काठमाडौं । रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना श्रमिक तथा प्राविधिकहरू फसिरहेको सूचना प्राप्त भएको छ ।
गत भदौ १० गते आएको बाढीले आयोजनाको सुरुङमा क्षति पुर्याएपछि उनीहरू भित्रै थुनिएका हुन्।
उक्त जटिल परिस्थितिमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं इन्जिनियर श्रीराम न्यौपाने घटनास्थलतर्फ प्रस्थान गरेका छन्। इन्जिनियरिङ क्षेत्रमा लामो अनुभव भएका न्यौपानेले आफ्नो प्राविधिक विज्ञतालाई उद्धार कार्यमा उपयोग गर्ने बताएका छन्।
सांसद न्यौपानेका अनुसार, घटनास्थलमा पुगेर उनले सुरुङको वर्तमान अवस्थाको प्राविधिक विश्लेषण गर्ने, उद्धार टोलीलाई आवश्यक सुझाव दिने र परिस्थितिअनुसार प्रत्यक्ष रूपमा उद्धार कार्यमा समेत संलग्न हुने तयारी गरेका छन्।
बाढी र लेदोका कारण सुरुङको मुख अवरुद्ध भएकाले उद्धार कार्य निकै चुनौतीपूर्ण मानिएको छ ।
यसअघि त्रिशूली थ्री ए बाट शुक्रबार दुई जना र माथिल्लो त्रिशुली १ बाट एक चिनियाँ नागरिकलाई शनिबार जीवितै उद्धार गरिएको थियो ।