काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क प्रस्थान गर्ने तय भएको छ । परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । प्रधानमन्त्री शाहले सचिवालयका चार सदस्य, परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राईसहितको सानो टोलीसहित न्यूयोर्क जाने तयारी गरेका छन् । राष्ट्रसंघको महासभामा नेपालमा भोटेकोशी बाढीको रुपमा जलवायु परिवर्तनको असरका कारण आएको महाविपत्ति बारे विश्वलाई आफ्ना कुरा राख्ने तयारी प्रधानमन्त्री शाहले गरिरहेका छन् । जलवायु परिवर्तनको अहिलेसम्मकै ठुलो असरको रुपमा देखिएको भोटेकोशी बाढीपछि नेपालले जलवायु न्यायको विषय जोडदार रुपमा उठाउनुपर्ने अवस्था बनेपछि प्रधानमन्त्री शाह न्यूयोर्क जान लागेका हुन् । उनी यसअघि राष्ट्रसंघमा जाने कुनै कार्यक्रम रहेको थिएन । प्रधानमन्त्री शाह सम्बोधनको अर्को दिन असोज ९ गतेनै स्वेदश फर्किने कार्यक्रम तय भएको बताइएको छ ।
२- रसुवा, नुवाकोटलगायत त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा आश्रयविहीन नागरिकको संरक्षणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी मन्त्रालयले विशेष पहल अघि बढाएको छ । मन्त्रालयले बाढी प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्दै उनीहरूको आवश्यकता र संवेदनशीलताअनुसार छुट्टाछुट्टै स्थानमा सुरक्षित अस्थायी बसोबास तथा संरक्षणको व्यवस्था गरेको जनाएको छ । ज्येष्ठ नागरिकका लागि समाज कल्याण केन्द्र, वृद्धाश्रम, पशुपति, काठमाडौँमा व्यवस्था गरिएको छ। आवश्यक परे ९८४१४६०८४६ र ९८४९६०७१०२ मा सम्पर्क गर्न सकिनेछ ।
त्यस्तै, महिलाका लागि समाज कल्याण परिषद्को भवन, बुढानीलकण्ठमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ। यसका लागि ९८४१६१४५८६ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । त्यसैगरी, बालबालिकाका लागि गोदावरी–२, ठेचो, ललितपुरमा व्यवस्था गरिएको छ। त्यसका लागि ९८४३०२१४७१ र ९८४१३८६८७१ मा सम्पर्क गर्न सकिनेछ भने अपाङ्गता भएका व्यक्तिका लागि ९८६००९७८९९ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले बाढीका कारण आश्रयविहीन तथा जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा राख्ने, आवश्यक संरक्षण उपलब्ध गराउने र आधारभूत सेवामा पहुँच सुनिश्चित गर्ने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ । प्रभावित नागरिकको सुरक्षा, संरक्षण र सुरक्षित अस्थायी बसोबास सुनिश्चित गर्न सम्बन्धित संघसंस्था तथा सरोकारवाला निकायसँग समन्वय गरी काम भइरहेको मन्त्रालयले जनाएको छ ।
३- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १३५६ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १३५६ जनाको शव फेला परेको हो । जसमा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको छ । अहिलेसम्म ९८ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ४ हजार ९९४ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा रसुवाका १९६७, नुवाकोटका २३४० र विदेशी नागरिक ५८७ रहेको विवरणमा उल्लेख छ । त्यस्तै करिब १०० जना सुरक्षाकर्मी र कर्मचारी अझै सम्पर्कविहिन रहेका छन् ।

४- एसियाली क्रिकेट परिषद्ले आगामी एसियाली खेलकुदअन्तर्गत पुरुष तथा महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको नागोयास्थित पालोमा मिजुहो रङ्गशालामा सञ्चालन हुनेछ। सबै खेल टी-२० ढाँचामा हुनेछन् । पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग परेको छ । समूह चरणका खेल सेप्टेम्बर २४ देखि २६ सम्म सञ्चालन हुनेछन् । नेपालले सेप्टेम्बर २५ मा अफगानिस्तानसँग र सेप्टेम्बर २६ मा जापानसँग खेल्ने भएको छ । समूह ‘ए’ मा नेपालसहित अफगानिस्तान र जापान छन्। समूह ‘बी’ मा हङकङ चीन, मलेसिया र ओमान रहेका छन् ।
