्ड र पाकिस्तानबीच लर्ड्समा दोस्रो टेस्ट खेल भइरहेका बेला पाकिस्तानले खेल बहिष्कार गर्ने चेतावनी दिएको खुलेको छ । खेलका आधिकारिक प्रसारक स्काई स्पोर्ट्सले पाकिस्तानका जेलमा रहेका पूर्वकप्तान तथा पूर्वप्रधानमन्त्री इमरान खानका छोराहरू कासिम र सुलेमान खानको अन्तर्वार्ता प्रसारण गरेपछि पाकिस्तान क्रिकेट बोर्ड असन्तुष्ट बनेको खुलासा भएको छ । इंग्ल्यान्डका पूर्वकप्तान माइक एथरटनले गरेको अन्तर्वार्तामा इमरानका छोराहरूले आफ्ना बुबाको स्वास्थ्य र कमजोर हुँदै गएको दृष्टिबारे चिन्ता व्यक्त गरेका थिए । पाकिस्तान क्रिकेट बोर्डले खेल प्रसारणमा राजनीतिक विषय समावेश गरिएको भन्दै औपचारिक उजुरी दर्ता गरेको थियो । पाकिस्तानले अन्तर्वार्ता प्रसारण भए आफ्ना खेलाडीलाई दिउँसोको सत्रमा मैदानमा नपठाउने चेतावनी दिएको थियो । तर स्काई स्पोर्ट्सले लन्च ब्रेकमा अन्तर्वार्ता प्रसारण गर्नुअघि नै रोकिदिएपछि पाकिस्तान आफ्नो चेतावनीबाट पछि हटेको बताइएको छ ।
पाकिस्तानी टोली दिउँसोको सत्रमा मैदानमा फर्किएको थियो । ७३ वर्षीय इमरान खान सन् २०२३ को अगस्टदेखि जेलमा छन् । भ्रष्टाचारसम्बन्धी मुद्दामा उनलाई १४ वर्षको जेल सजाय सुनाइएको छ । उनले आफूविरुद्धका मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित रहेको बताउँदै आएका छन् । यसअघि कपिल देव, सुनील गावस्करलगायत पूर्वअन्तर्राष्ट्रिय कप्तानहरूले इमरानको स्वास्थ्य र उचित उपचारको व्यवस्था गर्न पाकिस्तानी सरकारसँग आग्रह गरिसकेका छन् ।
१५- सुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटिरहेका बेला अनधिकृत रूपमा रकम सङ्कलन भइरहेको भन्दै प्रधानमन्त्री सचिवालयले सहयोगकर्तालाई सजग रहन आग्रह गरेको छ । कतिपय व्यक्ति, समूह तथा संस्थाले जथाभावी क्यूआर कोड र व्यक्तिगत बैंक खाता नम्बर सार्वजनिक गरी रकम सङ्कलन गरिरहेकोप्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विपद्को कठिन अवस्थामा प्राप्त हुने सहयोगको पारदर्शी रूपमा उपयोग, उचित व्यवस्थापन तथा सम्भावित आर्थिक ठगीबाट बच्न सरकारले सार्वजनिक गरेका आधिकारिक क्यूआर कोड र बैंक खाता नम्बरमा मात्र रकम सहयोग गर्न सचिवालयले अनुरोध गरेको छ ।सचिवालयले भनेको छ- ‘विपद्का बेला हुने आर्थिक सहयोग सही ठाउँमा पुग्ने सुनिश्चितताका लागि सरकारले सार्वजनिक गरेका आधिकारिक क्यूआर कोड र खातामार्फत मात्र सहयोग गर्नुहोस् ।’ सरकारका तर्फबाट बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाउन सञ्चालनमा रहेका दुई मुख्य कोष र तिनका खाता विवरणसमेत सार्वजनिक गरिने सचिवालयले जनाएको छ ।
सरकारले विदेशमा रहेका नेपाली तथा नेपालको विपद्को घडीमा सहयोग गर्न चाहने विदेशी नागरिक र संस्थाले सिधै नेपाल सरकारको खातामा सहायता रकम पठाउन सक्ने गरि वेब पोर्टल संचालनमा ल्याएको छ । सहयोगका लागि https://pmdrf.nchl.com.np/ वेब पोर्टल प्रयोग गर्न सकिने सरकारले जानकारी दिएको छ । भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन् । विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्न आवश्यक भएकाले सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न आग्रह गरेको हो ।
