काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक सामग्रीको विश्वसनीयता जाँच गर्न सक्ने (फ्याक्ट चेकिङ) प्रणाली विकास गरिने भएको छ ।
यसका लागि प्रविधि पत्रकार मञ्च (टिजेएफ), सनवे कलेज काठमाडौं र सेन्टर फर आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च नेपाल (केयर नेपाल)बीच त्रिपक्षीय समझदारी भएको हो ।
सम्झौतामा केयर नेपालका संस्थापक निर्देशक टेकराज क्षेत्री, सनवे कलेजका निर्देशक खुशल रेग्मी र टिजेएफका अध्यक्ष पूर्णभक्त दुवालले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार नेपालमा फैलिरहेका झुटा, भ्रामक, हेरफेर गरिएका तथा एआईबाट सिर्जना वा परिवर्तन गरिएका सामग्री पहिचान, मूल्यांकन र प्रमाणीकरण गर्न सक्ने तथ्य जाँच प्रणाली विकास गरिनेछ ।
प्रणालीलाई प्रारम्भिक रूपमा नेपाली र अंग्रेजी भाषामा सञ्चालन हुने गरी तयार गरिनेछ भने लिखित, तस्वीर तथा श्रव्यदृश्य सामग्रीसमेत विश्लेषण गर्न सक्ने बनाइनेछ ।

प्रस्तावित प्रणालीले समाचार वा सार्वजनिक सामग्रीमा रहेका दाबी पहिचान गर्ने, समान वा सम्बन्धित दाबी खोज्ने, प्रमाण तथा स्रोत संकलन गर्ने र उपलब्ध प्रमाणका आधारमा मूल्यांकन गर्न सहयोग गर्नेछ ।
प्रणालीले तयार गर्ने नतिजामा सार्वजनिक रुपमा प्रयोग भएका स्रोत, प्रमाण, सामग्रीको उत्पत्ति तथा मूल्यांकनको आधारसमेत अभिलेख राखिनेछ । यद्यपि प्रणालीबाट प्राप्त नतिजालाई अन्तिम सत्य वा असत्यको निर्णयका रूपमा प्रयोग गर्न नहुने र योग्य सम्पादकबाट समीक्षा गरेपछि मात्रै प्रकाशन वा प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
समझदारीअनुसार केयर नेपालले अनुसन्धान तथा प्रविधि विकासको नेतृत्व गर्नेछ । संस्थाले प्रणालीको प्राविधिक संरचना तयार गर्ने, एआई, मेसिन लर्निङ, भाषा प्रशोधन तथा नलेज सेयरिङ प्रविधिको विकास गर्ने, परीक्षण तथा मूल्यांकन गर्ने र सफ्टवेयर पूर्वाधार व्यवस्थापन गर्नेछ ।
प्रविधि पत्रकार मञ्चले सफ्टवेयर विकासका क्रममा पत्रकारिता तथा सम्पादकीय प्रक्रिया, तथ्य जाँच तथा सूचना विश्वसनीयतासम्बन्धी विज्ञता उपलब्ध गराउनेछ । टिजेएफले प्रणालीले सम्बोधन गर्नुपर्ने वास्तविक झुटा तथा भ्रामक सूचना पहिचान गर्ने, सामग्री वर्गीकरण तथा प्रमाणीकरणका मापदण्ड तयार गर्न सहयोग गर्ने, सञ्चारमाध्यम तथा पत्रकारसँग समन्वय गर्ने र समाचार कक्षमा प्रणालीको परीक्षण तथा प्रयोगका लागि सहजीकरण गर्नेछ ।
सनवे कलेज काठमाडौंले प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ता तथा विकासकर्ताको सहभागिता गराउनेछ । कलेजले प्रणालीको नमुना निर्माण, परीक्षण, अनुसन्धान तथा प्रमाणीकरणमा सहयोग गर्नुका साथै विद्यार्थीका अनुसन्धान, अन्तिम परियोजना तथा तालिमलाई यस कार्यसँग जोड्नेछ । संस्थागत उपलब्धता र नीतिअनुसार आवश्यक कम्प्युटिङ तथा सूचना प्रविधि पूर्वाधारसमेत उपलब्ध गराउनेछ ।
समझदारीले प्रणाली विकासका क्रममा व्यक्तिगत तथ्यांक, गोप्य पत्रकारिता स्रोत तथा अन्य संवेदनशील सामग्रीको सुरक्षालाई प्राथमिकता दिएको छ । प्रणालीलाई पत्रकार, मानव अधिकार संरक्षक वा नागरिक समाजको निगरानी, राजनीतिक लक्षित गतिविधि, अभिव्यक्ति स्वतन्त्रता तथा कुनै व्यक्तिलाई डर, धम्की वा हैरानी दिने उद्देश्यले प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।
तीन संस्थाले संयुक्त प्राविधिक कार्यदल गठन गरी प्रणालीको विकास, परीक्षण, मूल्यांकन तथा प्रयोगका प्राथमिकता निर्धारण गर्नेछन् । समझदारी अन्तिम हस्ताक्षर भएको मितिदेखि तीन वर्षसम्म कायम रहनेछ । नेपालमा विकास गरिने प्रणालीका केही प्राविधिक पक्षलाई भविष्यमा अन्य भाषा, देश तथा सञ्चार वातावरणमा समेत प्रयोग गर्न सकिने गरी विकास गर्ने लक्ष्यसमेत राखिएको छ ।
अहिलेको बाढीको प्रकोपका बीचमा पनि विभिन्न भ्रामक समाचार प्रकाशन र प्रशारण भइरहेको परिप्रेक्ष्यमा विकास गर्न लागिएको प्रणालीले नेपालीहरुलाई सत्य तथ्य समाचार पाउन सहज हुने प्रविधि पत्रकार मञ्चका अध्यक्ष पूर्णभक्त दुवालले बताए ।
भुकम्पदेखि विभिन्न समयका घट्नाक्रमले नेपालमा भ्रामक तथा तथ्यहिन समाचार प्रकाशन र प्रशारण हुने पाइएकाले विभिन्न रिसर्चहरु गर्दै अहिले प्रणालीको विकासको क्रममा पुगेको केयर नेपालका संस्थापक टेकराज क्षेत्रीले बताए ।
सन वे कलेजका प्रिन्सिपल खुुशल रेग्मीले फ्याक्ट चेकिङ्ग प्रणालीले नेपालको पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार र विश्वसनीय बनाउने विश्वास व्यक्त गरे ।