काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिसहरू नरहेको निष्कर्ष निक्लिएको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंका गरिएको थियो ।
सोही आशंकाको आधारमा नेपाली सेनाको नेतृत्वमा उद्धार टोली खटिएको थियो । तर, उक्त उद्धार टोली सुरुङभित्र कोही पनि फेला नपरेपछि मान्छे नरहेको निष्कर्षसहित धुन्चे फर्किएको छ ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुन सक्ने आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन विज्ञहरूसहित खोजीमा जुटेको थियो । उद्धार टोलीले सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई सूक्ष्म रूपमा खोजी गरेको थियो ।
तर, सुरुङको अन्तिम कुनासम्म पुग्दा पनि कुनै मानवीय उपस्थिति नभेटिएको उद्धार टोलीले जनाएको छ । सुरुङभित्र कोही पनि मानिस नरहेको प्राविधिक रूपमा पुष्टि भएपछि खोजी कार्य औपचारिक रूपमा बन्द गरिएको हो ।

बाढी लगत्तै सुरु भएको यो खोजी अभियान सम्पन्न गरी नेपाली सेनाको टोली रसुवाको सदरमुकाम धुन्चे फर्किएको छ ।
यसअघि आयोजनाका कर्मचारीहरू सुरुङभित्र फसेको हुन सक्ने डरले चिन्ता व्यक्त गरिएको थियो, तर सेनाको यो पुष्टिले सुरुङभित्र मानवीय क्षति नभएको स्पष्ट पारेको छ ।
रसुवागढी जलविद्युत आयोजनाका अनुसार बाँधस्थलबाट २२ जना, घट्टेखोला आवास क्याम्पबाट २० जना र पावरहाउस क्षेत्रबाट १४ जना र निर्माण व्यवसायीका कामदार गरी कुल ९३ जना सम्पर्कविहीन छन् ।