समूह चरणपछि क्वार्टरफाइनल सेप्टेम्बर २८ र २९ मा हुनेछन् । पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशले क्वार्टरफाइनलबाट प्रतियोगिता सुरु गर्नेछन् । सेमिफाइनल अक्टोबर १ तथा कांस्य पदकको खेल र फाइनल अक्टोबर ३ मा हुनेछ । महिला क्रिकेटको क्वार्टरफाइनल सेप्टेम्बर १७ र १८ मा, सेमिफाइनल सेप्टेम्बर २० तथा कांस्य पदकको खेल र फाइनल सेप्टेम्बर २२ मा हुनेछन् । सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ भारतले स्वर्ण पदक जितेको थियो । पाकिस्तानलाई हराउँदै बंगलादेशले कांस्य पदक जितेको थियो । महिला क्रिकेटमा भारतले स्वर्ण, श्रीलंकाले रजत र बंगलादेशले कांस्य पदक जितेका थिए ।
५- रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित नागरिकलाई सहज रूपमा स्वास्थ्य बीमा सेवा उपलब्ध गराउन स्वास्थ्य बीमा बोर्डले सहभुक्तानी र सेवा सीमासम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको छ । बोर्डको भदौ २२ गतेको निर्णयअनुसार तीनवटै जिल्लामा स्वास्थ्य बीमा सेवा प्रदायक संस्थामा तोकिएको विपद् सङ्कटग्रस्त क्षेत्रको अवधिसम्म स्वास्थ्य बीमामा लाग्ने सहभुक्तानी र सेवा सीमा हटाइनेछ । त्यस्तै, स्वास्थ्य बीमा परिचयपत्र नभएका बिमितले पनि सेवा पाउने व्यवस्था गरिएको छ । परिचयपत्र नभएको अवस्थामा सेवा प्रदायक स्वास्थ्य संस्थाले उपलब्ध प्रणालीमार्फत बिमितको स्वास्थ्य बीमा नम्बर यकिन गरी सेवा उपलब्ध गराउन सक्ने बोर्डले जनाएको छ । ल्हेन्दे खोलाबाट आएको बाढीका कारण नेपाल सरकारले रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा बोर्डले यस्तो निर्णय गरेको हो ।
६- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारले अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोग र आवश्यक उपकरण उपलब्ध गराउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार सरकारले उच्च क्षमताका ड्रोन, लिडार, बेली पुल, उच्च क्षमताको पम्प, सुरुङ तथा लेदो उद्धारका लागि आवश्यक पोसाक, डिएनए परीक्षण सामग्रीलगायत उपकरण र प्राविधिक सहयोग मागेको हो । बाढीको १३औँ दिन पनि रसुवा, नुवाकोट, धादिङलगायत प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सम्बन्धित निकायले खोज तथा उद्धार कार्य जारी राखेका छन् ।
भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार टोली नेपाली सेनासँगको समन्वयमा उद्धार कार्यमा खटिएका छन् भने संयुक्त अरब इमिरेट्स र मलेसियाका टोलीसमेत खोज तथा उद्धारमा सहभागी भएका छन् । अपर त्रिशूली १, अपर त्रिशुली तीन ‘ए’, अपर त्रिशूली तीन ‘बी’, चिलिमे, रसुवागढी र लाङटाङलगायत जलविद्युत् आयोजनामा खोज तथा उद्धारका लागि थप उपकरण र प्राविधिक जनशक्ति परिचालन भइरहेको सरकारले जनाएको छ ।
७- राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट प्रभावित नेपालजस्ता मुलुकका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग ठोस र प्रभावकारी कदम चाल्न अपिल गरेका छन् । राष्ट्रका नाममा सोमबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पछिल्लो विपत्तिले हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था उजागर गर्नुका साथै बढ्दो विश्वव्यापी तापक्रम र त्यसबाट सिर्जित जोखिमबारे गम्भीर चेतावनी दिएको बताएका थिए । उनले भने, ‘नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न म अन्तर्राष्ट्रिय समुदायसमक्ष हार्दिक आह्वान गर्दछु ।’
नेपालले भूकम्प, बाढी, पहिरो, महामारीलगायत विभिन्न विपत्तिको सामना गर्दै आएको स्मरण गर्दै पौडेलले हरेक कठिन परिस्थितिमा नेपाली जनताले साहस, धैर्य र दृढताका साथ सामना गर्दै आएको बताए । राष्ट्रपति पौडेलले अहिलेको संकटमा राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, उद्धार तथा मानवीय सहयोगमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । उनले भने- ‘यो विभाजनको समय होइन । एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन । यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो।’ बाढीबाट भएको क्षतिको पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानसँगै नेपालले अपनाउँदै आएको विकासको ढाँचामाथि समेत पुनर्विचार गर्नुपर्ने राष्ट्रपति पौडेलले बताएका थिए ।