१६- रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि राहत वितरण तथा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले नागरिक, स्वयंसेवी संस्था तथा सम्बन्धित सबैमा अपिल गरेको छ । विपद्को कठिन अवस्थामा पीडितलाई सहयोग गर्न नागरिक तथा सामाजिक संस्थाले देखाएको तत्परता सराहनीय रहेको जनाउँदै सचिवालयले पूर्वसमन्वयविना प्रभावित क्षेत्रमा जाने क्रमले उद्धार तथा राहत कार्यमा थप समस्या सिर्जना गरेको जनाएको छ ।
सानो निजी सवारी साधनमा थोरै-थोरै राहत सामग्री बोकेर व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा जाने क्रम बढ्दा सडकमा अत्यधिक सवारी चाप र जाम सिर्जना भएको सचिवालयले जनाएको छ । यसका कारण आपत्कालीन बिरामी बोकेका एम्बुलेन्सलाई सहज रूपमा आवतजावत गर्न कठिन भएको तथा नेपाल सरकारका मुख्य उद्धार टोली र प्राथमिकताका राहत सामग्री बोकेका सवारी साधनसमेत समयमा गन्तव्यमा पुग्न नसकेको जनाएको छ । पूर्वतयारी र समन्वयविना जोखिमयुक्त भूगोलमा पुग्दा राहत वितरणमा खटिने व्यक्तिको सुरक्षामा समेत जोखिम बढेको सचिवालयको भनाइ छ । सचिवालयले भनेको छ- ‘वास्तविक पीडितसम्म शीघ्र राहत पुर्याउन व्यक्तिगत रूपमा प्रभावित क्षेत्रतर्फ जाने कार्य रोकी सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह गर्दछौँ ।’
सचिवालयले अबदेखि राहत वितरण वा उद्धारमा सहयोग गर्न चाहने नागरिक तथा संस्थाले अनिवार्य रूपमा आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी पूर्वसमन्वय गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्रीलाई सम्बन्धित स्थानमा पुर्याउने एकीकृत व्यवस्था मिलाउने सचिवालयले जनाएको छ । सद्भाव र सहयोगको भावनाको सम्मान गर्दै राज्यको आधिकारिक संयन्त्रमार्फत अनुशासित र व्यवस्थित रूपमा राहत सामग्री उपलब्ध गराई उद्धार कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री सचिवालयले सम्बन्धित सबैमा आग्रह गरेको छ ।
१७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सहयोग गर्ने बताएका छन् । ह्वाइटहाउसमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै राष्ट्रपति ट्रम्पले नेपाललाई आवश्यक सबै सहयोग गर्ने र अमेरिकाले राहत पठाउदै गरेको बताएका हुन् । उनले भने- ‘हामी सबै आवश्यक सहयोग गर्न तयार छौं, हाम्रो नेपालसँग राम्रो सम्बन्ध छ । निकै ठुलो लेदो र पानीको बाढी आएको छ । यस्तो अहिलेसम्म देखिएको छैन । हामीले नेपालको सरकारसँग कुरा गरिरहेका छौं र सहयोग पठाउदैछौं । अहिलेसम्म ५० देखि ६० अमेरिकी नागरिक सम्पर्कमा नरहेको र विस्तृत जानकारी आउन बाँकी छ । केहि भेटिने सम्भावना कम रहेको छ ।’ नेपाल पर्यटन बोर्डका अनुसार अहिलेसम्म भोटेकोशी बाढीबाट ६५ अमेरिकी नागरिक सम्पर्कविहिन रहेका छन् ।
१८- स्पेनिस ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक क्लबलाई २-० गोल अन्तरले पराजित गरेको थियो । बार्सिलोनाको जितमा कप्तान राफिन्हा र फर्मिन लोपेजले गोल गरेका थिए । राफिन्हाले खेलको ३७औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा बार्सिलोनाले थप गोलका अवसर सिर्जना गरेको थियो । तर एथ्लेटिक क्लबका गोलरक्षक उनाइ सिमोनले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए । दोस्रो हाफमा एथ्लेटिक क्लबले बराबरी गोलका लागि प्रयास गरेको थियो । तर बार्सिलोनाले खेलमा दबाब कायम राखेको थियो ।
