काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले ग्यास उद्योगीहरूप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।
बुधबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र अशोभनीय भएको भन्दै सङ्घले ध्यानाकर्षण गराएको हो।
सङ्घले पाँच दशकभन्दा लामो समयदेखि एलपी ग्यासको कारोबार गर्दै आएका उद्योगहरूले विभिन्न विपत्तिका समयमा समेत स्रोतसाधन परिचालन गरी अहोरात्र सेवा दिँदै आएको जनाएको छ। प्राकृतिक विपत्तिका कारण उत्पन्न कठिन परिस्थितिमा समेत ग्यासको आपूर्ति तथा बिक्री वितरण सहज बनाउन उद्योगीहरू खटिरहेको अवस्थामा मन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाट गैरलोकतान्त्रिक, गैरजिम्मेवार, अमर्यादित तथा अशोभनीय अभिव्यक्ति आउनु दु:खद् भएको सङ्घको भनाइ छ।
विषम परिस्थितिमा समस्याको वास्तविक कारण पहिचान गर्नुको सट्टा अर्को पक्षलाई दोष देखाएर आफू पानीमाथिको ओभानो बन्न खोज्ने प्रवृत्तिले समस्या समाधान नहुने सङ्घले जनाएको छ। वर्तमान अवस्थाबारे निर्मम र वस्तुनिष्ठ समीक्षा गर्नुपर्नेमा सङ्घले जोड दिएको छ।
सङ्घका अनुसार आधा सिलिन्डर अर्थात् ७.१ केजी ग्यासको व्यवस्था १५ दिनका लागि भनिए पनि त्यसलाई चार महिनासम्म निरन्तरता दिइयो। सङ्घले २०८२ चैत १६ गते नेपाल आयल निगमलाई पत्र पठाउँदै पुन: भरी सिलिन्डरमा फर्कन अनुरोध गरे पनि त्यसतर्फ ध्यान नदिइएको जनाएको छ।

त्यस्तै, सरोकारवाला निकायसँग नीतिगत परिमार्जनका लागि पटक–पटक अनुरोध गर्दा त्यसलाई बेवास्ता गरिनु, ग्यास आयातमा आवश्यक तदारुकता नदेखाइनु, पूर्ण सिलिन्डर लागू भएपछि सिलिन्डरको मागमा अचानक वृद्धि हुनु तथा पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ग्यास बुलेटको ढुवानी प्रभावित हुनुजस्ता कारणले वर्तमान अभावको अवस्था सिर्जना भएको सङ्घले स्पष्ट पारेको छ।
कुनै उद्योगले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भएमा त्यस्ता उद्योगमाथि कानुनी कारबाही गर्न सङ्घ सधैँ सरकारको साथमा रहेको जनाएको छ। तर, कुनै प्रमाणबिना ग्यास उद्योगीलाई दोषी देखाउने तथा भौतिक कारबाहीको संकेत दिने किसिमको अभिव्यक्ति अत्यन्त आपत्तिजनक रहेको सङ्घले जनाएको छ।
सङ्घका अध्यक्ष कृष्णभक्त श्रेष्ठद्वारा जारी विज्ञप्तिमा कठिन परिस्थितिमा सर्वसाधारणलाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले सरकारले दिने व्यावहारिक निर्देशन पालना गर्न तथा सरकारसँग सहकार्य गर्न सङ्घ र यसअन्तर्गतका उद्योगहरू सधैँ प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।