परिवारका सदस्य तथा आफन्तको अवस्थाबारे जानकारीको प्रतीक्षामा रहेका नागरिकलाई खोजी तथा उद्धार कार्य निरन्तर जारी रहने विश्वास दिलाउँदै उनले उद्धार गरिएकाको खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, औषधोपचार र मनोसामाजिक सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने बताए । उनले बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्दै अस्थायी आश्रयस्थल सुरक्षित र मर्यादित बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका थिए । विदेशी तथा नेपाली नागरिकका परिवारलाई प्रभावित व्यक्तिको अवस्थाबारे यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउन तथा आफ्ना प्रियजनलाई घर फर्काउन आवश्यक सहजीकरण र मानवीय सहयोग उपलब्ध गराउनुपर्नेमा पनि उनले जोड दिएका थिए । राष्ट्रपति पौडेलले उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन सरकारका स्थानीयसहित सबै तह, निकाय र संरचनाबीच आवश्यक समन्वय भइरहेको विश्वास व्यक्त गरेका थिए ।
८- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि प्रसारण तथा टिकटिङ अधिकार बिक्रीसम्बन्धी प्रक्रिया पूरा गरेको छ । संघका अनुसार प्रत्यक्ष प्रसारण अधिकार नेटटिभी प्रालिले १८ करोड ४ लाख रुपैयाँमा प्राप्त गरेको छ । त्यस्तै, टेलिभिजन प्रसारण अधिकार नेपाल भित्र मात्र हिमालय टेलिभिजन नेटवर्क प्रालिले १४ करोड ६४ लाख रुपैयाँमा पाएको छ । टिकटिङ अधिकार इसेवाले ८५ लाख रुपैयाँमा प्राप्त गरेको छ । सम्झौताअनुसार टिकट बिक्रीबाट हुने आम्दानीको ९५ प्रतिशत नेपाल क्रिकेट संघ र ५ प्रतिशत इसेवाले प्राप्त गर्नेछन् । नेपाल क्रिकेट संघले प्रसारण तथा टिकटिङ अधिकार प्राप्त गरेका संस्थासँग सहकार्य गर्दै एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित र प्रभावकारी बनाउन प्रतिबद्ध रहेको जनाएको छ ।
९- नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा पुगेर रोकिएको छ । आज ३५२ कम्पनिका ९२ लाख ९८ हजार ९४ कित्ता शेयर ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार ४२३ मा कारोबार भएको थियो । आज फाइनान्स र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी पियोर इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने गणपति लघुवित्तको शेयर ७.३५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी इमर्जिङ नेपालको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको २५ करोड २१ लाख बराबरको कारोबार भएको छ भने गरिमा विकास बैंकको १७ करोड ८८ लाख बराबरको कारोबार भएको छ ।
१०- नेपाली कांग्रेसले भोटेकोशी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले सोमबार उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । उक्त प्रतिनिधिमण्डलमा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य, प्रमुख सचेतक बासना थापालगायतका नेताहरू रहेका थिए । विपद्को घडीमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित बास स्थानको व्यवस्थापनमा सघाउ पुर्याउने उद्देश्यले कांग्रेसले उक्त रकम सरकारलाई उपलब्ध गराएको महामन्त्री पौडेलले बताए ।
रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले संकटको अवस्थामा नेपाली कांग्रेस सम्पूर्ण बाढीपीडित नागरिकको साथमा रहेको बताए । बाढीपहिरोका कारण सुरुङमार्ग लगायतका विभिन्न स्थानमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । त्रिशूली र भोटेकोशी आसपासका प्रभावित बासिन्दाको उद्धार र भत्किएका पूर्वाधारहरूको पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन समेत उनले माग गरेका छन् । राहत वितरण पारदर्शी बनाउन र अबको समग्र विपद् व्यवस्थापनलाई थप चुस्त तथा प्रभावकारी बनाउन उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
११- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई बेलकोटगढी नगरपालिकाले तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाले बाढीका कारण घर पूर्ण रूपमा क्षति भई बस्न योग्य नभएका, परिवारका सदस्य गुमाएका तथा बेपत्ता भएका नगरवासी परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने जनाएको छ । प्रभावित परिवारका लागि आवश्यक राहत सामग्री तथा अस्थायी आवास केन्द्रको व्यवस्था पनि भइरहेको नगरपालिकाले जनाएको छ । त्यस्तै, बाढीका कारण खेतीयोग्य जमिन बगेर वा पुरिएर गुमाएका पीडित किसान परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले तत्काल राहत उपलब्ध गराउने निर्णय गरिएको छ ।
बाढीबाट घर पूर्ण रूपमा क्षति भएका तर नयाँ घर निर्माणका लागि अन्यत्र जग्गा नभएका अति विपन्न तथा विस्थापित परिवारको पहिचान गरी पुनःस्थापना तथा पुनर्वासको प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ । बाढीबाट घर पूर्ण रूपमा क्षति भएका, परिवारका सदस्य गुमाएका तथा बेपत्ता भएका परिवारको वास्तविक तथ्यांक सम्बन्धित वडाका अध्यक्ष र वडा सचिवमार्फत तीन दिनभित्र अनिवार्य रूपमा प्रमाणित गरी नगरपालिकामा उपलब्ध गराउन पनि भनिएको छ । यसैबीच, अस्थायी आवास केन्द्रसमेत स्थानान्तरण गर्ने निर्णय गरिएको छ । वडा नम्बर ७ स्थित शिलादेवी माध्यमिक विद्यालयमा रहेको अस्थायी आवास केन्द्र रातमाटे चर्चमा र वडा नम्बर ७ कै महादेव माध्यमिक विद्यालयमा रहेको अस्थायी आवास केन्द्र सोही विद्यालयको छात्रावासमा सारिने नगरपालिकाले जनाएको छ ।
१२- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको भदौ २१ गते आइतबारसम्मको चलचित्र गौथली, मास्टर्नी, पार्वती र हलीको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । जसअनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई जारी राखेको छ । साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ८६ लाख २८ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ३० हजार ७४४ टिकट बिक्री गरेको छ । त्यसैगरी भदौ १२ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पार्वतीले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । चलचित्रले अहिलेसम्म एक करोड ५८ लाख ८४ हजार कमाई गरेको छ भने अहिलेसम्म ५४ हजार ७३५ टिकट विक्री भएका छन् ।
त्यस्तै भदौ ५ गतेदेखि प्रदर्शनमा आएको प्रियंका कार्कीको चलचित्र मास्टर्नीले भने बक्स अफिसमा खासै राम्रो गर्न सकेन । यसले अहिलेसम्म ४० लाख १५ हजार कमाइ गरेको छ । यस चलचित्रले १२ हजार १९७ टिकट बिक्री गरेको छ । त्यस्तै त्यस्तै साउन २२ गतेबाट प्रदर्शनमा आएको चलचित्र हलीले २३ लाख ३२ हजार कमाई गरेको छ भने यस अवधिमा चलचित्र हलीले ८ हजार ५२५ टिकट विक्री गरेको छ ।
१३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्री मार्को रुबियोको टेलिफोन वार्ता भएको छ । लामिछानेसँग टेलिफोन कुराकानी गर्दै रुबियोले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । टेलिफोन कुराकानीमा रुबियोले नेपाली जनता र सरकारप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताएका थिए । उनले नेपाललाई आवश्यक थप सहयोग गर्न अमेरिका तयार रहेको समेत बताएका थिए । जवाफमा लामिछानेले नेपाल सरकारले खोज, उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिएका थिए । उनले नेपाली नागरिकसँगै नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षा र संरक्षणप्रति सरकार समान रूपमा प्रतिबद्ध रहेको बताएका थिए । लामिछानेले विपद्को कठिन समयमा अमेरिकी सरकारले दिएको सहयोगप्रति रुबियोलाई धन्यवाद दिएका थिए ।
