नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीस्थित भारत मण्डपममा सुरु भएको छ।
दुई दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ १० वर्षपछि एउटै मञ्चमा सँगै देखिँदै छन्, भने सम्मेलनमा अन्य २१ देशका प्रमुखहरूको सहभागिता रहनेछ।
यस उच्चस्तरीय सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले विश्वव्यापी सुशासन (ग्लोबल गभर्नेन्स), बहुपक्षवाद, व्यापार तथा लगानी, प्रविधि, खाद्य तथा ऊर्जा सुरक्षा, स्वास्थ्य सेवा, विपद् उत्थानशीलता र महत्त्वपूर्ण आपूर्ति शृङ्खला (सप्लाई चेन) लगायतका प्रमुख विषयहरूमा छलफल गर्नेछन्।
यस वर्ष भारतको अध्यक्षतामा आयोजना भइरहेको सम्मेलनको मुख्य नारा ’उत्थानशीलता, नवप्रवर्तन, सहकार्य र दिगोपनाका लागि निर्माण’ रहेको छ। सम्मेलनमा विश्वका प्रभावशाली नेताहरूको उपस्थिति रहनेछ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा, इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसी, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्टो र इरानी राष्ट्रपति मसुद पेजेस्कियान सहभागी हुनेछन्।

सम्मेलनको पहिलो दिन ब्रिक्स सदस्य राष्ट्रहरूबीच ’समावेशी विश्वव्यापी सुशासन र बहुपक्षवादको सुदृढीकरण’ विषयमा बन्द सत्र आयोजना गरिनेछ। त्यसपछि सदस्य राष्ट्रका नेताहरूले भारत मण्डपममा आयोजित ‘भारत इनोभेट्स’ प्रदर्शनीको अवलोकन गर्नेछन्। पहिलो दिनको कार्यक्रम संयुक्त वृक्षारोपण समारोह र प्रधानमन्त्री मोदीद्वारा आयोजित रात्रिभोज सँगै समापन हुनेछ।
सम्मेलनको दोस्रो दिन (भोलि) प्रधानमन्त्री मोदीले सदस्य राष्ट्रका नेताहरूसँगै १० साझेदार मुलुकका प्रतिनिधिहरूलाई खुला सत्रमा स्वागत गर्नेछन्। ’उत्थानशीलता, नवप्रवर्तन, सहकार्य र दिगोपना: समावेशी विश्वव्यापी वृद्धिका लागि भविष्यको स्वरूप’ विषयमा आधारित उक्त सत्रमा रुस, बोलिभिया, काजाकिस्तान, क्युबा, मलेसिया, नाइजेरिया, थाइल्यान्ड, युगान्डा, उज्बेकिस्तान र भियतनामका प्रतिनिधिहरूको सहभागिता रहनेछ।