खेलको ८२औँ मिनेटमा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि एथ्लेटिक क्लबले गोल फर्काउन नसकेपछि बार्सिलोनाले २-० को जित सुनिश्चित गरेको थियो । यो जितसँगै बार्सिलोनाले ला लिगाको नयाँ सिजनमा लगातार दुई खेल जितेको छ । यसअघि बार्सिलोनाले एल्चेलाई ५-० गोल अन्तरले पराजित गरेको थियो । एथ्लेटिक क्लबले भने नयाँ सिजनमा लागातर दोस्रो हार बेहोरेको छ ।
१९- बाढी तथा विपद्बाट प्रभावित नेपाललाई अस्ट्रेलियाले ५० लाख अस्ट्रेलियाली डलर अर्थात् करिब ३५ लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने भएको छ । अस्ट्रेलियाको विदेश मन्त्रालयका अनुसार उक्त रकम मानवीय सहायता, विपद् प्रतिकार्य तथा पुनःस्थापनाका काममा खर्च गरिनेछ । सहयोगअन्तर्गत प्रभावित समुदायलाई खाद्यान्न, आकस्मिक आश्रय, स्वच्छ खानेपानी तथा सरसफाइको व्यवस्था गर्न सहयोग पुग्नेछ ।
यसैगरी, नेपालमा प्रभावित अस्ट्रेलियाली नागरिकलाई सहयोग गर्न अस्ट्रेलिया सरकारले थप कर्मचारी परिचालन गर्ने मन्त्रालयले जनाएको छ । आगामी ४८ घण्टाभित्र तीन जना मानवीय सहायता विशेषज्ञको टोली नेपाल पठाउने र उक्त टोली नेपालमा यसअघि नै खटिएका अस्ट्रेलियाली कर्मचारीलाई सहयोग गर्ने मन्त्रालयले उल्लेख गरेको छ । यसैबीच, बाढीका कारण ३५ अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
२०- इङ्लिस क्लब लिभरपुलले फ्रान्सेली क्लब पीएसजीका युवा फरवार्ड ब्राडली बारकोलालाई भित्र्याउन सहमति जुटाएको छ । ईएसपीएनका अनुसार २३ वर्षीय बारकोलाले लिभरपुलसँग पाँच वर्षको सम्झौता गर्ने भएका छन् । उनी पीएसजीबाट अनुमति पाएपछि लिभरपुल पुगेर स्वास्थ्य परीक्षण गर्ने तयारीमा रहेका छन् । फ्रान्स राष्ट्रिय टोलीका खेलाडी बारकोला लिभरपुलको मुख्य लक्ष्य रहेका थिए । लिभरपुलले करिब साढे ११ करोड युरोमा सहमति गरेको बताइएको छ । यसअघि पीएसजीले बारकोलाका लागि करिब १७ करोड युरो माग गरेको थियो । गत सिजन पीएसजीले फ्रान्सेली लिग र युरोपेली च्याम्पियन्स लिगको उपाधि जित्दा बारकोलाको महत्वपूर्ण भूमिका रहेको थियो । पेरिसमा उनको वर्तमान सम्झौता अझै दुई वर्ष बाँकी रहे पनि उनी लिभरपुल जाने इच्छा व्यक्त गर्दै आएका थिए । लिभरपुल पुगेमा बारकोला क्लबको इतिहासमा दोस्रो महँगा खेलाडी बन्नेछन् ।
यसअघि लिभरपुलले गत बर्ष न्युक्यासल युनाइटेडबाट स्ट्राइकर अलेक्जान्डर इसाकलाई करिब साढे १४ करोड युरोमा अनुबन्ध गरेको थियो । यस वर्षको विश्वकपमा फ्रान्सका लागि आठ खेल खेल्दै बारकोलाले तीन गोल गरेका थिए । पीएसजीमा अग्रपंक्तिमा तीव्र प्रतिस्पर्धा रहेकाले उनी नियमित खेल समय पाउने उद्देश्यले नयाँ क्लबमा जान इच्छुक रहेका छन् । लिभरपुलले लामो समयका प्रमुख खेलाडी मोहम्मद सलाहले क्लब छाडेपछि अग्रपंक्तिको दुवै विन्ग्स बलियो बनाउने योजनालाई प्राथमिकतामा राखेको थियो । सलाहले यसै महिना निःशुल्क खेलाडीका रूपमा टर्कीको ट्राब्जोनस्पोरसँग आबद्ध भएका थिए । बारकोला लिभरपुल आएमा क्लबका अर्का फरवार्ड कोडी गाक्पोको भविष्यमा समेत असर पर्न सक्ने देखिएको छ । गाक्पोप्रति टोटनहम र म्यानचेस्टर सिटीले पनि चासो देखाइरहेका छन् ।