नुवाकोट । त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएपछि रसुवा जिल्लासँग यातायात सम्पर्क कायम राख्न सञ्चालनमा ल्याइएको वैकल्पिक सडकलाई थप व्यवस्थित गरिएको छ ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार ढिकुरे हुँदै फेदीबेसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा–पाटिखर्क–भोर्ले–जिबजिबे–बोगटीटार हुँदै कालिकास्थान र धुन्चेसम्म पुग्ने सडकको बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा–पाटिखर्क खण्डमा सडक मर्मत तथा सुधार गरिएको हो ।
पहिरो पन्छाउने, सडक सतह मिलाउने, कच्ची नाली निर्माण, साँघुरा स्थानमा सडक चौडा गर्ने, ग्राभेल राख्ने तथा कल्भर्ट निर्माणलगायतका काम गरिएको छ भने मर्मतपछि उक्त सडकखण्डमा ठूला सवारीसाधनसमेत दुईतर्फी सञ्चालन गर्न सकिने अवस्था बनेको मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि काठमाडौँ–टोखा–छहरे–चौघडा पुल–बाहुनबेसी–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटिखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकबाट चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुँदै आएका थिए ।
अब पाटिखर्कसम्म पुग्न दुई वटा वैकल्पिक सडक उपलब्ध भएका छन्। रसुवा जाने सवारीसाधन फेदीबेसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा हुँदै पाटिखर्क पुग्ने र फर्किँदा पाटिखर्क–लच्याङ–नर्जा–आप्र–बाहुनबेसी–चौघडा पुल हुँदै मध्यपहाडी राजमार्ग प्रयोग गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ ।

एकतर्फी रूपमा फरक–फरक सडक प्रयोग गर्ने व्यवस्था मिलाउँदा सवारी आवागमन सहज हुने र सडकमा हुने जामसमेत कम गर्न सहयोग पुग्ने मन्त्रालयले जनाएको छ ।