काठमाडौं । भोटेकोशीलगायतका नदी बेसिनमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गोल्याण ग्रुप सक्रिय भएको छ।
बाढी आएको भोलिपल्ट भदौ ११ गतेदेखि नै गोल्याण ग्रुपअन्तर्गतको समाजसेवी संस्था गोल्याण फाउण्डेशनले प्रभावित क्षेत्रमा स्वयंसेवी तथा कर्मचारी परिचालन गरी राहत तथा सहयोगका काम गर्दै आएको हो।

फाउण्डेशनले नुवाकोटको विदुर नगरपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालय होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई भोजन, स्वास्थ्य उपचार र मनोपरामर्श सेवा उपलब्ध गराइरहेको छ। उक्त केन्द्रमा देवीघाट क्षेत्रका ६८ घरपरिवार रहेका छन्। उनीहरूसहित आसपासका गरी दैनिक करिब ४ सय जनालाई दिनमा तीनपटक खाना तथा खाजा उपलब्ध गराइँदै आएको छ।
त्यस्तै, सामान्य स्वास्थ्य सेवा, बालमनोपरामर्श तथा बालबालिकाका लागि खेल सामग्रीसमेत उपलब्ध गराइएको छ। फाउण्डेशनले उक्त कार्यका लागि ५० जना स्वयंसेवी, कर्मचारी तथा मनोपरामर्शकर्ता परिचालन गरेको जनाएको छ।

गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख तथा फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेको नेतृत्वमा स्वयंसेवी समूह प्रभावित क्षेत्रमा खटिएको छ। उनका अनुसार बाढीको भोलिपल्टै प्रभावित क्षेत्रमा पुगेर तत्काल खानपिनको व्यवस्था गरिएको थियो।

गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले विपत्तिको समयमा प्रभावित नागरिकलाई साथ दिनुपर्ने मान्यताअनुसार बाढी गएको दिनमै राहत तथा सहयोगको योजना बनाइएको बताए। उनले अवस्था सामान्य नभएसम्म सहयोग जारी राख्ने र सरकार तथा सरकारी निकायसँग समन्वय गरी राहत कार्यलाई थप प्रभावकारी बनाउने बताए।
यसैबीच, गोल्याण ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ। ग्रुपअन्तर्गतको रिलायन्स स्पिनिङ मिल्सले बाढी प्रभावितको सहयोगार्थ नेपाल सरकारलाई १ करोड रुपैयाँ हस्तान्तरण गरेको हो।
कम्पनीका प्रबन्ध निर्देशक अक्षय गोल्याण र निर्देशक शशिकान्त अग्रवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन्। सुनसरीको दुहबी र खनारस्थित उद्योगबाट धागो उत्पादन गर्दै आएको रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रमुख धागो उत्पादक कम्पनीमध्ये एक हो। कम्पनीले प्राकृतिक विपत्तिको समयमा नागरिक तथा सरकारलाई सहयोग गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ।