काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ६ सय ६९ पुगेको छ।
नेपाल प्रहरीले शनिबार अपराह्न ४ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि विभिन्न जिल्लामा ठूलो संख्यामा शव फेला परेका हुन्।
प्रहरीका अनुसार नवलपरासी पूर्वमा सबैभन्दा धेरै १५८ वटा शव फेला परेका छन् । यस्तै नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१, चितवनमा २४८ र रसुवामा १३ वटा शव फेला परेका छन्।
बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको विवरणले देखाएको छ।
यसैबीच, यसैगरी बाढीमा परी घाइते भएका तथा उद्धार गरिएका व्यक्तिहरूको सङ्ख्या २ हजार ३ सय ७१ पुगेको छ। जसमा रसुवामा ६७६, नुवाकोटमा १६२२ र धादिङमा ३ जनाको उद्धार गरिएको छ।

बाढी तथा पहिरोमा परी घाइते भएकाहरूको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको पछिल्लो विवरणअनुसार उपत्यकाका अस्पतालमा उपचार तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० पुगेको छ।
बाढीपछि प्रभावित जिल्लामा बेपत्ता भएकाको खोजी, शव पहिचान तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेका छन्। पछिल्लो समय चितवन, नवलपरासी पूर्वलगायतका जिल्लामा समेत बाढीले बगाएर ल्याएका शव फेला पर्ने क्रम जारी छ।