१४- भोटेकोशी बाढीको १३औं दिनको दिन आज विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदै छ । आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइएको छ । बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ । बाढीबाट अहिलेसम्म १३ सयभन्दा बढीको शव फेला परेको छ । त्यस्तै बाढीका कारण अहिलेसम्म करिब ५ हजार सम्पर्कविहिन रहेका छन् । गत विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।
१५- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध जाडोयामसम्म जारी रहने सम्भावना रहेको बताएका छन् । अमेरिकी प्रतिनिधिसँग किभमा भएको वार्तापछि उनले युद्ध अन्त्यका लागि तत्काल कुनै ठोस सहमति नभएको बताएका थिए । अमेरिकी प्रतिनिधि स्टिभ विट्कफ र जारेड कुशनरसँगको वार्तालाई दुवै पक्षले सकारात्मक भने पनि युद्ध अन्त्य गर्ने विषयमा सफलता हासिल भएको घोषणा गरिएको छैन । जेलेन्स्कीले क्षेत्रीय विवाद समाधानका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता आवश्यक रहेको दोहोर्याएका छन् । रुसले युक्रेनका थप भूभाग कब्जा गर्ने लक्ष्य राखेको भन्दै किभले ती माग स्वीकार गर्न नसक्ने जनाएको छ । अमेरिकी प्रतिनिधिले दुवै पक्षले केही समझदारी गर्नुपर्ने बताएका छन् । अमेरिकी विशेष प्रतिनिधि विट्कफ र कुशनर किभ पुग्नु अघि मस्कोमा पुटिनसँग भेटवार्ता गरेका थिए ।
१६- बेनी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीको सेयर निष्कासन भदौ २५ गतेसम्म खुला रहनेछ र उक्त अवधिमा मागअनुसार सेयर बिक्री नभएमा आवेदन दिने समय असोज ५ गतेसम्म थप गरिने आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यसको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । त्यसमध्ये १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाका लागि यसअघि नै छुट्याइएको थियो ।
सर्वसाधारणका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २० हजार ८ सय कित्ता कम्पनीका कर्मचारीका लागि र ५२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका बाँकी ८ लाख ६३ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो । यसैबीच, इक्रा नेपालले बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको जारीकर्ता मूल्यांकनलाई ‘आईसीआरएएनपी-आईआर बीबी’ बाट बढाएर ‘आईसीआरएएनपी-आईआर बीबी प्लस’ कायम गरेको छ । यसको अर्थ वित्तीय दायित्व समयमै पूरा गर्ने क्रममा कम्पनीमा मध्यम स्तरको जोखिम रहेको भन्ने हो । सन् २०१६ मा स्थापना भएको बेनी हाइड्रोपावरले सोलुखुम्बु जिल्लाको बेनी तथा सल्लेरी क्षेत्रमा १८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
१७- इङ्लिस प्रिमियर लिगमा आर्सनलले चेल्सीलाई २–१ ले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ । यता म्यानचेस्टर युनाइटेडले दुई पटक अग्रता लिए पनि एभर्टनसँग २–२ को बराबरीमा रोकिएको छ । आइतबार राति भएको लन्डन डर्बीमा चेल्सीका मोर्गन रोजर्सले खेल सुरु भएको ७७ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर आर्सनलले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । खेलको २५औँ मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै आर्सनललाई खेलमा फर्काएका थिए । दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै कप्तान मार्टिन ओडेगार्डले गोल गरेपछि आर्सनल २–१ ले अगाडि बढेको थियो । त्यसपछि चेल्सीले बराबरीका लागि प्रयास गरे पनि आर्सनलले अग्रता जोगाएको थियो । यस जितसँगै आर्सनलले तीन खेलबाट तीनै खेल जित्दै आफ्नो शतप्रतिशत सुरुआत कायम राखेको छ । चेल्सी भने नयाँ प्रशिक्षकको नेतृत्वमा पहिलो हार बेहोर्न बाध्य भएको छ ।
अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनसँग २–२ को बराबरी खेलेको थियो । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ब्रायन एम्बुमोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । खेलको ८३औँ मिनेटमा टाइरिक जर्जले एभर्टनका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि, खेलको ८८औँ मिनेटमा बेन्जामिन सेस्कोले हेडमार्फत गोल गरेपछि युनाइटेड फेरि २–१ ले अगाडि बढेको थियो । तर इन्जुरी समयको छैटौँ मिनेटमा एन्स्ली मैटल्यान्ड नाइल्सले करिब २५ गज टाढाबाट उत्कृष्ट प्रहार गर्दै एभर्टनलाई २–२ को बराबरीमा पुर्याएका थिए । यस बराबरीसँगै युनाइटेडले जारी सिजनमा तीन खेलबाट चार अंक जोडेको छ भने एभर्टनले अपराजित यात्रा कायम राख्दै पाँच अंक बनाएको छ ।
१८- बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि ५-० को शानदार जित हात पारेको छ । गएराती भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्दै सहज जित निकालेको थियो । बार्सिलोनाका लागि लामिन यामालले दुई गोल गरेका थिए भने फर्मिन लोपेज, राफिन्हा र पेड्रीले समान एक–एक गोल गरेका थिए । यामालले छैटौँ मिनेटमै फर्मिनको पासमा उत्कृष्ट प्रहार गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २२औँ मिनेटमा एन्थोनी गोर्डनको पासमा फर्मिनले गोल गर्दै टोलीको अग्रता २–० मा पुर्याएका थिए । दोस्रो हाफ सुरु भएको चार मिनेटमै राफिन्हाले गोल थपेका थिए । यामाल र फर्मिनको संयोजनमा बनेको अवसरलाई राफिन्हाले नजिकैबाट गोलमा परिणत गरेका थिए । यससँगै उनले जारी सिजनका सुरुआती चार खेलमा छ गोल गरेका छन् । राफिन्हाले लगातार उत्कृष्ट प्रदर्शन गर्दै लियोनल मेसीको एउटा दुर्लभ कीर्तिमानसँग बराबरी गरेका छन् ।
टोलीका लागि सिजनका सुरुआती चार ला लिगा खेलमै छ गोल गर्ने २१औँ शताब्दीका दोस्रो खेलाडी बनेका राफिन्हाले मेसीले यसअघि दुई पटक बनाएको उपलब्धि बराबरी गरेका थिए । खेल सकिन ११ मिनेट बाँकी रहँदा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता ४–० पुर्याएका थिए। त्यसको पाँच मिनेटपछि यामालले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–० को फराकिलो जित दिलाएका थिए । यस जितसँगै बार्सिलोनाले ला लिगामा आफ्नो शतप्रतिशत जितको यात्रा कायम राखेको छ । रियल म्याड्रिड रियल बेटिससँग पराजित भएपछि बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता समेत बनाएको छ ।
१९- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २४ सयले घटेर तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ४ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको ३५ रुपैयाँले घटेर ४६९० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४७२५ मा कारोबार भएको थियो ।
२०- अमेरिका र इरानबीच पानीजहाजलाई लक्षित गरी भएका पारस्परिक आक्रमणपछि मध्यपूर्वबाट तेल आपूर्तिमा लामो समय अवरोध हुन सक्ने चिन्तासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९६.८० सेन्ट पुगेको छ भने अमेरिकी पश्चिम टेक्सास इन्टरमिडिएटको मूल्य ९२.१४ सेन्ट पुगेको छ । अघिल्लो साता ब्रेन्टको मूल्य ७.८ प्रतिशत र पश्चिम टेक्सास इन्टरमिडिएटको मूल्य करिब १० प्रतिशत बढेको थियो । अमेरिकी सेनाले शनिबार इरानका तीनवटा तेल ट्याङ्करमा आक्रमण गरेको थियो । त्यसको जवाफमा इरानी रिभोलुसनरी गार्डले होर्मुज हुँदै आवतजावत गरिरहेका तीन तेल ट्याङ्करसहित अन्य अमेरिकी पानीजहाजलाई लक्षित गरेको जनाएको छ ।
होर्मुज जलडमरूमध्य हुँदै विश्वको करिब पाँच भागको एक भाग तेल आपूर्ति हुने भएकाले पछिल्लो तनावले विश्व बजारमा आपूर्ति प्रभावित हुने चिन्ता बढाएको छ । पछिल्ला १० दिनमा दैनिक औसत १० वटा मात्र व्यापारिक पानीजहाज उक्त मार्गबाट गुज्रिएको तथ्यांकले देखाएको छ । इरानले आगामी दिनमा होर्मुज जलडमरूमध्यबाहिर प्रतिबन्धित क्षेत्र घोषणा गर्ने जनाएको छ । यसैबीच तेल निर्यातकर्ता राष्ट्रहरूको समूह ओपेक प्लसले अक्टोबरका लागि आफ्नो उत्पादन नीति यथावत् राखेको छ । विश्लेषकहरूले अमेरिका–इरान तनाव लामो समय कायम रहे मध्यपूर्वको तेल आपूर्ति पूर्ण रूपमा सामान्य हुन ढिलाइ हुने र सन् २०२६ को अन्त्यसम्म निर्यातमा अवरोध कायम रहन सक्ने बताएका छन् । उनीहरूका अनुसार युद्धअघिको आपूर्ति स्तरमा फर्किन सन् २०२७ को पहिलो वा दोस्रो त्रैमासिकसम्म लाग्न सक्ने अनुमान छ ।