काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा ६० लाख रुपैयाँ सहयोग गरेको छ।
कर्पोरेसनले संस्थागत तर्फबाट ५० लाख रुपैयाँ र आफ्ना कर्मचारीहरूको तर्फबाट १० लाख रुपैयाँ गरी कुल ६० लाख रुपैयाँ राहतस्वरूप प्रदान गरेको हो।
कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरिन् । कार्यक्रममा अध्यक्ष प्रदिप लाल श्रेष्ठ तथा सञ्चालकहरू नारायण दास मानन्धर, देवेन्द्र भक्त श्रेष्ठ, सुनील श्रेष्ठ र व्यवस्थापनतर्फबाट प्रबन्धक कुमार राजभण्डारी, कानुनी सल्लाहकार उमेश कुमार ओझा, लेखा प्रमुख इन्द्रमान महर्जनलगायत अनुप श्रेष्ठ, मोहन थापा र निर्मल तामाङको उपस्थिति थियो।
विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको कर्पोरेसनले जनाएको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस सहयोगले विपद्का समयमा निजी तथा सार्वजनिक क्षेत्रबाट हुने मानवीय सहयोगको महत्त्वलाई समेत उजागर गरेको छ।
कर्पोरेसनले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार राहत तथा सामाजिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।